मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुरको ज्यादती अचाक्ली भयो : जनार्दन शर्मा

बिहीबार, २३ कात्तिक २०८०, १५ : १०
बिहीबार, २३ कात्तिक २०८०

रुकुम पश्चिम । पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाहरूमा आवश्यकताअनुसार राहत वितरणको कार्य भइरहेको र राहत वितरणमा कुनै राजनीतिकरण नभएको दाबी गरेका छन् । 

आज रुकुम पश्चिममा पत्रकार सम्मेलन गर्दै शर्माले राजनीतिक रूपमा कुनै पनि ठाउँमा राहत वितरण नभएको प्रस्ट पारे । शर्माले प्रभावित क्षेत्रमा व्यवस्थित रूपले राहत वितरण भइरहेको बताए । ‘सबैको एकता, सहकार्य अनुसार विपत्तिलाई सामना गर्ने हो,’ शर्माले भने, ‘बाहिरबाट अनावश्यक रूपमा हमला गरी समाचारहरू प्रकाशन गरेर यहाँको बदनाम गर्न खोजियो ।’ 

शर्माले अहिलेसम्म राहत बोकेको कुन गाडी कहाँबाट आयो त्यो कुरा आफूलाई थाह नपाएको बताएका छन् । ‘कुन गाडी कहाँबाट आयो त्यो मलाई थाहा पनि छैन, संघ संस्थाहरुले फोन गर्दा कहाँको लागि हो भनेर सोधेको हुन्छु, उहाँहरूले रुकुमकै लागि हो भनेपछि मात्र मात्र आउनुहोस् भनेको छु,’ शर्माले भने, ‘सरकारबाट आएको राहत जिल्लाहरूमा बाँडफाँट गरेर नै वितरण भइरहेको छ ।’

 शर्माले आफूमाथि ब्ल्याकमेलिङ भइरहेको बताए । ‘म अर्थमन्त्री हुँदा कैलाश सोरिहिया आएर हात मिलाउँछु है भनेको र अर्को दिन मलाई स्टक एक्सचेन्ज चाहियो भनेको र मैले त्यो कुरा अर्थमन्त्रीले दिन मिल्दैन । प्रक्रियामा आउनुहोस् भन्दा मेरो विरुद्धमा समाचारहरू आउन थालेका हुन् ।’  

दबाब दिएर नै समाचार लेखिएको कुराहरूले हाम्रो भावनामाथि खेल्ने काम भइरहेको शर्माले बताए ।  भ्रमपूर्ण समाचारहरू नलेख्न पनि शर्माले चेतावनी दिए । ‘म माथि एउटा मिडियाको ज्यादती अचाक्ली भयो, जाजरकोटको जनता पनि मेरो हो, यहाँको पनि मेरो हो,’ शर्माले भने, ‘उता शक्ति बस्नेत यता मैले गर्ने भनेर हामी लागिरहेका छौँ । कोअर्डिनेशन भइरहेको छ । मैले गाडी कब्जा गर्ने कुरा कल्पना बाहिरको कुरा हो ।’

शर्माले जिल्लामा सोलार आवश्यक नै नरहेको बरु खाद्यान्न लगायतका सामाग्रीको अभाव रहेको बताए । ‘अपहरण गरेर यहाँ ल्याएर सोलार बाँड्नुपर्ने कुरा नै छैन, हुँदै नभएको कुरा हो, भूकम्पले ध्वस्त भएका घरहरू, चर्केका घरहरू छन्, १८ हजार परिवारको व्यवस्थापन गर्ने चुनौती हामीसँग छ,’ शर्माले भने,‘ प्रदेश सरकारलाई जस्तापाता किन्नका लागि आग्रह गरिएको उनले बताए । अस्थायी व्यवस्थापनका लागि, पुनर्निर्माणको सन्दर्भमा कस्तो खालको घर निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ । राहत लगत्तै अस्थायी व्यवस्थापन हाम्रो प्राथमिकता हो ।’ 

राहत एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको उनले बताए । आएको राहत स्टोरमा राखेको भनिएको छ तर, त्यो हुँदैन । यहाँ आउने बित्तिकै पालिका हुँदै वडामा पुर्याउने भइहाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप