आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सहिद प्रहरी परिवारको लोभ लाग्दो फूलखेती  (तस्बिरहरू)

सहिद प्रहरी परिवारको लोभ लाग्दो फूलखेती  (तस्बिरहरू)

शुक्रबार, २४ कात्तिक २०८०

सुर्खेत । अमर सहिद परिवारद्वारा वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीमा फूलखेती गरेको छ । तिहार लक्षित रोपेका फूलहरू यतिबेला ढकमक्क फुलेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको करिब २२ कठ्ठा जमिनमा फूलखेती गरिएको थियो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहजिकरणमा उक्त फूलखेती गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम प्रसाद ढकालले जानकारी दिए । 

अमर सहिद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यको सीप क्षमता अभिवृद्धिका साथै आय आर्जन तथा आर्थिक स्थिति वृद्धि गर्ने उद्देश्यले फूलखेती गरिएको ढकाल बताउँछन् । 

अहिले फूलहरू बजारमा पठाउन थालिएको छ । तिहारलाई लक्षित गरी सयपत्री तथा मखमली फूलखेती गर्न नेपाल प्रहरी श्रीमती सङ्घले तीन लाख पाँच हजार अनुदान दिएको थियो । 

सामूहिक खेतीमा अमर सहिद परिवारका आश्रित १५ परिवारहरू रहेका छन् । उनीहरूलाई फूलखेती सञ्चालनका लागि चाहिने आवश्यक सीप, ज्ञानका लागि प्रदेश प्रहरी कार्यालयले स्थानीय कृषि शाखासँग समन्वय गरेको थियो । पाँच दिनको सैद्धान्तिक तथा व्यवहारिक तालिम पश्चात् सहिद परिवारले फूलखेती गरेका थिए । 

उत्पादन भएको फुलबाट १२ लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएको ढकाल बताउँछन् । 

सो आम्दानी निजकहरुले नै उपभोग गर्ने तथा उनीहरूकै जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको श्रीमती सङ्घले जनाएको छ ।

खेर गइरहेको बाँझो जग्गामा आयआर्जनमूलक खेती गरिनाले अमर प्रहरी परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग पुग्ने र अन्य ठाउँहरूमा पनि यस्ता खालका क्रियाकलाप गर्न आवश्यक रहेको सङ्घका अध्यक्ष विन्दु अधिकारी बताउँछिन् । 

डीआईजी ढकाल कर्णालीमा आएसँगै नयाँ नयाँ खालका कार्यक्रम तथा अभियानहरू सञ्चालन भइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया