सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेपालमा चिनीको मूल्य बढेपछि भारतीय बजारमा नेपालीको भीड, तस्बिरहरु
फिटोफिचर

नेपालमा चिनीको मूल्य बढेपछि भारतीय बजारमा नेपालीको भीड, तस्बिरहरु

शुक्रबार, २४ कात्तिक २०८०

बारा । काठमाडौँको पेप्सिकोला घर भएका अधिवक्ता तेजनाथ धमलाले रक्सौल पुगेर ५ किलो चिनी किने ।  केही दिनअघि मुद्दाको बहसका लागि उच्च अदालत वीरगञ्ज आएका अधिवक्ता धमलाले सोही अवसरमा रक्सौल पुगेर चिनी किनेका हुन् । 

धमलाले काठमाडौँमा चिनीको कालोबजारी र मूल्य बढेकाले रक्सौल आएर चिनी किनेको बताए । उनले साल्ट टे«डिङले प्रतिव्यक्ति २ किलो चिनी दिने गरेपनि त्यसका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता रहेको बताए । 

‘काठमाडौँमा चिनीको हाहाकार छ । साल्ट ट्रेडिङमा लामो लाइन बसेर पनि २ किलोभन्दा बढी पाइँदैन । बाहिर बजारमा प्रतिकिलो १८० रुपैयाँसम्म पर्छ’, अधिवक्ता धमलाले भने, ‘वीरगञ्ज आउँदा चिनी किनेर लैजाऊ भनेर ५ किलो चिनी बोकेर हिँडेको हुँ ।’ 

अधिवक्ता धमलाले व्यापारीहरुले चाडपर्वमा चिनी लुकाउने र अनुकूल समयमा कालोबजारी गर्ने गरेको बताए । ‘व्यापारीहरुले बढी मूल्यमा बेच्नलाई चिनीको कालोबजारी गरेका हुन्’, धमलाले भने, ‘धेरै नेपालीहरू अहिले १०/२० रुपैयाँ सस्तोको लागि चिनी किन्न रक्सौलसम्म पुगेको देखियो, यो स्थानीय प्रशासनको चरम लापरबाही हो । अहिले चिनीमा कालोबजारी हुँदा स्थानीय प्रशासन तथा पालिकाहरुको सक्रियता देखिएन ।’ 

धमलाले रक्सौलमा ७५ रुपैयाँमा प्रतिकिलो चिनी किनेको बताए । उनी जस्तै रक्सौल बजारमा भेटिएका एक सरकारी कर्मचारीले  काठमाडौँबाट वीरगञ्ज घुम्न आउने क्रममा रक्सौल पुगेर ८० रुपैयाँमा चिनी किनेको बताए ।  

‘रक्सौल आएपछि सबैले चिनी किनेर लैजाऊ भनेपछि  ५ किलो किने,’ ती अधिकारीले भने, ‘नेपालमा चिनी धेरै महँगो छ । हामी बाध्यताले २ रुपैयाँ सस्तो पाइन्छ कि भनेर रक्सौल आएको हो । तर यहाँ पनि नेपालीहरुलाई ठग्ने रहेछन् ।’ 

यस्तै हेटौंडाबाट चिनी किन्न रक्सौल आइपुगेका लालबाबु यादवले नेपाल सरकारको कमजोरीका कारण ५ किलो चिनी किन्न रक्सौलमा आउनुपरेको गुनासो गरेका छन् । ‘६४ रुपैयाँ प्रतिकिलोमा चिनी पाइन्छ भन्ने सुनेर आए तर ७५ रुपैयाँसम्म पर्‍यो,’ यादवले भने ।

नेपालमा चिनीको अभाव भएपछि रक्सौलका व्यापारीहरुले पनि ६४ रुपैयाँ प्रतिकिलोको चिनीलाई दीपावली र छठ पर्वको मुखमा ७५ देखि ८० रुपैयाँ पुर्‍याएका छन् । 

रक्सौलका किराना व्यापारी रमेश प्रसादले रक्सौलका व्यापारको मुख्य उपभोक्ता नेपालीहरू रहेको बताए ।  

‘हाम्रो उपभोक्ता भनेकै नेपालीहरू हुन् । नेपालीहरू किनमेल गर्न आएनन् भने हाम्रो व्यापार ठप्प हुन्छ,’ उनले भने, ‘नेपालमा चिनीको अभाव भएको थाहा पाएपछि यहाँका व्यापारीहरुले चिनीको मूल्य पनि बढाए ।’ 

गुलियो पर्वको रुपमा मानिने दीपावली र छठमा नेपाली बजारमा चिनीको मूल्य अकासिएपछि भारतीय बजारमा नेपालीको भीड लाग्ने गरेको छ । रिर्पोटिङको क्रममा रक्सौल पुग्दा भारतीय बजारमा चिनी किन्ने नेपालीहरुको भिड थियो । 

चाडपर्वमा मागको तुलनामा आपूर्ति न्यून भएपछि बारा, पर्सा, हेटौंडा, चितवन, काठमाडाँैसम्मका नेपालीहरू रक्सौलसम्म पुग्ने गरेका छन् । नेपालमा चिनीको माग करिव ३ लाख मेट्रिक टन छ भने देशभरका एक दर्जन चिनी मिलको आन्तरिक उत्पादन डेढ लाख मेट्रिक टन मात्रै रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले रक्सौलको बजारमा सस्तोमा सामान पाइन्छ भन्ने गलत प्रचारका कारण  नेपालमा कम मूल्यमा पाइने सामानहरु समेत भारतीय बजार पुगेर खरिद गर्ने प्रवृत्ति बढेको बताए ।  

‘हाम्रो सोचाई नै यस्तो भइसक्यो कि नेपालमा उत्पादन भएको हुलास, नेपाली कम्पनीको चिउरा समेत हामीले रक्सौल पुगेर महँगो मूल्यमा किनेर सस्तोमा पाइयो भनेर मख्ख पछौँ, भन्सार प्रमुख पन्थीले भने, ‘यो गलत प्रचारलाई नहटाएसम्म नेपाली उत्पादक र हाम्रो बजारलाई प्रोत्साहन गर्न सक्दैनौँ ।’ 

भन्सार कार्यालयको तथ्याकंमा चालु आर्थिक वर्षमा नेपाल सरकारले भारतबाट एक दाना चिनी आयात गरेको छैन । तर,  अहिले दीपावली र छठ पर्वको मुखमा साल्ट टे«डिङले चिनी आयतको पक्रिया सुरु गरेको छ ।

उद्योग वाणिज्य संघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले दुई रुपैयाँ सस्तो पाउने लोभमा दैनिक सयौँ उपभोक्ता किनमेल गर्न रक्सौल जाँदा नेपाल सरकारको करोडाँै राजस्व गुमेको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया