सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिङ गर्नुअघि न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले बलमा र्‍याल दलेपछि

नेपालविरुद्धको खेलमा यस्तै घटनामा यूएईलाई जरिवाना तिराइएको थियो
शुक्रबार, १५ मङ्सिर २०८०, १२ : ३९
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । न्युजिल्यान्ड र बङ्गलादेशबिचको पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल जारी छ । यो घटना तेस्रो दिनको खेलको हो । घरेलु टोली बङ्गलादेश आफ्नो दोस्रो पालीमा ब्याटिङ र भ्रमणकारी टोली न्युजिल्यान्ड बलिङ गर्दै थियो ।

३४औँ ओभर बलिङ गर्ने जिम्मा न्युजिल्यान्डका ग्लेन फिलिप्सले पाएका थिए । तर, उनले ३४औँ ओभरको पहिलो बल फाल्नुअघि बलमा थुकसहितको र्‍याल दलेका थिए । तर, त्यति बेला फिल्डमा रहेका अम्पायर एहसान राजा र पल रिफिलले त्यो घटनाप्रति कुनै चासो देखाएनन् । 

फिलिप्सले बल फाल्नुअघि त्यसमा थुक र र्‍याल दलेको विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रवक्तालाई प्रश्न पनि गरियो । तर, आईसीसीका प्रवक्ताले खेलका क्रममा मैदानमा हुने सबै घटनाप्रति फिल्ड अम्पायरहरु नै जिम्मेबार हुने जानकारी गराए । 

तेस्रो दिनको खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बंगलादेशी टोलीका व्यवस्थापक नाफिस ईक्वालले पनि फिलिप्सले बल फाल्नुअघि थुक र र्‍याल लगाएको घटनाको पुष्टि गरे । उनले त्यो घटनाको टेलिभिजन फुटेजसमेत आफूसँग रहेको र यस विषयमा ‘फोर्थ अम्पायर’ लाई जानकारी गराइएको पनि बताए । 

आईसीसीले खेलका क्रममा बलमा थुक र र्‍याल दल्न प्रतिबन्ध लगाएको छ । नियम ४१।३ मा खेलका क्रममा बलमा थुक वा र्‍याल दलेमा सम्बन्धित बलरलाई कारबाहीको दायरामा ल्याइने उल्लेख गरिएको छ । यो नियम सन् २०२२ को अक्टोबर १ तारिखदेखि लागू भएको हो । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण आईसीसीले यस्तो नियम लागू गरेको थियो । खेलका क्रममा बलरहरूले बललाई ‘स्विङ’ गराउन थुक वा र्‍याल दल्ने गर्छन् । यसका अतिरिक्त बलरहरूले बललाई चम्काउन त्यसमा पसिना पनि दल्ने गर्छन् । 

यस विषयमा एमसीसीलगायतका निकायहरूले थुप्रै अनुसन्धान पनि गरिसकेका छन् । तर, नतिजा भने फरक—फरक आएको छ । आईसीसीको नयाँ नियम लागू भएपछि सन् २०२२ को नोभेम्बरमा पनि यस्तो घटना भएको थियो । 

त्यति बेला नेपालविरुद्धको खेलका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) का बलर एलिसन सराफुले बल फाल्नुअघि त्यसमा र्‍याल लगाएर चम्काएका थिए । त्यो घटना सार्वजनिक भएपछि यूएईलाई जरिवाना तिराउँदै नेपाललाई पाँच रन अतिरिक्त रूपमा दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप