सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्रौनगढका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, १५ हजार विद्यार्थी प्रभावित

शिक्षकहरुलाई वार्तामा बोलाएर मुख्यमन्त्री भेट्न नगरप्रमुख पुगे जनकपुर
बिहीबार, २१ मङ्सिर २०८०, १५ : १३
बिहीबार, २१ मङ्सिर २०८०

बारा । जिल्लाको दक्षिणी भेगमा रहेको सिम्रौनगढ नगरपालिकामा सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले ४ देखि १४ महिनासम्मको तलब सुविधा नपाएपछि बिहीबारदेखि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो ।

यसअघि सेवा सुविधाको माग गर्दै शिक्षक तथा कर्मचारी दुई महिनादेखि नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका थिए । तर शिक्षकहरुको आन्दोलनलाई नगरपालिकाले चासो नदेखाएपछि पठनपाठन ठप्प पार्नुपरेको नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष उमाशंकर यादवले जनाएका छन् ।

उनले स्थायी शिक्षकहरुले दसैँ भत्तासहित चालु आर्थिक वर्षको ४ महिनाको र करार, ज्यालादारी तथा नगर शिक्षकहरुले १४ महिनादेखि सेवा सुविधा नपाएका गुनासो गरे ।

‘हामीलाई दैनिक गुजारा चलाउन समेत धौधौ छ, पसलेहरुले रासनपानी उधारो पत्याउँदैनन्, विद्यालयमा बालबालिकाहरुको दिवा खाजा कार्यक्रम समेत २ महिनादेखि रोकिएको छ,’ उनले भने ।

शिक्षकहरुको आन्दोलनले विद्यालय बन्द हुँदा १५ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिम्रौनगढ नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालयमा बालविकास, अस्थायी करार, नगर शिक्षक, विद्यालय कर्मचारी र स्थायी शिक्षक गरी १९० जना कार्यरत छन् । तीमध्ये स्थायी शिक्षकले चालु आर्थिक वर्षको पहिलो चौमासिकको तलब, दसैँ पेश्की पाएका छैनन् भने अन्यको हकमा गत आर्थिक वर्षको १२ महिना र चालु आर्थिक वर्षको ४ महिनाको सेवा सुविधा बाँकी छ ।  

श्री नेरा आधारभुत विद्यालय अमरपुरका प्रधानाध्यापक बृजकिशोर यादवले नगरप्रमुखको चरम लापरबाहीका कारण शिक्षकहरुले पठनपाठन ठप्प पार्नुपरेको बताए । ‘हामीले बाध्य भएर विद्यालय बन्द गरेका हौँ, शिक्षकहरुले काम गरेका छौँ, हाम्रो पैसा चाहियो । के कारणले रोकेको हो, त्यो बोर्डलाई थाहा होला,’ उनले भने ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालनमा आएको छैन । नगरप्रमुख र वडाध्यक्षहरु बिचको आन्तरिक द्वन्द्वका कारण कानुनी रुपमा नगरसभा सम्पन्न भएको छैन ।

नगरपालिकाभित्रको आन्तरिक द्वन्द्वका कारण शिक्षकमात्रै होइन, कर्मचारी,  नगर अस्पतालका स्वाथ्यकर्मीले समेत तलब सुविधा पाएका छैनन् ।

sss6

सिम्रौनगढनमा नगरप्रमुख किशोरी प्रसाद कलवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का हुन् भने ११ वटा वडामध्ये ८ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष छन् । कार्यपालिकामा कांग्रेस बहुमत रहे पनि नगरप्रमुख कलवारले सबैलाई समेटेर लैजानुभन्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुरमा यादवको ईशारामा नगरपालिकालाई ध्वस्त पारेको कांग्रेसका वडाध्यक्षहरुको गुनासो छ ।

शिक्षक आन्दोलनका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएपछि बिहीबार बिहान नगरप्रमुख कलवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न जनकपुर गएका छन् । नगर शिक्षक संघका अध्यक्ष उमाशंकर यादवले नगरप्रमुखले शिक्षकहरुलाई वार्तामा बोलाएर आफू भने मुख्यमन्त्री भेट्न जनकपुर गएको बताए ।

सिम्रौनगढ नगरपालिका मुख्यमन्त्री सरोजकुमार यादवको गृह पालिका हो । सोही पालिकाको वडा नं ३ मा मुख्यमन्त्री यादवको घर छ ।

नगरपालिकाभित्र देखिएका समस्यालाई लिएर यसअघि पटकपटक मुख्यमन्त्री सरोजकुमार यादव, बारा निर्वाचन क्षेत्र नं १ का संघीय सांसद अच्युत मैनाली, नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्व नगरप्रमुख विजयशंकर यादव, बहालवाला नगरप्रमुख किशोरी प्रसाद कलवार सहितको टोली बैठकमा बसेको थियो । नेपाली कांग्रेसको राम्रो पकड रहेको सिम्रौनगढमा जसपाबाट मुख्यमन्त्री भएका यादव र नेपाली कांग्रेसका पूर्व नगरप्रमुख विजयशंकरबिच लामो समयदेखि जुँगाको लडाइँ चलेको र त्यसको असर नगरपालिकामा परेको ६४ वर्षीय स्थानीय दयाली सिंहले जनाए ।

बहालवाला नगरप्रमुख कलवारले पूर्व नगरप्रमुखको कार्यकालमा भर्ना गरेका शिक्षक, कर्मचारी, स्वाथ्यकर्मी सबैलाई हटाएर आफूखुसी नयाँ कर्मचारी भर्ना गर्न थालेपछि विवाद सुरु भएको हो । हाल सोही विवादले ठुलो रुप लिएपछि नगरपालिकाभित्रको सम्पूर्ण कामकाज ठप्प प्रायः भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप