सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो खेलमा पनि न्युजिल्यान्डले बङ्गलादेशलाई हरायो

बुधबार, ०४ पुस २०८०, १२ : ०३
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । न्युजिल्यान्डले बुधबार सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशलाई सात विकेटले हराएको छ । जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा २—० को अपराजित अग्रता हासिल गरेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली बङ्गलादेशले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ९१ रन बनाएको थियो । ठुलो विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ४६.२ ओभरमा केवल तीन विकेट गुमाएर दुई सय ९६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

न्युजिल्यान्डलाई जित दिलाउन तेस्रो नम्बरका ब्याट्सम्यान हेनरी निकाल्सले ९५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ९९ बलको सामना गरी एक छक्का र आठवटा चौका पनि हिर्काएका थिए ।

त्यसअघि विल योङ र रचिन रवीन्द्रले ओपनिङ विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । विल योङले ८९ रन बनाए । उनले ९४ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काए । अर्का ओपनर रचिन भने ४५ रन बनाउँदै पेभेलियन फर्किए ।

युवा ब्याट्सम्यान रचिनले केवल ३३ बलमा एक छक्का र सात चौका प्रहार गरेका थिए । कप्तान टम लाथमले अविजित ३४ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेलले अविजित २४ रन बनाए । भ्रमणकारी टोली बङ्गलादेशका बलर हसन महमुदले दुई विकेट लिए ।

त्यसअघि बङ्गलादेशका लागि ओपनर ब्याट्सम्यान सौम्य सरकारले एक सय ६९ रनको उत्कृष्ट पाली खेलेका थिए । तर, उनको शतक टोलीको जितका लागि पर्याप्त हुन सकेन । उनले एक सय ५१ बलको सामना गरी दुई छक्का र २२ चौका हिर्काएका थिए ।

माथिल्लो क्रमका अन्य ब्याट्सम्यान भने लामो समय क्रिजमा टिक्न सकेनन् । छैटौँ नम्बरका ब्याट्सम्यान मुसफिकर रहिमले ४५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रहिमले ५७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । न्युजिल्यान्डका बलर ज्याकब डफी र विलियमले तीन–तीन विकेट लिए । शृंखलाअन्तर्गतको तेस्रो तथा अन्तिम खेल आगामी शनिबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप