आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्ने महेशविरुद्ध दोस्रो पटक म्याद थप

पहिचानवादीद्वारा रिहाइको माग
बिहीबार, ०५ पुस २०८०, १९ : १९
बिहीबार, ०५ पुस २०८०

विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा गत मङ्सिर २८ गते धनकुटाको लेगुवा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भयो । उक्त घटनाबारे सञ्चारमाध्यममा प्रकाशित भएपछि एमालेले ‘अतिरञ्जित प्रचार’ भन्दै आपत्ति जनायो ।

‘एउटा जड्याहाको अस्वाभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलता र त्यसले दिएको सन्देशबाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ,’ एमाले महासचिव शंकर पोखरेलले लगत्तै सामाजिक सञ्जालमा लेखेका थिए, ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसबाट अभियानको सफलताले जलिरहेकाहरूको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौँ आफ्नो अभियान र उद्देश्यमा ।’

महासचिव पोखरेलले मात्रै होइन, एमालेका धेरै नेता तथा कार्यकर्ताले अध्यक्षमाथि आक्रमण नभएको जस्तै गरी एउटै खालको सन्देश प्रवाह गरे ।

तर, एमालेले आधिकारिक रुपमा उक्त आक्रमणको विषयमा केही बोलेन । भिडियो भने भाइरल बनेको थियो । अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का महेश राई भने अहिलेसम्म प्रहरीको हिरासतमा छन् । उनलाई अभद्र व्यवहारमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार पुनः म्याद थप गरेको छ ।

धनकुटाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले ७ दिनको म्याद गुज्रिएपछि पुनः म्याद थप गरिएको जानकारी दिए । स्वागत गर्ने लाइनमा पुगेर महेशले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।

घटनाकै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले हत्कडी लगाएर हिरासतमा राखिएका महेश राईकी श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यबाजी गर्न लगाएको पहिचानवादीहरूको आरोप छ । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्ने महेश राईलाई तत्काल रिहा गर्न माग गरेको छ ।

संघर्ष समितिले झापाको बुद्धशान्ति गाउँपालिकाका बुलेट किराँती, अञ्जेस राई र धनकुटाका महेश राईलाई तत्काल रिहा गर्न माग गरेको हो । उनीहरूलाई बिनाशर्त तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने समितिको चेतावनी छ ।

इलाममा बन्दका बेला पिक अप भ्यानमा आगजनी गरेको आरोपमा पुस २ गते प्रहरीले बुलेट किराँती र अञ्जेस राईलाई झापाको अर्जुनधारा–११ बाट पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप