सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
सारांश
- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा सिमखोलाको बाढीले बगाएका स्कुटर चालकको शव फेला परेको छ ।
- बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालक महेशकुमार कार्कीको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको हो ।
- असार २९ गते अपराह्न भएको उक्त घटनामा अविरल वर्षासँगै आएको बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो ।
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो ।
घटना असार २९ गते अपराह्न करिब ३ बजेतिर भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिए पनि खोलाको तीव्र बहाव, वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन चालकको खोजी सफल हुन सकेको थिएन ।
मंगलबार बिहान खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यसपछि खोजीलाई थप तीव्र बनाइएको थियो ।
प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर सर्लाही निवासी महेशकुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको थियो । शव फेला परेसँगै मृतक पनि महेश कुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घटनास्थलमा खोजी कार्यमा संलग्न रहेका कार्कीका परिवारले उनको पहिचान गरेका हुन् ।
प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए । खोजीका क्रममा शव बालुवा र लेदोले पुरिएको अवस्थामा भेटिएको हो । शव फेला परेपछि आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण