बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण

बिहीबार, ३२ असार २०८३, ११ : ००
बिहीबार, ३२ असार २०८३

सारांश

  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा ३७ जनाको मात्र कलेजो प्रत्यारोपण भएको छ।
  • विशेषज्ञ जनशक्तिको अभाव, महँगो उपचार, स्थानको अपर्याप्तता र अङ्गदानको कमी कलेजो प्रत्यारोपण न्यून हुनुका मुख्य कारण हुन्।
  • कलेजो प्रत्यारोपणलाई सहज र सुलभ बनाउन अङ्गदान सम्बन्धी जनचेतना जगाउनुका साथै पाठ्यक्रममा समावेश र परिचयपत्रमा अङ्गदानको विवरण उल्लेख गर्ने प्रणाली सुरु गर्नुपर्ने सुझाव दिइएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको देशको एकमात्र प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा ३७ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ ।

नेपालमा पहिलोपटक २०७३ मङ्सिर २३ गते भक्तपुरका बलराम नागाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको थियो । पछिल्लो पटक २०८३ असार ३० गते सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

२०६९ वैशाख ११ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भएको थियो । विशेषज्ञ जनशक्तिको अभाव, महँगो उपचार पद्धति, स्थानको अपर्याप्तताका कारण कलेजो प्रत्यारोपण न्यून मात्रामा भएको केन्द्रले जनाएको छ ।

केन्द्रको कार्यकारी निर्देशक डा.कल्पना कुमारी श्रेष्ठले भनिन्, ‘केन्द्रलाई स्थानको निकै अभाव छ । कलेजो प्रत्यारोपणका लागि स्पेसल ठाउँ चाहिन्छ । एक जनाको कलेजो प्रत्यारोपण गर्दा तीनदेखि चार जनाको मिर्गौला प्रत्यारोपणको समय सार्नुपर्ने अवस्था छ । कलेजो प्रत्यारोपणका लागि विपन्न नागरिक उपचार कोषबाट पैसा उपलब्ध हुँदैन । एक जनाको कलेजो प्रत्यारोपण गर्न १५ लाखदेखि २० लाख रुपैयाँ खर्च लाग्छ । आईसीयूमा एउटा रुममात्रै छ ।’

shahid-dharmabhakta-national-center1706591530-1745314370

मस्तिष्क मृत्युपछि अङ्गदानबाट हुने प्रत्यारोपण न्यून हुनु, अङ्गदान गर्ने व्यक्तिको अभाव, प्रत्यारोपणपछि जीवनभर खानुपर्ने औषधि खर्च कलेजो प्रत्यारोपणका चुनौतीका रूपमा देखापरेका छन् । केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले कलेजो प्रत्यारोपण खर्चिलो, समय बढी लाग्ने, विशेषज्ञ चिकित्सकको अभाव लगायतका कारण कम मात्रामा हुने गरेको बताए ।

केन्द्रमा कलेजो प्रत्यारोपणका लागि एक जना कलेजो प्रत्यारोपण सर्जन, एक जना फिजिसियन छन् । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ अनुसार कलेजो प्रत्यारोपणका लागि ग्याष्ट्रोइन्टरोलोजिष्ट अथवा हेपाटोलोजिष्ट कम्तीमा एक जना, कलेजो प्रत्यारोपण शल्य चिकित्सक कम्तीमा एक जना, एनेस्थेसियोलोजिष्ट कम्तीमा एक जना, प्याथोलोजिष्ट कम्तीमा एक जना, कार्डियोलोजिष्ट, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन, साइकियाट्रिष्ट र डेण्टल शल्य सेवा आवश्यक पर्छ ।

यस्तै, सुविधा सम्पन्न सर्जिकल इन्टेन्सिभ केयर युनिट, सुविधा सम्पन्न प्याथोलोजी ल्याब, सुविधा सम्पन्न अप्रेसन थिएटर, सुविधा सम्पन्न पोस्ट अपरेटिभ वार्ड, ब्लड ग्यास एनालाइसिस सेवा आवश्यक पर्छ । यी सबै सुविधा अस्पतालमा पर्याप्त मात्रामा छैनन् ।

हालसम्म केन्द्रबाट एक हजार ६६८ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको तुलनामा कलेजो प्रत्यारोपण निकै न्यून मात्रामा भएको देखिन्छ ।

यो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको एकमात्र प्रत्यारोपण केन्द्र हो । हाल यो अस्पताल नेपाल सरकारको संघीय अस्पतालको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित छ । यस्तै, महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि २०७६ जेठ १७ गतेदेखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

केन्द्रले हाल मिर्गौला प्रत्यारोपणका साथै विश्वमै जटिल मानिएको कलेजो प्रत्यारोपण जस्तो शल्यक्रिया, अत्याधुनिक यूरोलोजी तथा विभिन्न रोगको उपचार (पेट, मुटु रोग, नाक काँन, घाँटी), अङ्ग दान सेवा, फिजियोथेरापी, रेडियो डायग्नोसिसको समेत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

केन्द्रले नेपालमै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ भने मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट मिर्गौला प्रत्यारोपणको सुरुवात गरेर नेपालको चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

HOTC-KIDDENEY-TRANSPLANT

कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटाले आवश्यक अत्याधुनिक पूर्वाधार र विशेषज्ञ जनशक्ति अझै पर्याप्त मात्रामा विकास नभएर नेपालमा कलेजो प्रत्यारोपण न्यून भएको बताए । उनले भने, ‘यो निकै महँगो उपचार हो । विडम्बना, यति ठुलो र खर्चिलो उपचारमा राज्यको तर्फबाट गरिब बिरामीहरूका लागि अहिलेसम्म कुनै पनि प्रकारको आर्थिक सहुलियत वा अनुदानको व्यवस्था छैन ।’

नेपालमा यो सेवा पूर्ण रूपमा स्थापित नभएकाले आर्थिक रूपमा सक्षम बिरामीहरू प्रत्यारोपणका लागि ठुलो सङ्ख्यामा भारत जाने गरेको उनले बताए । यस सेवालाई नेपालमै सहज र सुलभ बनाउन अङ्गदान सम्बन्धी व्यापक जनचेतना जगाउनु आवश्यक रहेको उनको भनाइ छ ।

डा. सापकोटाका अनुसार मेडिकल विधाका चिकित्सक, नर्सहरूले अध्ययन गर्ने पाठ्यक्रममा यसलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । सर्वसाधारणमा सचेतना फैलाउन राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्रमै ‘मस्तिष्क मृत्युपछि अङ्गदान गर्न मन्जुर छु’ भन्ने विवरण उल्लेख गर्ने प्रणाली सुरु गर्नुपर्ने पनि उनले बताए ।

‘यदि मस्तिष्क मृत्युपछिको अङ्गदान सहज भयो भने प्रत्यारोपणको सङ्ख्या स्वतः बढ्नेछ । आशा गरौँ, वर्तमान सरकारले स्वास्थ्य क्षेत्रका यी गम्भीर विषयमा ठोस कदम चाल्नेछ र नेपालीहरूले नेपालमै सुपथ मूल्यमा गुणस्तरीय कलेजो प्रत्यारोपण सेवा पाउनेछन्,’ उनले भने ।

नेपाल जस्तो विकासोन्मुख देशमा थोरै सङ्ख्यामा प्रत्यारोपण गरिने केन्द्रहरूमा पनि दक्ष जनशक्ति र आपसी सहकार्यका माध्यमबाट कलेजो प्रत्यारोपण कार्य सुरक्षित र सम्भव रहेको निष्कर्ष अनुसन्धानकर्ताहरूले निकालेका छन् ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूबाट अङ्ग दान गर्न पाउने कानुनी व्यवस्था भए तापनि जनचेतनाको कमी, धार्मिक विश्वास र पारिवारिक अवरोधका कारण जीवित दाताबाट गरिने प्रत्यारोपण नै बढी प्रचलनमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप