शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

बिछोडिँदो नेपाली समाजको चित्र ‘खोक्पा’

आइतबार, ०८ पुस २०८०, १२ : २०
आइतबार, ०८ पुस २०८०

गीति लेखनमा ख्याति कमाएका डीआरको पछिल्लो साहित्यिक कृति बजारमा आएको छ । तिलस्मी उपन्यासपछि कथासङ्ग्रह ‘खोक्पा’ बजारमा आएको  हो । यसमा बुढो रूख, पुच्का, परिवर्तन, परिणाम, हराएको सपना, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निशानी, मायाको चिनो र लङ्गडो साथी गरी एघारवटा कथा सङ्कलित छन् । 

यी कथामा नेपालीको पीडा, संस्कृति, स्मृति र प्रकृतिप्रेम उद्घाटित भएको पाइन्छ । जीवनका यथार्थ भोगाइ र पीडा यी कथाले बोलेका छन् ।  आधुनिकताको नाममा नेपालीपन मर्दै गएकोमा कथाकार डीआर चिन्तित देखिन्छन् । कथा पढ्दै गर्दा वर्षौंदेखि तस्बिरमा मानव जीवन कैद गरिरहेका साहित्यकार डीआरको जीवन भोगाइ नै पो यी कथामा उनीएका हुन् कि जस्तो लाग्छ ।

कतिपय साहित्य केवल मनोरञ्जन प्रदानका लागि लेखिन्छन् भने कति लेखकले जीवनमा अनुभूत गरेका विविध पाटा र पक्षलाई समेटेका हुन्छन् । तर डीआरले यस कथासङ्ग्रहमा समाजका विचार, भावना, सोच, संवेदना, देखाइ र भोगाइका अन्तर्घुलन मात्र होइन, नेपाली युवाहरूको विदेश मोहले देश रित्तिँदै गएको र घरमा भएका बुढा बाआमा वृद्धाश्रममा बस्नुपरेको तीतो र दर्दनाक यथार्थलाई पनि उल्लेख गरेका छन् । 

‘बुढो रुख’ कथामा जीवन र प्रकृतिको सम्बन्ध कति गाढा हुन्छ भन्ने प्रस्ट पारिएको छ । मासिन प्रकृतिमै जन्मिन्छ । प्रकृतिमै हुर्किन्छ, खान्छ, खेल्छ, नाच्छ, बाँच्छ र अन्तिममा ऊ प्रकृतिमै विलीन हुन्छ भन्ने यथार्थलाई कथाकारले बुढो रुखलाई बुढो भएर थलिएको मानिससँग बडो सुन्दर तरिकाले तुलना गरेका छन् । वन विनाश रोक्नुपर्ने सन्देश पनि यस कथामा पाइन्छ । 

‘पुच्का’ कथामा इमानदारीपूर्ण तरिकाले सानै लगानी गरेर भए पनि स्वदेशमा केही इलम गर्न आग्रह गरिएको छ । लगनशील, मेहनत र कामप्रति जिम्मेवारीबोध भएमा पुच्का (पानी पुरी) व्यापारबाट पनि स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश प्राप्त हुन्छ । सायद कथाकार डीआर पनि सङ्घर्ष र सानोतिनो व्यापार गर्दै आजको अवस्थामा आइपुगेको यथार्थलाई बोध गर्दै ‘पुच्का’ कथा लेखेका पो हुन् कि !

‘परिवर्तन’ कथामा देशलाई समृद्ध बनाउन बिदेसिएका युवा विदेशबाट शिक्षा र सीप लिएर स्वदेश फर्किनुपर्ने सन्देश दिन खोजिएको छ । वर्तमान समयमा शिक्षित युवाहरू अध्ययन भिसामा विदेश जाने र उतै ग्रिनकार्ड, पीआर, वर्किङ भिसा आदि प्राप्त गरेर बस्नाले देशमा युवा जनशक्ति रित्तिँदै गएको सत्यतालाई उल्लेख गरिएको छ । देशमा विकास र परिवर्तनका किरण फैलाउन बिदेसिएका युवा स्वदेश फर्किनुपर्ने सन्देश कथाकार डीआरले दिएका छन् । 

त्यस्तै यस ‘खोक्पा’ भित्र अर्को कथा छ ‘हराएको नाता’ । यस कथामा परिवारको एक्लो छोरा र बुहारी क्यानडा गएर उतै बसेपछि विदेश जान नमानेर स्वदेशमै बसेकी आमा बुढेसकालामा एक्लै हुनुको पीडा र वर्तमान यथार्थलाई समेटिएको छ । छोरा–बुहारी विदेशमा हुँदा स्वदेशमा रहेका बुढा बाआमा बिरामी हुनु, थला पर्नु र अन्त्यमा देहत्याग हुँदा पनि उनीहरू स्वदेश नफर्किनु जस्ता वर्तमान भोगाइलाई अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । कथाकारले यस कृतिमा प्रयोग गरेका भाषा, शैली निकै मौलिक र लोभलाग्दा छन् । 

यस कथासङ्ग्रहका अन्य कथामा पनि नेपालीको वर्तमान भोगाइ, चरित्र, बाध्यता र प्रवृत्ति नै पाइन्छ । धन कमाउने आशामा विदेश गएका नेपालीहरू लास बनेर बाकसमा फर्किनुपर्नाका घटना, नेपाली लाहुरेहरूको पीडा र घोडा जस्तै लक्ष्यका लागि मानिसको जिन्दगी पनि दौडिनुपर्ने लगायतका शिक्षा र सन्देशमूलक कथा ‘खोक्पा’ मा समावेश छन् ।

काल्पनिक भए पनि सबै कथाले आदर्शोन्मुख चेतना दिएको पाइन्छ । रवि कथा त झन् चलचित्र झैँ रोचक छ । यसमा पटकथा र केही संवाद थप्ने हो भने यो तीन घण्टाको उत्कृष्ट चलचित्र नै बन्न सक्छ । युवा दुर्व्यसनी, धनी र गरिबबिचको विभेद, गाउँले परिवेश, सहरिया शैली, रोजगारीको अवस्था, कलेज पढ्ने युवा–युवतीबिचको प्रेम, बिछोड र त्यसपछिको जीवन भोगाइ आदिलाई यस कथामा सुन्दर तरिकाले बुनिएको छ ।

समग्रमा ‘खोक्पा’ नेपाली समाजको ऐना हो । समाज जस्तो छ यस कृतिमा त्यही चित्र हाबी भएको पाइन्छ । समाजका घाउ मात्र यो कथासङ्ग्रहमा छैनन्, उपचारका विधि, वैद्य र चिकित्सालय पनि उपलब्ध गराइएको छ । 

पेज टर्नर प्रालि प्रकाशक रहेको यस कथासङ्ग्रहको आवरण पनि सुन्दर छ । सबै कथाहरूको बिम्ब पुस्तकको आवरणले बोल्छ । आवरण डीआर सिर्जना संसारले गरेको हो । यस पुस्तकको मूल्य नेपालीमा रु. ४००, अमेरिकी डलरमा खरिद गर्न चाहनेहरूका लागि १० र संस्थागत मूल्य रु १००० उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र फुयाल ‘ज्वाला’
फणीन्द्र फुयाल ‘ज्वाला’
लेखकबाट थप