सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली स्केटबोर्डमा नेपालको दबदबा

आइतबार, ०८ पुस २०८०, २० : ३३
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालको दबदबा रहेको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, बसन्त राई दोश्रो तथा धिरज परियार तेश्रो भए ।
सिनियर महिलामा समिक्षा राईले स्वर्ण, खुशी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते । पुरुष÷महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोश्रोले ५ सय र तेश्रोले २ सय ५० अमेरिकी डलर नगद पुरस्कार पाए ।
रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद विन जावेद द्वितीय र कर्मा लामा गुरुङ तृतीय स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १ सय ५० र १ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइएको थियो ।
विजेतालाई आयोजक संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गरे । समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो । उनलाई अवार्डसहित २ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलङका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जनाएका छन् ।
समापनका अवसरमा अध्यक्ष खनालले दक्षिण एसियाली राष्ट्रमा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो रहेको बताउदै दक्षिण एसियाली खेलकुद (साग) मा स्केटबोर्डलाई समावेश गर्न सके नेपालले थुप्रै पदक जित्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप