सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छवटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।
सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सेल्फीकलीले पाँच सय पूर्णाङ्कमा तीन सय ९४ अङ्क ल्याएर उपाधि जिल्न सफल भएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएको छ । दुवैले क्रमशः तीन सय ९३ र तीन सय ५६ अङ्क प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।
निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्याङ्कनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन् ।
हात्तीको शृङ्गार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिए । हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनले बताए ।
हात्ती महोत्सव समापनका दिन प्रतियोगितामा प्रथम हुने हात्तीलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । आउँदो शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ वर्ष सन् २०२४ को अवसर पारेर सञ्चालन गरिएको महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह