मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वरीयता विवाद

कांग्रेसमा बढ्दो वरीयता विवाद, शेखर कोइराला बैठकमा पनि जान छाडे

सोमबार, १६ पुस २०८०, ०६ : २८
सोमबार, १६ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा वरीयताको विवाद पेचिलो बन्दै गएको छ । पार्टीका सार्वजनिक कार्यक्रमदेखि बैठकसम्म वरीयता विवादको असर देखिएको हो । पुस १२–१४ को केन्द्रीय कार्यसमिति बैठकमै वरीयता विवादको विषयले स्थान पाएको थियो ।

१४ औँ महाधिवेशनपछि २०७८ मा पार्टीले बनाएको वरीयताले विवाद सिर्जना गरेको देखिन्छ । १४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका नेता शेखर कोइरालाको नाम पार्टीको मर्यादाक्रमको २५ औँ नम्बरमा छ ।

कांग्रेसको पार्टी विधानमा ‘वरिष्ठ नेता’को व्यवस्था छैन । ०६४ मा नेपाली कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) बिच एकीकरण भएपछि वरिष्ठ नेताको अभ्यास सुरु भएको थियो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एकीकरणपछि तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेताको स्थान दिएका थिए ।

१२ औँ महाधिवेशनबाट सभापति बनेका सुशील कोइरालाले आफ्नो प्रतिस्पर्धी देउवालाई वरिष्ठ नेताकै हैसियत दिएका थिए । १३ औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित हुँदा सभापतिका प्रत्याशी रामचन्द्र पौडेलले ‘वरिष्ठ नेता’को स्थान पाएका थिए ।

१४ औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर शेखर कोइराला देउवाका प्रतिस्पर्धी बने । पार्टीको पदाधिकारी र राजकीय जिम्मेवारी नसम्हालेका कोइरालालाई ‘वरिष्ठ नेता’को हैसियत दिन संस्थापन पक्ष तयार भएन ।

देउवाले महाधिवेशनको मैदान बाहिर रहेका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरी पुनः ‘वरिष्ठ नेता’को हैसियतमा राखे । संस्थापन इतरपक्षीय नेताहरूले महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका शेखर कोइरालालाई ‘वरिष्ठ नेता’को हैसियत दिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, पार्टीले तयार पारेको मर्यादाक्रममा उनको स्थान २७ औँ स्थानमा राखियो ।

अहिलेसम्म कोषाध्यक्ष चयन नहुँदा र रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि शेखरको वरीयता दुई स्थान अगाडि सरेर २५ औँ नम्बरमा पुगेको छ । कांग्रेसको संस्थापनइतर पक्षले गरेको कार्यक्रममा शेखरले दोस्रो वरीयता पाइरहेका छन् ।

पुस ७ गते बागमती प्रदेश सम्मेलनको उदघाटन कार्यक्रममा सिंहले पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने मत राखेका थिए । ‘

उपसभापति पूर्णबहादुर खड्का बाहेकका पदाधिकारीले शेखरको दोस्रो वरीयताको आसन र भाषण स्वीकारेको पाइन्छ । उपसभापति खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरू महाधिवेशनमा पाएको भोटबाट वरीयताको मापन हुन नसक्ने मत राख्छन् । पार्टीमा गरेको संघर्ष, योगदान र क्रियाशीलता ‘वरिष्ठता’को आधार बन्ने उनीहरुको तर्क छ ।

पुस ७ गते बागमती प्रदेश सम्मेलनको उदघाटन कार्यक्रममा सिंहले पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने मत राखेका थिए । ‘भोटका कारणले होइन । पार्टीमा जिन्दगी दिने, संघर्ष गर्ने, जेलनेल भोग्ने सिनियरलाई मात्रै वरिष्ठ नेता मान्छन्,’ उनले भने ।

विगतमा देउवा र पौडेल ‘सिनियर’ नेता भएकाले मात्र ‘वरिष्ठ नेता’ मानिएको सिंहको भनाइ थियो । ‘म महामन्त्री हुँदा सुशील कोइराला सभापति हुनुहुन्थ्यो । वरिष्ठ नेताको व्यवस्था विधानमा छैन । शेरबहादुरजीलाई बनाउँदा के हुन्छ भनेर भन्नुभयो । यसमा केको विवाद छ र ? सिनियर नहुँदा पो प्रश्न हो,’ उनी भन्छन्, ‘जेल गएका, संघर्ष गरेका र पार्टीलाई जिन्दगी दिएका रामचन्द्र पौडेललाई सबैले वरिष्ठ नेता मानेकै हो ।’

शेखर कोइरालाप्रति लक्षित गर्दै सिंहले सिनियर हुँदै नभएकालाई वरिष्ठ मान्न नसकिने टिप्पणी गरेका थिए । ‘सिनियर हुँदै नभएकालाई वरिष्ठ मान्ने भन्ने हुँदैन । त्यसै वरिष्ठ हुने कुरा हुँदैन । कांग्रेसलाई सुधार गर्ने हो भने लिङ्ग, उमेर र व्यावसायिक क्षेत्रमा सन्तुलन खोजौँ,’ उनको भनाइ थियो ।

शनिबारको केन्द्रीय समिति बैठकमा पनि नेता सिंहले उक्त कुरा दोहोर्‍याएका थिए । शुक्रबारको बैठकमा भने नेताहरूले वरीयताको विषय टुङ्ग्याउन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । संस्थापन पक्षका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र देखिएको मर्यादाक्रमको विवाद यही केन्द्रीय समिति बैठकबाट अन्त्य गर्नुपर्ने बताए ।

‘पार्टीमा जतिसुकै राम्रा कुरा गरे पनि हामीले गाउँ सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन गरौँ– त्यहाँ मर्यादाक्रम मिलेन भन्ने कुरा ठुलो समाचारको विषय बनेर आउँछ,’ उनले भने, ‘फलानो गयो । फलानो गएन भनेर । सभापतिले यही केन्द्रीय समिति बैठकबाट मर्यादाक्रमको विवाद निराकरण गर्नुपर्छ । यो विवाद सदाका लागि अन्त्य गर्नुपर्छ ।’

बैठकमा संस्थापन इतर पक्षका केन्द्रीय सदस्य मधु आचार्यले पनि मर्यादाक्रमको विवाद अन्त्य गर्न माग गरेका थिए । ‘यति पुरानो पार्टी आसन र भाषणका निम्ति अल्झिने, रुमल्लिने स्थिति बन्न हुँदैन’, आचार्यले भने ‘जिल्ला, प्रदेशमा साथीहरूले कार्यक्रम गर्न असजिलो भइसक्यो । पार्टीले मर्यादाक्रमको खाका यथाशीघ्र बनाओस् ।’

बागमती प्रदेशको सम्मेलन उद्घाटनमा नेता कोइराला अनुपस्थित भए ।

उनीहरूले उपसभापति खड्का र नेता कोइरालाबिच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद टुङ्ग्याउन जोड दिएको देखिन्थ्यो । कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भन्ने विवाद प्रदेश सम्मेलनहरूमा सतहमा आएको थियो ।

संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरियो । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएपछि खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गरेका थिए ।

बागमती प्रदेशको सम्मेलन उद्घाटनमा नेता कोइराला अनुपस्थित भए । बागमतीमा प्रदेश सम्मेलन भइरहेका बेला उनी गृहनगर विराटनगरमा थिए । यस्तै जनकपुरमा बिहीबार आयोजित सम्मेलनमा पनि देउवापछिको विशिष्ट अतिथिको स्थानमा नराखिएपछि कोइराला सहभागी भएनन् । उनी त्यस दिन मधेस प्रदेशको सम्मेलन छाडेर इनरुवा पुगेका थिए । मधेस सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरिएपछि उनी निकट स्थानीय नेताहरूले प्रदेश कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए ।

देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का र खड्का पुगेका कार्यक्रममा कोइराला नजाने गरेका छन् ।

बैठकमा पनि जान छाडे कोइराला

पार्टीभित्रको वरीयता विवाद सतहमा आएपछि कोइराला केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकमै उपस्थित हुन छाडेका छन् । पार्टीका आन्तरिक विषयमा कुराकानी गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगे पनि पार्टीका बैठकमा सहभागी हुन छाडेको देखिन्छ ।

मङ्सिर २९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अनुपस्थित रहेका कोइरालाले पुस १२–१४ को केन्द्रीय समिति बैठकमा सहभागी हुन आवश्यक ठानेनन् । सानेपामा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा उनी गृहप्रदेश कोशीतिर लागेका थिए ।

वरीयतासँग केन्द्रीय समिति बैठक सञ्चालनको प्रक्रियाबारे पनि कोइरालाको विमति रहेको बुझिएको छ । असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा नबोलेको विषयमा प्रश्न उठेपछि कोइरालाले भनेका थिए, ‘बैठकमा बोल्नु र कुनै मञ्चमा बोल्नु केही फरक छैन । बैठकमा बोल्नुको अर्थ पनि छैन ।’

कोइराला निकट केन्द्रीय सदस्य गोविन्द पोखरेल भने वरीयता विवादका कारण बैठकमा कोइराला सहभागी हुन छाडेको भन्ने कुरा सत्य नरहेको दाबी गर्दछन् । ‘बैठकको सुरुमा छलफल हुँँदै गर्छ, अन्तिममा बोल्ने हो भनेर कार्यक्रमका लागि उहाँ पाँचथर पुग्नु भएको थियो,’ पोखरेलले भने, ‘शनिबारको बैठकमा सहभागी हुने कुरा थियो । उहाँले बोल्ने भनेपछि हामीले ड्राप्ट तयार गरेर उहाँलाई पठाएका थियौँ । तर, हिजो विराटनगरबाट प्लेन नै नचलेपछि आउन सक्नुभएन ।’

उनका अनुसार पार्टीको केन्द्रीय समिति बैठक तय नहुँदै पाँचथरको कार्यक्रम तय भइसकेको थियो । यद्यपि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक करिब १५ दिनअघि (मङ्सिर २९) मै तय गरेको थियो ।

‘वरिष्ठ नेता’ नपाउने भएपछि कोइराला १४ औँ महाधिवेशनको पहिलो केन्द्रीय समिति बैठकमै अनुपस्थित भएका थिए । पार्टीले २७ औँ वरीयता तोकेपछि उनी बैठकको अन्तिम लहरमा बस्ने गरेका थिए । केन्द्रीय सदस्य पोखरेलले कोइरालाले पार्टीमा मर्यादाक्रम नमागेको दाबी गरे ।

‘शेखर कोइरालाले आफूलाई मर्यादाक्रम मागेनन् । शेखर कोइरालाले पार्टीका साथीहरूसँग मागेको एउटा मात्र चिज थियो सभापतिका लागि भोट,’ उनी भन्छन् । तर, पार्टी विवादरहित सञ्चालनका लागि मर्यादाक्रम मिलाउनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो जस्तो पुरातनवादी समाजमा जसले काम कर्तव्य, जिम्मेवारी र क्षमताभन्दा पनि मर्यादाक्रमलाई बढी ख्याल गर्छ,’ पोखरेलले भने, ‘त्यो समाजमा हाम्रो नयाँ विधानले वडादेखि केन्द्रसम्म गरी करिब १ लाख ४० हजार पद सिर्जना गरेको छ । ती पदहरूको मर्यादाक्रम टुङ्ग्याएर पार्टीलाई विवादरहित ढङ्गले सञ्चालन गर्न आवश्यक देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप