किताब बेचेरै कारखाना चलाउने आविष्कार केन्द्रको तयारी

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ ।
सरकाले ऋण स्वरूप दिएको १ करोड रकम नलिने निर्णय गरेको राष्ट्रिय आविष्कार केन्द्रले पुनको पुस्तक बेचेर आएको आम्दानीले वीरगन्ज स्थित कृषि औजार कारखाना चलाउने तयारी गरेको हो ।
केन्द्रले हालसम्म ३५ हजार पुस्तक प्रकाशन गरिसकेको छ जसमध्ये २४ हजार ७२५ पुस्तक बिक्री भइसकेको जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सदस्य डम्मरबहादुर नेपालीले थप २५ हजार पुस्तक छाप्ने तयारी भइरहेको बताए । ‘किताब बेचेर कारखाना चलाउन सम्भव देखेरै हामी सरकारको ऋण अस्वीकार गरेर पुस्तक प्रकाशन र बिक्री वितरणमा लागेका हौ, अहिलेसम्म २४ हजार ७२५ पुस्तक बिक्री भइसकेको छ थप २५ हजार प्रकाशनको तयारीमा छौ’ नेपाली भने । पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ ।
आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सरकारसँग एक रुपैयाँ नलिई कारखाना चलाएर देखाउने दाबी गरेका छन् । ‘सरकारलाई पैसाको दुख छ भने हामी एक पैसा लिँदैनौ, पुस्तक बेचेर कुनै हालतमा त्यो कारखाना चलाएर देखाइदिन्छौ’ पुनले भने ‘किताब बेचेर ५-१० करोड आयो भने थप थाप हुन्छ’
एक वर्षअघि अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच कृषि औजार कारखानाको पहिलो चरणको मर्मत सम्भार खर्च सरकारले बेहोर्ने सहमति भएको थियो । तर सहमति अनुसार सहयोग नगर्ने तर, कारखाना सञ्चालनका लागि १ करोड ऋण दिने अर्थ मन्त्रालयले निर्णय गरेपछि आविष्कार केन्द्रका सो रकम नलिने निर्णय गरेको हो ।
हालसम्म कृषि औजार कारखानाको सरसफाइ र मर्मत सम्भारमा १ करोड भन्दा केही बढी खर्च भएको पुनले जनाएका छन् । आविष्कार केन्द्रले अहिले कारखानामा साना औजारहरू निमार्णका काम सुरु गरिसकेको छ । कारखाना भित्र ठुलो मेसिन चलाउन विद्युत् भोल्टेज कम भएको भन्दै केन्द्रले ५ सय केभीको विद्युत् प्रसारण लाइन जडान गर्न प्राधिकरणलाई भदौमा पत्राचार गरेको । सो विद्युत् लाइन जडानका लागि ३० लाख रकम आवश्यक पर्ने भएकाले केन्द्रले पहिलो चरणमा १० लाख दिने र किस्ताबन्दीमा बाँकी रकम बुझाउने केन्द्रले जनाएको छ ।
पुनले कारखाना सञ्चालनका लागि २ देखि ३ करोड लगानीमा नयाँ मेसिन पनि थप्नुपर्ने जनाएका छन् । ‘पुराना मेसिनहरूबाट मात्रै कारखाना सञ्चालन गर्न गाह्रो छ’ उनले भने ।
अर्थ मन्त्रालय मातहतमा रहेको कृषि औजार कारखाना तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएर आविष्कार केन्द्रले कारखाना सञ्चालनको जिम्मा लिएको हो ।
‘तत्कालीन अवस्थामा मर्मत सम्भार गर्न कति खर्च लाग्छ भन्ने टुङ्गो नभएकाले पहिलो चरणको मर्मत सम्भार खर्च सरकारले दिने र कारखाना सञ्चालन भएर नाफा कमाउन थालेपछि ५० प्रतिशत नाफा सरकारलाई दिने भन्ने सहमति भएको हो’ आविष्कार केन्द्रका प्रमुख पुनले भने ‘त्यति बेला मोटामोटी ५ देखि १० करोड लाग्छ होला भन्ने मौखिक कुरा हो, ठ्याकै कति लाग्छ भन्ने कुरा नभएर रकम खुलाएर लिखित सम्झौता गरिएन’
३ दशक अघि बन्द भएको कृषि औजार कारखाना सञ्चालनको लागि आविष्कार केन्द्रले सहयोगका लागि समेत आवह्रान गरेको छ । यसअघि पुनको पुस्तक विक्रीको लागि बाराको सिमरामा पनि एक कार्यक्रमको आयोजना गरेर सहयोग स्वरूप किताब बिक्री खुला गरिएको थियो ।
‘सरकारले पैसा दिन्छ भनेर हामीले मर्मतको काम सुरु गरिहाल्यौँ, पछि सरकारले सहयोगको ठाउँमा तमसुक ऋणपत्रमा हस्ताक्षर गर्न बोलायो, त्यसमा १ करोड रुपैयाँ किस्ताबन्दीको भाका सहित राखेर तिर्नुपर्ने उल्लेख थियो’ पुनले भने ‘सरकारको कारखाना मर्मत गरेर चलाउन सरकारसँग नै हामीले ऋण लिएर किस्ताबन्दीमा तिर्नुपर्ने यो कति जायज कुरा हो ?’