रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका छन् ।
- पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै खनालले यो कदम चालेका हुन् ।
- केन्द्रीय सदस्यमा भारी मतसहित विजयी भएपछि महामन्त्रीमा दाबी पेस गरेका खनालले सहमतिको प्रयास भइरहँदा चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिएका हुन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुनै लाग्दा खनालले सहमतिको वातावरण निर्माणका लागि आफ्नो दाबी छोडेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै खनालले पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै यो कदम चालेको बताएका छन् । उनले लेखेका छन्, ‘पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु ।’
खनालले आफ्नो यो निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउने अपेक्षा व्यक्त गरेका छन् । उनले अघिल्लो दिन सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने देशैभरका र प्रवासका प्रतिनिधिहरूप्रति आभार समेत प्रकट गरेका छन् । ‘प्रतिनिधिहरूले व्यक्त गर्नुभएको विश्वास र भरोसाको सम्मान गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा मेरो भूमिका रहने नै छ,’ उनले भनेका छन् ।
बिहीबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको निर्वाचन परिणाममा खनाल २४९५ मतसहित तेस्रो स्थानमा रहेका थिए । केन्द्रीय सदस्यमा भारी मतसहित विजयी भएपछि उनले महामन्त्रीमा दाबी पेस गरेका थिए । तर, पार्टीभित्र सहमतिको प्रयास भइरहँदा उनले चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण