सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लोसपालाई नयाँ रूप दिन चार वटा कार्यदल सक्रिय

बिहीबार, २६ पुस २०८०, २२ : ४०
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई नयाँ रूप दिनका लागि विभिन्न कार्यदलहरू गम्भीर छलफलमा जुटेका छन् । पार्टीलाई पुनर्संरचना गर्दै क्रियाशील गर्नका लागि लोसपाले विभिन्न चार वटा कार्यदल बनाएको थियो । ती चार वटै कार्यदल अहिले दिनहुँजसो छलफलमा जुटेका हुन् । 

राजनीतिक कार्यदिशा तय गर्न पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा पुस १२ गते लोसपाले एक कार्यदल बनाएको थियो । यस्तै उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा सङ्गठन सुदृढीकरण, उपाध्यक्ष प्रदीप यादवको नेतृत्वमा भातृ सङ्गठन तथा विभागहरुको सङ्ख्या निर्धारण र उपाध्यक्ष लक्ष्मणलाल कर्णका नेतृत्वमा अन्तरिम विधान संशोधनका लागि प्रतिवेदन तयार गर्न कार्यदल गठन भएको थियो ।  

लोसपाले पुस २० गतेभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरेको थियो तर हालसम्म कुनै कार्यदलले काम भने सकेका छैनन् । पार्टीका महासचिव डा.सुरेन्द्रकुमार झाले पुसभित्र नै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेपनि राष्ट्रिय सभा चुनावका गतिविधिहरू हुन थालेपछि बैठक नबोलाएको बताए । उनका अनुसार अब राष्ट्रिय सभा निर्वाचनपछि केन्द्रीय समिति बैठक बस्नेछ । 

प्रतिवेदन पनि बैठकअघि तयार भइसक्ने उनको भनाइ छ । बदलिँदो परिस्थिति अनुसार लोसपा पूर्णतः नयाँ ढङ्गबाट आउन लागेको र  त्यसका लागि कार्यदलले घनिभूत रूपमा छलफल गरिरहेको महासचिव झाले बताए । 

उनले भने, ‘पार्टीको वैचारिक लाइन, त्यसको कार्यदिशा, सङ्गठन विस्तारलगायतका रणनीति सोही अनुसार विधान संशोधन लगायतको विषयमा कार्यदलले दिनहुँ जस्तै छलफल गरिरहेका छन् ।’

सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदन तयार गर्न बनेको कार्यदलमा रहेका कौशलकुमार सिंहका अनुसार परम्परा ढङ्गबाट लोसपा चल्न नसक्ने विषयमा सबै नेताहरू सहमत छन् ।  सोहीअनुसार पार्टीलाई नयाँ ढङ्गले गति दिनका लागि कार्यदल बनाएर नै छलफल भइरहेको उनको भनाइ छ । 

पार्टीको विचार तथा सिद्धान्तलाई नै बलियो बनाउनुपर्ने र त्यसपछि मात्र अरू कुरालाई बलियो बनाउन सजिलो हुने बताउँदै उनले पार्टीलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्नका लागि नीति, नेता र सङ्गठनलाई निर्मम ढङ्गले सुदृढीकरण गर्नुपर्ने बताए ।

अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी समेत बन्न नसकेको लोसपा राजनीतिक गतिविधिमा सक्रिय बन्न नसकेको नेताहरूको भनाइ छ । अगामी चुनावसम्म पार्टी नै सङ्कटमा पर्नसक्ने अवस्था आएपछि पार्टीले चार वटा कार्यदल बनाएर लोसपालाई नयाँ ढङ्गले गति दिन लागेको हो । 

यता, पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गइरहेको छ । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विद्रोह गरी छुट्टै सङ्गठन बनाउने अभियान चलाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप