शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध, ५ पदका लागि आज निर्वाचन हुँदै

शनिबार, २८ पुस २०८०, १२ : १५
शनिबार, २८ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासङ्घको ३१ औँ वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । शुक्रवार साढे ६ बजेसम्मका लागि तोकिएको उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको हो । 

निर्वाचन उपसमितिले उम्मेदवारी दर्ताका लागि सुरुमा ४ बजेसम्मका लागि समय तोकेको थियो । अध्यक्षमा एक जनाको मात्र नाम परेपछि निर्वाचन समितिले उम्मेदवारी दर्ता समय थपेर साढे ६ बजेसम्म पुर्याएको थियो । अन्तिम समयसम्म पनि उनको मात्र नाम परेपछि मल्ल अध्यक्ष घोषित भएकी हुन् ।

सहकारी महासङ्घको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुने अवसर मल्लले पाएकी छिन् । महासङ्घको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै आफ्नो ३० वर्षे सहकारी यात्रामा मल्ल महासङ्घको अध्यक्ष बनेकी हुन् । 

उसो त लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील मल्ल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुन् । दक्षिण एसियाको प्रतिनिधित्व गर्दै अध्यक्ष मल्लले अन्तर्राष्ट्रिय सहकारी महासङ्घको निवर्तमान सञ्चालक समेत बनिसकेकी छिन् ।

यसैगरी, महासङ्घको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत रहेका पोखरेल महासङ्घको सञ्चालक, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

यसैगरी खुल्ला तर्फको २ जना उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । खेमबहादुर पाठक, डीबी बस्नेत र शेषकान्त गौतमको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएकी छन्  ।

यस्तै ७ प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट छत्र प्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भुप्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट माधवप्रसाद जोशी र प्रेमसिंह भाटको उम्मेदवारी परेको छ । 

यसैगरी ५ जना महिला सञ्चालकमा हुमाकुमारी जि.सी.(अन्जु), योगमाया सुवेदी, एकता शाह, कमला कुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित भएका छन् । ४ जना खुल्ला सदस्यका लागि बद्रीप्रसाद लम्साल, प्रेमप्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्णबहादुर खत्री र सञ्जयकुमार शाहको उम्मेदवारी परेको छ ।

केन्द्रीय संघ र सहकारी बैंकका तर्फबाट निर्वाचित हुने ३ जना सञ्चालकहरूमा टेकप्रसाद चौंलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महासङ्घको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम प्रसाद तुलाचन तथा सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् । २ जना उपाध्यक्षका लागि ३ जना, खुल्ला सदस्यमा ४ जनाका लागि ६ जना र सुदूरपश्चिम सञ्चालकमा १ जनाका लागि २ जनाले उम्मेदवारी दर्ता गराएको र अन्य सबै पदमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

आवश्यक भन्दा बढी उम्मेदवारी परेको पदका लागि शनिवार बिहान १० बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । तोकिएको समयसम्म सहमति नभएमा ५ पदका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाकारी दिएको छ ।

महासङ्घको निर्वाचनका लागि तीन मुख्य राजनीतिक दलका सहकारीकर्मीहरुबीच धेरै पटक संवाद भएको थियो । सबैलाई मिलाएर लैजाने योजना अनुसार नै सहमतिको प्रयास भए पनि वर्तमान सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहकारी विभागका तर्फबाट पत्रकार सम्मेलन गरेर महासङ्घको निर्वाचनमा सहभागी नहुने जनाएका छन् ।

एमाले समर्थक सहकारीकर्मीहरुले आफूहरूले मागे जति सिट उपलब्ध नगराएको भन्दै कांग्रेस र माओवादी समर्थक सहकारीकर्मीहरुले उम्मेदवारी नदिएका हुन्  । ४ बजेसम्मका लागि ताेकीएकाे उम्मेदवारी दर्ताको समय सकिने समयसम्म पनि वार्ता र संवादमा रहेका कांग्रेस र माओवादी समर्थक सहकारीहरूका लागि डेढ घण्टा समय थप गर्दा पनि उम्मेदवारी दर्ता नगराएको एमाले समर्थक सहकारीकर्मीहरुले जनाएका छन् ।

कांग्रेस र माओवादीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका सहकारी विभाग प्रमुख र माओवादीका सहकारी विभाग प्रमुखले एमालेले आफूहरूले मागे जति सिट नदिएका कारण उम्मेदवारी दर्ता नगराएको बताएका छन् ।

एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल र माओवादीका सहकारी विभागका प्रमुख लीलामणि पोखरेलसहित सहकारीका नेताहरूबिचको छलफलका क्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, १० जना सञ्चालक र एक जना लेखा सुपरिवेक्षण समितिको सदस्य एमाले समर्थकहरूलाई, उपाध्यक्ष एक जना, सञ्चालक ५ जना र लेखा सुपरिवेक्षण समितिको संयोजक नेपाली कांग्रेस समर्थकलाई तथा एक जना उपाध्यक्ष, ४ जना सञ्चालक र लेखा सुपरिवेक्षण समितिको सदस्य एक जना माओवादी समर्थकहरूले लिने गरी सहमति नजिक पुगेको समयमा गठबन्धनलाई बहुमत चाहियो भन्दै उनीहरू बाहिर निस्केको एमाले सहकारी विभागका एक सदस्यले बताए ।

केही दिनदेखि लगातार चलिरहेको वार्ता सहमति नजिक पुगेको थियो, महासङ्घको साधारण सभामा सहभागी प्रतिनिधिहरू एमाले समर्थक धेरै भएका कारण एमालेले बढी सिटमा दाबी गर्नु स्वाभाविक थियो, कांग्रेस सहमतिको नजिक नै थियो, माओवादीहरूले आफ्नो उपस्थितिभन्दा बढी मागेपछि समस्या सिर्जना भएको उनले बताए । एमालेले कांग्रेस र माओवादीलाई विभाजन गराउन खोजेका कारण समस्या सिर्जना भएको कांग्रेस समर्थक एक सहकारीकर्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप