बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जनताको चाहनाअनुसार विकास र समृद्धिलाई गति दिन सकिएको छैन : गृहमन्त्री श्रेष्ठ

शनिबार, २८ पुस २०८०, १३ : ५७
शनिबार, २८ पुस २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता पूर्ति, विकास र आर्थिक समृद्धिको काम सन्तुलित ढङ्गले हुन नसकेको बताएका छन् ।  शनिवार काठमाडौँमा नेपाल हस्तकला महासङ्घको वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री श्रेष्ठले अहिले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेश जानबाट रोकिउन भन्ने अहिलेको सरकारको मुख्य कार्यभार रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताए । 

अहिले नेपालको मुख्य कार्यभार आर्थिक समृद्धि रहेको बताउँदै त्यसका लागि नयाँ राजनीतिक व्यवस्था परिवर्तन गरिएको बताए । परिवर्तनपछि जनताहरूले जुन अपेक्षा राखे त्यो मात्रामा विकास र समृद्धिको यात्रा कति अघि बढ्न सक्यो वा सकेन भन्ने सर्वाधिक महत्वको विषय रहेको बताउँदै परिवर्तनको निर्देश, जनताको आवश्यकताअनुसार विकास, समृद्धिलाई गति दिन नसकेको उल्लेख गरे । 

मन्त्री श्रेष्ठले हस्तकलाले नेपालको अर्थतन्त्रमा उत्पादन र रोजगारीमा योगदान गरेर निकासी प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्न सहयोग गरेर आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

उनले भने– ‘तपाईँहरूले एउटा व्यवसाय मात्र गरिराख्नुभएको छैन, राष्ट्रलाई यसको संस्कृति, पहिचान, पर्यटन र अर्थतन्त्र सबै क्षेत्रमा तपाईँहरूले योगदान पुर्‍याइरहनु भएकोप्रति गौरव गरौँ र यसलाई अझै निरन्तरता दिँदै प्रवर्द्धन गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जनताले राजनीतिक प्रणाली परिवर्तन गरेपछि घुस नखुवाईकन, शक्तिशालीलाई चाकडी, भनसुन नगरीकन आफ्नो काम होस् भन्ने चाहेको, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, विद्युत्, खानेपानी जस्ता विकासका काम अघि बढोस् भन्ने जनताको चाहना रहेको बताए । 

मन्त्री श्रेष्ठले सुशासनबिना जनताका चाहनाहरू पूरा गर्न गाह्रो पर्ने बताउँदै सुशासन र समृद्धि एक अर्कासँग जोडिएको उल्लेख गरे । उनले भ्रष्ट्राचार रोकेर सहज रूपमा जनतालाई सेवा सुविधा दिने कुरालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप