सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा पूर्वराजा ज्ञानेन्द्र : राप्रपाको भ्रम, गणतन्त्रमाथि धावा

आइतबार, ०७ माघ २०८०, २२ : ०४
आइतबार, ०७ माघ २०८०

मकवानपुर । हेटौंडाको विभिन्न शक्ति पीठको पूजा अर्चना गर्न हेटौँडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा बाक्लै मात्रामा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । सुरक्षा निकायको तथ्यांक अनुसार शाहको समर्थनमा ३ स्थानमा करिब ४ हजार मानिसहरूको सहभागिता रहेको थियो ।

झट्ट हेर्दा वर्तमान व्यवस्था नै पल्टाउला झैँ गरी पूर्वराजाको पक्षमा कार्यकर्ताहरु प्रस्तुत भएका थिए । राजसंस्थाको पक्षमा वकालत गर्नेहरुसहित राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले घेरिएका उनले हेटौँडा–१३ को गुम्बा र हेटौँडा–१० को भुटनदेवी मन्दिरमा पुजा अर्चना गरे । २ वटा शक्ति पीठमा करिब ५ घण्टा बिताएका उनको समर्थनमा धनुषा, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाबाट समर्थकहरु सहभागी भएका थिए ।

केही समर्थक बाहेक अधिकांश सर्वसाधारण भने शाहलाई हेर्नका लागि मात्र आएका थिए । चुरियामाई मन्दिरमा शाहको स्वागतका लागि केही कार्यकर्ता उपस्थित भएका थिए भने हेटौँडा–१३ गुम्बामा सर्वसाधारणको भीड लागेको थियो । सोही भिड छिचोल्न शाहलाई निकै हम्यहम्य परेको थियो । भिड नियन्त्रणका लागि बाक्लो मात्रामा प्रहरी परिचालन गर्नुपरेको थियो भने शाहको सुरक्षाका लागि खटिएका व्यक्तिहरुलाई पनि समस्या भएको थियो ।

हातमा फुल गुच्छासहित शुभेच्छा व्यक्त गर्न विशेष गरी वृद्धहरुको लामबद्ध थिए भने केही युवाहरु राजतन्त्राको पक्षमा नारा लगाइरहेका थिए । केही भने अब गणतन्त्रको अर्थ नरहेको भन्दै तर्क गर्दै भेटिन्थे । शाहको स्वागतका लागि राप्रपाले सांस्कृतिक बाजागाजासहित नेवारी समुदायको बाजा, लाखेको व्यवस्था गरेको थियो ।

राप्रपाको भ्रम

उक्त भीडलाई राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु राजसंस्थाको पुनरावृत्ति हुने भन्दै प्रमाणित गर्न खोज्दै थिए । राप्रपाका नेताहरु सर्वसाधारणको समर्थन अथाह रहेकाले राजसंस्था छिट्टै फर्किने तर्क गर्दै थिए ।

राप्रपा र राप्रपा नेपालका नेता कार्यकर्ताहरु आजै गणतन्त्र ढल्छ झैँ उत्साहित हुँदै गणतन्त्रमाथि धावा बोल्दै गरेको भेटिन्थे । उनीहरु भन्दै थिए ‘यो भिड रमिता हेर्न मात्र आएका होइनन् । यहाँ सहभागी हरेक मानिसहरुलाई राजसंस्था चाहिएको छ । तपाई आफै हेर्नुहोस् यो १५÷२० वर्षमा देश कस्तो भयो ? यसको जिम्मा कसले लिन्छ ? यो सबैको कारण असल अभिभावक नहुनुको कारणले हो ।’

सोही दौरान उपस्थित भिडलाई देखाउँदै मकवानपुरबाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले नागरिकहरुले राजसंस्थाको आवश्यकता महसुस गरेको टिप्पणी गरे । देशलाई भ्रष्टाचारको दलदलबाट निकाल्न राजसंस्था आवश्यक रहेको भन्दै जनताको धैर्यताको बाँध भत्किएको उनले तर्क गरे । यसै गतिमा अघि बढ्दा वर्तमान लोकतान्त्रिक गणतन्त्र व्यवस्था ढल्न धेरै समय नलाग्ने उनले बताए ।

यता हेटौँडा–१३ मा भेटिएकी एक महिला हातमा एन्ड्रोइड फोन सहित शाहको फोटो लिन बसेकी थिइन् । उनको इच्छा नजिकबाट एउटा फोटो लिन थियो । तर, पाइनन् । सुरक्षाकर्मी र पिएसओको ठेलम्ठेलका कारण उनको इच्छा पुरा हुन सकेन । टाढाबाट एक झलक देखेकी उनले शाहको सन्दरताको प्रशंसा गर्दै आफूलाई मन परेर मात्र हेर्न आएको बताइन् ।

उनले भनिन्, ‘हिजो नि हामीले दुःख गरेर खानु परेको थियो । आज नि त्यस्तै छ । राजा भए नि काम गर्नु पर्छ नभएपनि गर्नुपर्छ । जुन व्यवस्था आए नि हामीलाई दुःखले छोड्ने होइन । हामी त राजा कस्तो रहेछन् भनेर हेर्न आएका हौ । एउटा फोटो लिनुप¥यो भनेको पाइएन ।’

गुम्बामा पूजा गरेर फर्किने क्रममा भेटिएका एक युवकले भने,  ‘यहाँ उपस्थित भएका मध्ये अधिकांश मान्छेले पहिलेदेखि नै राजा राजा मात्र सुनेका थिए । देखेका थिएनन् । त्योमध्ये म पनि एक हुँ । टिभीमा त देख्यौ आज प्रत्यक्ष देख्ने अवसर मिलेको छ । यो भिड म जस्तै हेर्नहरुको हो, समर्थकको होइन । यो भीड देखाएर अहिलेको गणतन्त्रलाई कुनै असर पर्दैन ।’

हेटौँडा–१० को भुटनदेवी मन्दिरमा भेटिएका एक वृद्ध भने खुलेर राजसंस्थाको माग गर्दै थिए । देशमा भ्रष्टाचार बढेको तर्क गर्दै  शाहलाई भेट्न र आफ्ना कुरा राख्न आएको उनले बताए । सन्तुष्ट मुद्रामा रहेका उनले देश बचाउन राजसंस्थाको आवश्यकता रहेको बताए छ ।

शिव सेना र स्वयंसेवकहरूको तानाशाह प्रवृत्ति

शाहको उपस्थितिलाई व्यवस्थित गर्न राप्रपाले स्वयंसेवकको व्यवस्था समेत गरेको थियो । राप्रपाले युवा सङ्गठनसँगै शिव सेनालाई स्वयंसेवकको रूपमा प्रयोग गरेको थियो ।

सर्वसाधारणको भीड नियन्त्रणमा सक्रिय हुनुपर्ने शिव सेना र स्वयंसेवकहरु प्रहरी कै सामुन्ने तानाशाही शैलीमा उत्रिएका थिए । सडक यात्रामा रहेका सर्वसाधारणलाई समेत हिँडडुल गर्न रोक्ने काम शिव सेना र स्वयंसेवकहरु गर्दै थिए । सडकमा यात्रा गरिरहेका मोटरसाइकल र गाडीहरुलाई शिव सेना र स्वयंसेवकहरुले बार लाएझै गरी छेक्दै थिए । शिव सेनाका स्वयंसेवकहरु राजसंस्था ढाल्ने बेलामा सडकमा पुग्नेहरु अहिले एक छिन् कुर्न सक्दैनौ भन्दै यात्रामा रहेकाहरु माथि जाइलाग्दै थिए ।

शाह भेट्न हातमा पुष्प गुच्छासहित भुटनदेवी मन्दिरमा आएका एक वृद्धलाई स्वयंसेवकहरुले ठेलेर लडाइदिएका थिए । उनलाई उठाउन र स्वयंसेवकहरुलाई रोक्न स्वयम सांसद सिंह नै आउनु परेको थियो । सिंहले मन्दिरको बारमा चेपिएर लडेका ती वृद्धलाई आफ्ना स्वयंसेवकहरुले गरेको व्यवहारबाट अलग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप