बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थल सुरक्षा

एयरपोर्टमा सशस्त्र : भैरहवा र पोखरामा पनि खटाउन खोजिएको हो ?

अर्थ मन्त्रालयका प्रवक्ता भन्छन्–‘अरू विमानस्थलमा अहिले आवश्यक छैन’
सोमबार, ०८ माघ २०८०, २१ : २३
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । अर्थ मन्त्रालयको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा सशस्त्र प्रहरी परिचालन सम्बन्धी निर्णय गरेका हुन् । माघ १ बाट इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् ।

विमानस्थल भन्सारमा खटिएसँगै सशस्त्र प्रहरीले आइतबार आधा किलो सुन बरामद गरेको छ । कतारको दोहाबाट आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई सशस्त्रले सुन सहित नियन्त्रणमा लिएको हो । सो घटनालाई सशस्त्र प्रहरीले विमानस्थल भन्सारमा खटिएपछिको पहिलो सफलता भनेको छ ।

त्रिभुवन विमानस्थल जस्तै अन्तर्राष्ट्रिय सीमा मानिने थप दुईवटा विमानस्थल सञ्चालनमा छन् । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयले उप–सचिवको नेतृत्वमा भन्सार कार्यालय स्थापना गरेको छ । पोखरामा भन्सार कार्यालय राख्ने तयारी भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव धनिराम शर्माले रातोपाटीलाई बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अहिले आवश्यक नभएको अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बताए । उनी भन्छन्–‘भैरहवा र पोखरामा अहिले सशस्त्र खटाउनुपर्ने अवस्था छैन ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुमा कुवेतको जजीरा एअरवेजले उडान सुरु गरे पनि अहिले रोकेको छ । २०७९ वैशाखमा सुरु भएको भैरहवा एयरपोर्टबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक भएर सशस्त्र प्रहरी परिचालनका गर्ने निर्णय गरिएको तर, अरू दुई विमानस्थलमा खटाउनेबारे छलफल नभएको सहसचिव शर्माले बताए । तस्करीको सुन लगातार आउन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका भन्सारका कर्मचारीले पनि ‘सुरक्षा चुनौती’ महसुस गरेसँगै अर्थमन्त्री प्रकाश शरण महतले त्यसबारे गृह मन्त्रालयलाई आग्रह गरेका हुन् ।

सशस्त्रले सीमा क्षेत्रमा भन्सार छली नियन्त्रणमा काम गरेको हुनाले अर्थ मन्त्रालयका अधिकारीहरूले विमानस्थलमा सशस्त्र खटाउनेबारे छलफल गरेका थिए । विमानस्थल भन्सार कार्यालयमा नेपाल प्रहरीका सुरक्षाकर्मी खटाउने बारे छलफल नभएको सहसचिव शर्माले बताए । उनी भन्छन्–‘सुरु देखी नै सशस्त्रलाई खटाउनेबारे छलफल भएको हो ।’

अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए । अर्थको आग्रहअनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।

भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर तर्फको सुरक्षा जाँच नेपाल प्रहरीले गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप