सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिमराको प्रभु निवास बन्यो पूर्वराजा शाहको ‘सेल्टर’

सोमबार, ०८ माघ २०८०, १७ : ५६
सोमबार, ०८ माघ २०८०

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको बारा सिमरास्थितको ‘प्रभु वास’ निवासलाई १५ दिनदेखि सेल्टर बनाएका छन् । मधेस प्रदेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह गएको २३ गतेदेखि सिमराको प्रभुशमशेर जबराको निवासलाई आफ्नो सेल्टर बनाएका हुन् । 

प्रभु निवास सिमरा वडा नम्बर १ स्थित छ । नातामा आफन्त पर्ने भएकोले पूर्वराजासहितको परिवारको यही बसोबास रहेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिराबहादुर चन्दले जनाए । उनका अनुसार २३ गते भैरहवाबाट सडकको बाटो हुँदै पूर्वराजा सिमरा आइपुगेका हुन् । मधेस प्रदेशलाई लक्षित गर्दै भ्रमणमा रहेका पूर्वराजा शाह प्रभु निवासलाई सेल्टर बनाएर बसेको जानकारी गरे ।

यता इलाका प्रहरी कार्यालय बारा सिमराका प्रहरी निरीक्षक लक्ष्मण पतभैयाले पनि भने, ‘प्रभु निवासमा पूर्व राजपरिवारको सदस्यहरू बसिरहनुभएको छ, करिब ६÷७ जना परिवारका सदस्यहरूसहितको टोली छ । नातामा आफन्त पर्ने प्रभु निवासमा सबै जना बसिरहनुभएको छ ।’

कहाँ–कहाँ गरे धार्मिक भ्रमण ?
पूर्वराजा अहिले मधेस दौडाहामा छन् । धार्मिक भ्रमण तथा नागरिक अभिनन्दनको नाममा पूर्वराजा मधेस प्रदेशसहितका जिल्लाहरूमा भेटघाट गरिरहेका छन् ।  मधेस प्रदेशको सर्लाही बरहथवामा रहेको मुक्तकेश्वर, रौतहटको शिवनगर मन्दिर, बाराको गढीमाई मन्दिर, वीरगन्जको गहवमाई मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । 

हिजोमात्रै पूर्वराजाले गोप्यरुपमा वीरगन्जको समेत भ्रमण गरेका छन् । वीरगन्जको गहवामाई मन्दिरको दर्शन गरेर पूर्वराजा फर्केका छन् । गहवामाईको दर्शनपश्चात् हिजै हेटौँडामा पनि पूर्वराजाले भ्रमण गरेका थिए ।  यसैगरी १३ माघमा वीरगन्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन कार्यक्रमसमेत राखिएको छ । यो कार्यक्रम सकेपछि थप अन्य कार्यक्रम तय गरिने बताइएको छ ।

पछिल्लो समय नागरिक अभिनन्दन तथा धार्मिक भ्रमणको नाममा मधेस दौडाहामा पूर्वराजा शाहको सक्रियता बढ्दै गएको छ । तर राजनीतिक विश्लेषक कृष्ण खनालले पूर्वराजाको तराइ भ्रमण कुनै अर्थ नरहेको बताए । उनले भने, ‘यो भ्रमण अरू केही पनि होइन, पूर्वराजा अहिले खाली छन् । कुनै काम छैन, त्यही कारण गुमेको सत्ता हात लाग्छ कि भनेर च्याँखे थापेको मात्रै हुन् । तर यो सम्भव छैन ।’ 

‘त्यसकारण राजतन्त्र परिवर्तनको सम्भावना छैन, बरु धार्मिक अतिवाद आउन सक्छ,’ उनले भने, ‘अब इतिहास उल्टिन सक्दैन क्लियर छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप