सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘राजसंस्थाको पक्षमा जनमत घट्दो, सांस्कृतिक राष्ट्रियताको पक्षमा बढ्दो छ’

नेपाल हिन्दु राष्ट्र बन्न सक्छ, तर अधिराज्य बन्न सक्दैन : अरुण सुवेदी
बुधबार, १० माघ २०८०, १७ : २५
बुधबार, १० माघ २०८०

काठमाडौँ । माघ ९ गते भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा भइरहँदा नेपालमा पनि खुसीयाली मनाइयो।  अयोध्यासँग सीमा जोडिएका नेपालका भू भागमा  त यसको  खुसीयालीमा स्थानीय सरकारहरूले बिदा नै घोषणा गरे । संस्कृतिको कुनै सिमाना हुँदैन भन्ने यो एउटा उदाहरण थियो । 

तर भारमा भइरहेको धर्मको राजनीतिले हिन्दु धर्मलम्वम्बीहरुको बाहुल्यता भएको नेपालमा यसले कस्तो प्रभाव पर्ला ? यिनै विषयमा चिरफार गर्न संस्कृति र राजनीतिका विषयमा अध्ययन गर्दै आएका अरुण सुवेदीसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको अंश :

भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा गर्दा हुनुपर्ने चर्चा आध्यात्मिक   थियो, तर राजनीतिक बन्यो यो कसरी ?
–यो हेर्नेको दृष्टिकोणको कुरा पनि हो। त्यो बेला नेपालका कैयौँ ठाउँमा दीप प्रज्वलन  भयो । तर पराराष्ट्रमन्त्रीको  एउटा ट्विट बाहेक सरकारले त्यसलाई वैधानिक रिकोग्नाइजेशन दिएन । यो सबै सांस्कृतिक र आध्यात्मिक र धार्मिक चर्चा हो । भारतमा भएका चर्चा र गतिविधि पनि त्यही प्रकारका हुन् । 

त्यो बेला त विमानमा, रेल लगायतमा  समेत रामभजन बजाइयो  नि ?
–पहिला राम मन्दिरको विषयलाई  सोसलिस्ट र कन्जरभेटिभ दुवै शक्तिले बेवास्ता गरे । तर अहिले यसको श्रेय बीजेपीलाई प्राप्त भयो । अरूहरूले गर्दा यसको राजनीतिकरण भयो । 

यो प्रकरणमा भारतको कांग्रेस पार्टीदेखि मलाई अचम्म लागेको छ किनभने राजीव गन्धीको पालमा नै मन्दिरको ढोका खोलिदिने र पूजा गरिने व्यवस्था भएको हो । न्यायिक निरूपणबाट त्यो पूर्ण भएको हो । 

आज कार्यकारी प्रमुखले मुख्य यजमानको काम गरिरहनुभएको छ । यस्तो अवस्थामा हामी पनि सहभागी हुन्छौँ भनेर कांग्रेस जाँदा त केही फरक पर्दैनथ्यो । 

तर  कार्यकारी प्रमुखले नै यजमानको काम गर्नुहुँदैन भन्ने आयो नि ?
–भारतमा ५ जना शङ्कराचार्य छन् । तर प्रधानमन्त्री त एकजना मात्रै हो । धार्मिक निर्णयबाट बनेको होइन राम मन्दिर । त्यो अदालतबाट न्यायिक निरूपण भएर बनेको हो ।

यसको अर्थ मोदी शङ्कराचार्यबाट होइन, आरएसएसबाट चल्छन् भन्न खोजेको हो ?
–त्यो त बीजेपीको संगठनको आधार नै आरएसएस हो । त्यसले कुनै दिन इन्दिरा गन्धीलाई पनि समर्थन गरेको थियो । त्यो आरएसएसले आज किन बीजेपीलाई समर्थन गर्यो ? त्यसको कारण बीजेपीले साथ लियो । त्यो त साथ लिन सक्नुपर्यो नि । 

मोदी  भारतको कार्यकारी प्रमुख हुन् । तर यति चाँडो राम मन्दिर बनाइदिए । त्यही समयमा बाबरी मस्जिद त  बनाइदिएनन् नि  ?
–यो खुर्सानी जस्तै चखिलो कुरा हो । यसले गुन गर्दैन । हिन्दु संस्कृतिमा राम र राम मन्दिरको जुन औकात छ, बाबर र  बाबारी मस्जिदको त्यो छैन । को हो बाबर हजरद मोहम्मद ? तर हिन्दुबाट राम निकाली दिनुभयो भने त्यो हिन्दु नै होइन, तर इस्लामको नामबाट बाबर निकाल्दा के अपुरो हुन्छ ?  झगडा त जे मा गरे पनि भो । तर इस्लाममा बाबरको केही महत्त्व नै छैन । 

नेपाल भारतबिच राम र सीताका कारण सम्बन्ध बढेको छ । तर त्यसमा दुई देशमा कुनै समन्वय देखिएन नि ?

–हामी एउटै संस्कृतिलाई साझेदारी गर्छौँ । संसारमा यस्तो साझेदारी गर्ने धेरै छन् । संस्कृति पाँच–सात छन्, मुलुक दुई सय छन् । ती संस्कृति नै एक आपसमा साझेदारी गर्ने हुन् ।  यो पटकको प्राण प्रतिष्ठामा पशुपति र जानकी मन्दिरमा निम्तो आयो ।

त्यसमा धेरै सन्तहरू पनि जानुभएको छ । तर राज्य पक्षको त्यहाँ कुनै भूमिका देखिएन । त्यसमा हाम्रो राजनीतिक  र कूटनीतिक पहल नपुगेको हो वा उताबाट बेवास्ता गरिएको हो ।

 त्यसमा डेढ सय वर्ष त कानुनी लडाइँ मात्र भयो । ४ सय ६४ वर्षपछि राम भूमिमा मन्दिर बनेर प्राण प्रतिष्ठा हुँदै गर्दा सरकारले हामीलाई किन बोलाउनु भएन भनेर उनीहरूसँग सोध्नुपर्यो नि । 
हाम्रो देशमा धेरै राजनीतिक दलहरू उदारवादी र वामपन्थी छन् । उनीहरूलाई यो प्रिय विषय होइन । यो उनीहरूका लागि सांस्कृतिक विषय बन्दैन । त्यसबेला शिला बोकेर व्यक्तिगत हिसाबमा जाने विमलेन्द्र निधिले त उबेला धर्म निरपेक्षताको वकालत गर्नुभएकै हो । 

सांस्कृतिक राष्ट्रियता र राजाबिच सम्बन्धविच्छेद नभएकाले हाम्रोमा यसको अभियान माथि उठ्न सकिरहेको छैन । सांस्कृतिक राष्ट्रियताको पक्षमा जनमत बलियो छ । तर राजसंस्थाको पक्षमा कमजोर छ ।

यस अघिका नेपालका प्रधामनन्त्रीले राम–सीता यतै (नेपालमा) जन्मेका हुन भनेको कुराले त्यसमा प्रभाव पारेको हो कि ?
–आफूले भनेको प्रमाणित गर्ने दायित्व पनि उहाँको हो । तर रामको अस्तित्वलाई उहाँले ऐतिहासिक रूपमा स्वीकार गर्नुभयो। एउटा कम्युनिस्ट प्रधानमन्त्रीले यस्तो स्विकार्नु भनेको पनि ठुलो परिवर्तन हो । 

तर यति पवित्र काममा त्यही राम मन्दिरका कारण विभाजित भयो नि ?
–मैले अघि नै भनी सकेँ । मार्क्सवादी र उदारवादीहरूका लागि यो प्रितकर विषय होइन। पहिले कस्तो परित्यक्त सहरका रूपमा थियो अयोध्या । आजभन्दा दश वर्षअगाडि अयोध्या जानै मन लाग्ने सहर थिएन । तर आज मक्का मदिनालाई टक्कर दिने सहरका रूपमा विकसित भएर आयो । 

यो त भारतीयहरूका लागि गर्वको विषय हुनुपर्ने होइन ?
–हुनुपर्ने हो । तर गर्दैनन् । मार्क्सवादी र उदारवादीहरू मान्दै मान्दैनन् । मान्छे फर्माबाट निकालेको इँटाजस्तै बराबरी हो, जात भनेको स्त्री र पुरुष मात्र हो, एक किसिमले दिदी बाहिनी पनि नचिन्ने  सोचबाट निर्देशित भएपछि कसले के गर्न सक्छ ?  

भारतमा केही समयपछि लोकसभा निर्वाचन छ । तर भारतीय प्रधानमन्त्रीले यसमा राजनीति गरिदिनुभयो भन्ने आरोप छ नि ?
–मौका पाएपछि राजनीति गर्छन् त । कांग्रेसले त्यो काम गरेको भए पनि त हुन्थ्यो । मन्दिरको सुरुवात त राजीव गान्धीले नै गरेका हुन् । 

धर्मलाई लिएर भोट माग्ने भाँडोको रूपमा प्रयोग गर्न पाइन्छ ?
–यो त बीजेपीका नेतालाई सोध्नुस् । मेरो बिचारमा बीजेपी सांस्कृतिक पार्टी हो । उसले सांस्कृतिक राष्ट्रियताको कुरा गर्छ । भारतका सोसलिष्ट र लिबरलहरूलाई चाहिँ यो कुरा गर्न केले रोक्छ ?  उनीहरूले  पनि यसलाई  प्रयोग गरेर भोट माग्ने भाँडो बनाउनु नि । 

भारत धर्मनिरपेक्ष राष्ट्र हो, यस्तो देशको कार्यकारी प्रमुखले  एउटा धर्मका नाममा यस्तो काम गर्न मिल्छ ?
–कार्यकारी प्रमुख धर्महीन हुनुपर्छ भनेको हो र धर्म निरपेक्षतामा ?  हरेक राज्य आफैँमा एउटा सांस्कृतिक इकाई हो । अरूको अधिकारलाई कुण्ठित नगरी काम गर्नु भनेको नै धर्म निरपेक्षता हो । 

त्यसको प्रभाव त नेपालमा केही न केही देखिने भो नि ?
–त्यसले सांस्कृतिक पुनर्जागरण सुरु भएको छ । यो अध्यायमा भारत छ । त्यो प्रवाहमा नेपाली जनता अगाडि बढिसकेका छन् । तर यसलाई नेताहरूले कहिलेसम्म छेक्न सक्छन्, त्यो चाहिँ प्रतीक्षाको विषय भएको छ । भारतमा अम्बेडकरले बनाएको संविधान धर्मनिरपेक्ष होइन । त्यसको पहिलो पानामा नै रामको फोटो छ । भारतको संविधानमा धर्मनिरपेक्षता भन्ने शब्दै थिएन । पछि सोभियत संघसँग सम्बन्ध भएपछि इन्दिरा गान्धीले धर्म निरपेक्षता शब्द संविधानमा थपिदिएकी हुन् । 

नेपालमा पनि धर्मनिरपेक्षता शब्द कताबाट छिर्योा–छिर्योे भन्छ नि ?
–संवैधानिक हिसाबमा परम्परागत मानिआएको भन्ने छ । तर व्यवहारिक रूपमा मूल प्रवाहको संस्कृतिलाई अपमान गर्ने र धर्म परिवर्तनलाई सहजीकरण गर्ने खालको छ । कार्यान्वयन एकातिर, संवैधानिक परिभाषा अर्कोतिर गएको छ ।

 भारतमा मोदी फेरि प्रधानमन्त्री भए धर्म निरपेक्षता संविधानबाट हट्छ कि भन्ने चर्चा छ । नेपालमा पनि त्यो प्राक्टिस उतैबाट गरिदिइरहेका छन् कि ?

त्यो हट्यो भने दुवै देशका लागि राम्रो हो। पश्चिमाहरूको खोल हामीले जबरजस्ती ओढ्नुपर्छ भन्ने छैन । हिन्दु धर्माधिकारीहरु राज्यधिकारी हुने कुरा होइन ।  राजा अलग, शङ्कराचार्यहरू अलग हुन्थे । तर इस्लाममा खलिफाले नै राज्य चलाउँथ्यो । धर्म जोगाउने काम राज्यका हो । तर राज्य चलाउने काम धर्मको  होइन ।

नेपाल पनि हिन्दु राष्ट्र बन्ने सम्भावना छ ?
–हिन्दु राष्ट्र बन्नसक्छ । तर अधिराज्य बन्न सक्दैन । किनकि गङ्गामा पानी धेरै बगिसक्यो ।

राम मन्दिरमा भएको प्राण प्रतिष्ठा कार्यक्रमले बीजेपीलाई आउने चुनावमा कति फाइदा होला ?
–अहिलेसम्म लिड गरिरहेकै छ । तर भारतमा सांस्कृतिक रूपान्तरणको लाभ भने उसले लिन सक्छ । यसबाट प्रभावित हुन्छ नै । 

भारतमा यो कार्यक्रमले कांग्रेस आईलाई चाहिँ एकदम घाटा भयो भन्न खोज्नु  भएको हो ?
–भारतमा जवहरलाल नेहरुले काश्मीरमा जे सुरु गरे त्यसलाई मोदीले पुरा गरे । त्यसको श्रेय कांग्रेसलाई पनि जानुपर्ने हो । तर सबै मोदीको टाउकोमा राखिदिए । त्यो सुरु गरेको राजीव गान्धीले हो । तर अहिले त्यो गान्धी परिवारमा श्रेय गएन । सबै श्रेय मोदीमा गयो ।

भारतमा मोदीको उदयपछि सांस्कृतिक पुनर्जागरणको अभियान नै आयो भन्नुभएको हो ?

–मैले भन्न खोजेकै त्यही हो। 

नेपालमा पनि फागुनबाट राजसंस्थाको स्थापनाका लागि आन्दोलन सुरु गर्ने भनिएको छ नि ?

–एमालेले सरकारलाई बुझाएको ७५१ बुँदे ज्ञापनपत्र पनि त्यसैको लागि हो र ? सांस्कृतिक राष्ट्रियता र राजाबिच सम्बन्धविच्छेद नभएकाले हाम्रोमा यसको अभियानमाथि उठ्न सकिरहेको छैन । सांस्कृतिक राष्ट्रियताको पक्षमा जनमत बलियो छ, तर राजसंस्थाको पक्षमा कमजोर छ । ओलीजीले पनि राजसंस्थाबाहेक सांस्कृतिक राष्ट्रियताको पक्षमा आफूलाई प्रकट गर्दै आउनुभएको हो ।

त्यसैले जलहरीदेखि रामनामी ओढ्दै आउनुभएको छ । सांस्कृतिक  राष्ट्रियताको पुनर्जागरणको वातावरण सिर्जना भएको छ । तर यसले स्वरुप ग्रहण गर्न सकेको छैन।

के हो सांस्कृतिक राष्ट्रियता भनेको ?

–यो  कुनै व्यवस्था होइन, मान्यता हो। किराँतले आफूलाई हिन्दु होइन भन्छन् । त्यो रहन दिनुपर्छ । उनीहरूको त्यो मान्यता माथि अतिक्रमण हुनुहुँदैन । नेपालमा हिन्दु, बौद्ध, किराँत र इस्लाम चार सांस्कृतिक मान्यता रहँदै आएका छन् । जो नेपाली भूगोलभन्दा पहिलेका हुन् । पछि शिख र  क्रिश्चियनहरु थपिए । 

पहिलेका यी चार मान्यता परम्परागत भएकोले यिनीहरूमाथि अतिक्रमण गर्न पाइँदैन । सांस्कृतिक अतिक्रमण रोक्नुपर्छ । सांस्कृतिक राष्ट्रियतालाई स्वीकार गर्नुपर्छ । नेपालमा कुनै बेला मच्छिन्द्रनाथको भोटो वा कुमारीको दर्शन गर्नका लागि यहाँका राष्ट्रपति मुसलमान वा क्रिश्चियन भयो भने जाला कि नजालारु त्यसको ग्यारेन्टी चाहिन्छ । किनकि हरेक राज्य सांस्कृतिक इकाई हो ।

अन्तर्वार्ता भिडियो- 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप