आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
त्रिभुवन विश्वविद्यालय

के प्रधानमन्त्रीले त्रिविको उपकुलपतिमा आवेदनकर्ता बाहेकका व्यक्ति ल्याउन खोजेका हुन् ?

सोमबार, १५ माघ २०८०, १४ : ३२
सोमबार, १५ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लगि ४३ जनाको आवेदन परेको छ । सर्ट कमिटीले गरेको खुला आह्वानपछि २ जना महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।

राजनीतिक भागबण्डाका कारण त्रिवि धराशायी बन्दै गइरहेको आरोप लागिरहेका बेला सरकारले खुला प्रतिस्पर्धाबाट भीसी नियुक्त गर्न लागेको हो ।

आवेदन दिने ४३ जना राजनीतिक रूपमा विशुद्ध भने छैनन् । कुनै न कुनै समय नियुक्ति लिएका तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाटै आवेदन परेको भन्दै उनीहरूबाट त्रिवि हाँक्न कठिन हुने आकलन भइरहेको छ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविमा जसरी पनि सक्षम व्यक्ति आउनुपर्ने अडान लिइरहेका छन् । त्यसका लागि उनले शिक्षाविद्हरूसँग समेत परामर्श गरेका छन् । शिक्षाविद् प्राडा केदारभक्त माथेमा, प्राडा विद्यानाथ कोइराला, प्राडा चैतन्य मिश्र, डा. पीताम्बर शर्मा र प्रा कृष्ण खनाललाई प्रधानमन्त्रीले बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलको क्रममा विश्वविद्यालयमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए ।

शिक्षाविदहरूले त्रिवि सुधारका लागि विभिन्न विषय औँल्याएका थिए । जसमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था हटाउनुपर्ने, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने लगायतका विषय उनीहरूले राखेका थिए । त्यस्तै उनीहरूले अहिलेका आवेदनकर्ताहरूबाट विश्वविद्यालय सुधार नहुने भन्दै त्यसका लागि विकल्प खोज्नुपर्ने समेत बताएका थिए ।

छलफलको क्रममा प्राध्यापक कृष्ण खनालले दरखास्त हालेर उपकुलपति बनाउने सिस्टम कसरी ल्याएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । ‘उपकुलपति खोज्न सर्च कमिटी किन बनाएको ? लोक सेवा आयोगलाई जिम्मा किन नलगाएको ?’ जस्ता प्रश्न उनले गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘म बाहिरको मान्छे खोज्न पनि तयार छु’ भनेका थिए ।

tu chalphal

प्रधानमन्त्रीको चाहना विश्वविद्यालयमा योग्य नेतृत्व आउनुपर्ने र सुधार गर्न सक्ने व्यक्ति आउनुपर्छ भन्ने नै छ । त्यसका लागि उनले आवेदन दिएका ४३ जना बाहेकका अन्य व्यक्तिलाई समेत भीसी बनाउन सकिने शिक्षाविद्हरूसमक्ष बताएका थिए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने बाहिरको व्यक्तिलाई भीसी बनाउँदा आवेदन दिएकाहरू ४३ जनाले सर्वोच्चमा मुद्दा हाल्ने र स्टे अर्डर लिएर आउन सक्ने बताए । ‘बाहिरको मान्छे खोज्यो भने त्यो ४३ जनाले नै सर्वोच्चमा दरखास्त हाल्छन् । सर्वोच्चले स्टे अर्डर जारी गर्छ । दरखास्त हालेर भीसी खाने कुरा होइन । हामी पहिला नै चुकिसकेका छौँ । पहिला नै योग्य व्यक्ति खोज्नुपर्नेमा सर्ट कमिटी बनाएर दरखास्त आह्वान गराएर बिग्रियो,’ कोइरालाले भने ।

प्राडा केदारभक्त माथेमाले त्रिविमा योग्य व्यक्ति आउनुपर्छ भन्ने चाहना प्रधानमन्त्रीको रहेको बताए । विश्वविद्यालय साह्रै बिग्रिएबारे सरकार अनभिज्ञ छैन । बिग्रिएको विश्वविद्यालय सुधारका लागि प्रधानमन्त्री नै सक्रिय देखिएको उनको भनाइ छ ।

‘उहाँमा अहिले विश्वविद्यालय सुधार गर्छु भन्ने हुटहुटी देखियो । आवेदनकर्ताबाहेक बाहिर योग्य व्यक्ति छ भने त्यसका लागि पनि तयार देखिनुभएको छ,’ माथेमाले भने ।

अहिले दरखास्त दिएकाहरूबाट विश्वविद्यालय चल्छ कि चल्दैन भन्ने प्रश्नमा शिक्षाविद् प्राडा कोइरालाले भने, ‘एकथरी मानिसहरू पहिला नै परीक्षित भइसकेकाहरूको जमात छ । त्यस्तो व्यक्तिबाट विश्वविद्यालय कसरी चल्छ होला ? दोस्रो भनेको विभिन्न राजनीतिक दलमा आबद्ध भएका व्यक्तिहरू पनि देखिएका छन् ।’

अब प्रधानमन्त्रीले बाहिरबाट ल्याउँछु भनेर चाहे पनि ल्याउन नसक्ने शिक्षाविद् कोइरालाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप