आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

राष्ट्रियसभाका नवनिर्वाचित सांसद : काठमाडौँमा डेराको चिन्तादेखि खेतीपाती बिग्रने डरसम्म !

बुधबार, १७ माघ २०८०, १९ : १२
बुधबार, १७ माघ २०८०

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अधिकांश सदस्यहरु अचेल बधाई थाप्न र मतदातासहित समर्थक, शुभचिन्तकहरुलाई धन्यवाद दिन व्यस्त छन् । बधाई र शुभकामनाको क्रम सकेर उनीहरुको यात्रा काठमाडौँका लागि सोझिने छ । कतिपय भने अहिले नै काठमाडौँ आइसकेका छन् । कतिपय घर गृहस्थी र खेतीपातीको व्यवस्थापन गरेर फागुन दोस्रो साताभित्र काठमाडौँ आउने तयारीमा छन् ।

संघीय संसदमा पहिलो पटक प्रतिनिधित्व गर्न लागेकाहरुलाई प्रभावकारी भूमिका र जिम्मेवारी निर्वाह गर्ने चिन्ता पनि छ । धेरैजसो नवनिर्वाचित सांसदहरु संसदीय अभ्यासका लागि नयाँ भएकाले उनीहरुलाई त्यसबारे अभ्यस्त हुन केही समय लाग्ने छ । त्यसैले उनीहरुले राष्ट्रियसभाको महत्त्व, आवश्यकता र औचित्यबारे स्वअध्यनलाई पनि समय दिइरहेका छन् ।

यसअघि जिल्ला, प्रदेशस्तरमै राजनीति केन्द्रित गर्दै आएका कतिपयलाई काठमाडौँ आएपछि कहाँ बस्ने, कसरी बस्ने, डेरा कहाँ खोज्ने भन्ने चिन्ताले समेत सताएको छ ।

माघ ११ गते सातै प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचित भएकाहरुले आगामी फागुन २१ गते शपथ ग्रहण गरेपछि उनीहरुको संसद यात्रा औपचारिक रुपमा सुरु हुन्छ । तीमध्ये केही नयाँ अनुहारसँग उनीहरुको पछिल्ला दिनचर्या र आगामी योजनाबारे रातोपाटीले जिज्ञासा राखेको थियो ।

यस क्रममा कोशी प्रदेशबाट महिला कोटामा निर्वाचित नेकपा एमालेकी रुक्मिणी कोइराला पछिल्ला दिनमा बधाई थाप्न भ्याइ–नभ्याई भएको बताउँछिन् । ‘काठमाडौँ आउने भएपछि कान्छा छोराबुहारीलाई घरव्यवहार र खेतीपाती जिम्मा लगाउने साँच बनाएकी छु’, कोइरालाले रातोपाटीसँग भनिन्, ‘बारीमा थोरै भए पनि तोरी छरेको छ । त्यो छोराबुहारीलाई उठाउन भनेकी छु ।’

उनले काठमाडौँ आएपछि पहिला पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने बताइन् । ‘अध्यक्षलाई भेटेर पहिला धन्यवाद दिन्छु । डेरा पनि खोज्नुपर्नेछ । त्यसको पनि चाँजोपाँजो मिलाउनैपर्यो । चिनेजानेकालाई भनेर डेरा खोज्नुपर्ला भन्दैछु’, उनले भनिन् ।

राष्ट्रियसभामा गएपछि आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीका बारेमा समेत अध्ययन गरिरहेको उनले सुनाइन् ।

सुदूरपश्चिमबाट निर्वाचित रेणु चन्द भने काठमाडौँ आइसकेकी छन् । माओवादी केन्द्रबाट निर्वाचित चन्दलाई भने काठमाडौँमा डेरा खोज्नुपर्ने समस्या छैन । उनले काठमाडौँमा आफ्नै घर भएकाले त्यो समस्या झेल्नुपर्ने अवस्था नरहेको बताइन् ।

‘मेरो बस्ने घर काठमाडौँमा छ । त्यसैले डेरा खोज्नुपर्ने झन्झट छैन’, चन्दले रातोपाटीसँग टेलिफोनमा भनिन्, ‘म मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुलाई धन्यवाद दिएर काठमाडौँ आइसकेकी छु ।’

उनले राष्ट्रियसभाले के कसरी काम गरिरहेको छ भन्ने बुझिरहेको बताइन् । ‘राष्ट्रियसभा निर्वाचन भइरहँदा सञ्चारमाध्यमहरुले यसको औचित्यमा समेत प्रश्न चिह्न खडा गरेका थिए । त्यसबारे पनि वास्तविकता के हो भनेर अध्ययन गर्ने क्रम चलिरहेको छ’, उनले भनिन्, ‘त्यसबाहेक अग्रजहरुको सल्लाह र सुझाव लिने काम पनि गर्छु ।’

अर्का नवनिर्वाचित सांसद हुन् नुवाकोटका श्रीकृष्ण अधिकारी । नेकपा माओवादी केन्द्रका उनी पार्टी काममा पनि सक्रिय रहेकाले अस्थायी रुपमा काठमाडौँमै बस्छन् । उनी पनि बधाई तथा शुभकामना थाप्नुका साथै राष्ट्रियसभा सदस्यको काम, कर्तव्य र अधिकारबारे अध्ययन गरिरहेका छन् ।

‘निर्वाचित भइसकेपछि सामान्य भेटघाटको प्रक्रिया त हुने नै भयो । त्यस अलावा पार्टी सम्पर्क समन्वय कमिटीको अध्यक्ष पनि भएकाले सांगठनिक कामलाई पनि समय दिँदै आएको छु’, बुधबार रातोपाटीसँगको कुराकानीमा अधिकारीले भने, ‘अहिले अस्थायी रुपमा बुढानीलकण्ठस्थित तेन्जिङ चोकमा अस्थायी बसोबास गरिरहेको छु ।’

उनले केही समय त्यहीँ बस्ने र अलि पछि नयाँबानेश्वर आसपास डेरा सर्ने तयारी गरेको पनि बताए ।

कर्णालीका विष्णु विकलाई भने काठमाडौँमा डेरा खोज्नुपर्ने चिन्ता छ । ‘निर्वाचित भएपछि काठमाडौँमा बस्नुपर्ने हुन्छ । काठमाडौँमा मेरो घर नभएकाले बस्नका लागि डेरा खोज्नुछ’, विकले भने, ‘एकदुई दिन त होटलतिर बस्नुपर्ला, त्यसपछि डेरा खोजेर बस्ने विचार गरेको छु ।’

उनले अबको धेरै समय काठमाडौँमै बस्नुपर्ने भएकाले जिल्लाको खेतीपाती र घरव्यवहार समेत मिलाउनुपर्ने उनले बताए । त्यसको व्यवस्थापनका लागि आन्तरिक छलफल गरिरहेको उनको भनाइ छ ।

कर्णालीबाट राष्ट्रियसभामा निर्वाचित कृष्णबहादुर रोकायालाई निर्वाचित भएसँगै जिम्मेवारी थपिएको महसुस भएको छ । ‘माघ २० गतेसम्म जिल्लाका कार्यक्रम सकेर फागुन २/३ गतेतिर काठमाडौँ जान्छु’, उनले भने,  ‘काठमाडौँ गएपछि त्यहाँ कसरी बस्ने ? कसरी डेरा व्यवस्थापन गर्ने भनेर पनि सोच्नुपर्ने छ, त्यो काम काठमाडौँ गएरै व्यवस्थापन गर्छु ।’

त्यसबाहेक राष्ट्रियसभाको गरिमालाई कसरी कायम राख्न सकिन्छ र कसरी काम गर्नुपर्ने हो भनेर पनि अध्ययन गरिरहेको उनले सुनाए ।

अपाङ्गता क्लस्टर अन्तर्गत गण्डकीबाट निर्वाचित सांसद पदम परियार पनि अहिले जिल्लातिरै शुभकामना आदान प्रदानको अलावा संसदीय अभ्यासमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सोधखोज गर्दैछन् ।

‘संसदीय अभ्यासमा म नयाँ हो । आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गर्न अग्रजसँग छलफल, सल्लाह र सुझाव लिने काम गरिरहेको छु’, उनले भने, ‘केही दिनपछि काठमाडौँ आएर यसबारे अध्ययनका साथै अग्रजसँग थप छलफल गर्छु ।’

उनले आफू पहिला पनि काठमाडौँमै बस्ने गरेकाले अब पनि आएर बस्न कुनै समस्या नरहेको बताए । ‘म पहिला पनि सानोतिनो जागिर गर्थें, काठमाडौँमा बस्न खासै समस्या छैन’, उनले भने, ‘अबको मेरो ध्यान संसदीय अभ्यासमा आफूलाई खरो उतार्ने र मेरो क्षेत्रसँग सम्बन्धित मुद्दालाई कसरी सदनमा मुखरित गर्ने भन्नेमा केन्द्रित गरेको छु ।’

नवनिर्वाचित अर्की सांसद सावित्री मल्ल निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठकमा सहभागी हुन काठमाडौँ आइन् । उनलाई पनि काठमाडौँमा बस्ने डेरा कहाँ खोज्ने भन्ने चिन्ता छ । ‘दैलेखबाट काठमाडौँको राष्ट्रियसभा बैठक भ्याउन सकिँदैन’, उनले रातोपाटीसँग भनिन्, ‘काठमाडौँमा मेरो घरघडेरी छैन । तर पनि शपथ खाइसकेपछि काठमाडौँमै धेरै बस्नुपर्ने हुन्छ । त्यसका लागि डेरा खोज्न चिनेजनेकालाई भनेकी छु ।’

आफ्नो दिनचर्या र तयारीबारे राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको भनाइ उनीहरुकै शब्दमा:

घरव्यवहार छोराबुहारीलाई सुम्पिन्छु : रुक्मिणी कोइराला, कोशी

rukmani koirala

अहिले त विभिन्न संघसंस्था, पार्टी कमिटीका बधाई, शुभकामना र धन्यवादको क्रम चलिरहेको छ । विश्वास गरेर जिताउने र मत दिनेहरुलाई धन्यवाद दिनै प¥यो । काठमाडौँमा मेरो घर छैन । काठमाडाँै गएपछि डेरा खोज्नुपर्ला भन्ने सोचेको छु । फागुन १० तिर काठमाडौँ जान्छु । काठमाडौँ जाने भएपछि कान्छा छोराबुहारीलाई घरव्यवहार र खेतीपाती जिम्मा लगाउने सोच बनाएकी छु । बारीमा थोरै तोरी छरेको छ । त्यो पनि छोराबुहारीलाई समयमै उठाउन भनेकी छु । काठमाडौँ आएपछि पहिला अध्यक्ष केपी शर्मा ओलीलाई भेट्छु र धन्यवाद पनि दिन्छु । राष्ट्रियसभामा गएपछि के गर्ने, कसरी गर्ने भनेर पनि अध्ययन गर्दैछु । यत्रो जिम्मेवारी पाएपछि घरमा तोरी हेरेर बसेर पनि भएन । म अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत भएकाले पार्टीका केही जिम्मेवारी पनि पूरा गर्नुपर्ने हुन्छ । त्यसको समेत व्यवस्थापन कसरी मिलाउने भनेर सोच्दैछु ।

धन्यवाद दिएर काठमाडौँ आएँ : रेणु चन्द, सुदूरपश्चिम

renu chanda

निर्वाचित भएपछि मतदाता लगायत सबैलाई धन्यवाद दिएँ । कसैलाई भेटेर, कसैलाई एसएमएसमार्फत र कसैलाई फोन गरेर धन्यवाद दिने काम भयो । त्यसपछि भर्खर काठमाडौँ आएँ । अब राष्ट्रियसभाको काम, कर्तव्य र अधिकारबारे विभिन्न संघसंस्थाले निकालेको रिपोर्टहरु अध्ययन गर्ने काम थाल्ने योजना छ । त्यसक्रममा राष्ट्रियसभाले के कसरी काम गरिरहेको छ भन्ने पनि बुझ्नुपर्ने हुन्छ । राष्ट्रियसभा निर्वाचन भइरहँदा सञ्चारमाध्यमहरुले यसको औचित्यमा समेत प्रश्न चिह्न खडा गरेका थिए । त्यसबारे पनि वास्तविकता के हो भनेर अध्ययन गर्ने क्रम चलिरहेको छ । मेरो घर काठमाडौँमै छ । डेरा खोज्नु पर्दैन । यद्यपि मेरो कार्यक्षेत्र सुदूरपश्चिम नै हो । बैतडीमा घर, खेतीपाती छ । यसअघि म चार महिने अभियानमा जिल्लामै थिएँ । अभियान सकिएपछि काठमाडौँ आएको थिएँ ।

डेरा सर्ने योजनामा छु : श्रीकृष्ण अधिकारी, बागमती

shreekrishna adhikari

निर्वाचित भइसकेपछि सामान्य भेटघाटको प्रक्रिया त हुने नै भयो । त्यस अलावा पार्टीमा सम्पर्क समन्वय कमिटीको अध्यक्ष पनि भएकाले सांगठनिक कामलाई पनि समय दिनैप¥यो । त्यसैले भेटघाट, छलफल पनि भइरहेको छ । काठमाडौँको बुढानीलकण्ठ, कपनस्थित तेन्जिङ चोकमा अस्थायी बसोबास छ । केही समय त्यहीँ बस्ने र अलि पछि सर्ने योजना छ । राष्ट्रियसभा सदस्यको पदवहाली गरेपछि गर्नुपर्ने काम र संसदमा कसरी प्रस्तुत हुने भनेर सामान्य नियमावलीहरुको पनि अध्ययनको क्रम चलेको छ ।

केही दिन होटलमा बस्नुपर्ला : विष्णु विक (विकल्प), कर्णाली

bishnu bk

माघ ११ पछि अहिलेसम्म सम्मान र बधाई खाने क्रम चलिरहेको छ । विभिन्न संघसंस्था, शुभेच्छुक र शुभचिन्तकसहित आफन्तहरुले सम्मान र बधाईका लागि गरेको आग्रह अस्वीकार गर्ने कुरा पनि भएन । यो क्रम चलिरहेको छ । यो सकेपछि हाम्रो पार्टीको फागुन १ बाट विधान सम्मेलन हुन लागेको छ, त्यसको तयारी र छलफल पनि जिल्लामा भइरहेको छ । त्यसमा पनि समय दिइरहेको छु । केही दिन यही विधान सम्मेलनमा केन्द्रित रहेर जिल्लामा समय दिएर माघ अन्तिमतिर काठमाडौँ आउँछु । काठमाडौँ आएपछि राष्ट्रियसभामा बोल्नुपर्ने र गर्नुुपर्ने तयारी पनि सुरु गर्छु । त्यसका लागि आवश्यक डकुमेन्ट खोज्ने र अनुभवप्राप्त साथीहरुसँग बसेर छलफल गर्ने, उहाँहरुको सुझाव लिने काम पनि गर्छु । काठमाडौँमा मेरो घर नभएकाले डेरा पनि खोज्नुपर्ने छ । काठमाडौँ आएको एकदुई दिन त होटलतिर बस्नुपर्ला, त्यसपछि डेरा खोजेर बस्ने विचार गरेको छु । अबको समय धेरै समय काठमाडौँ मै बस्नुपर्ने हुनसक्ने भएकाले यहाँको खेतीपाती र घरव्यवहार पनि मिलाउनुपर्ने हुन्छ । त्यसको व्यवस्थापनका लागि पनि आन्तरिक छलफल गरिरहेको छु ।

डेरा व्यवस्थापनबारे सोच्दैछु : कृष्णबहादुर रोकाया, कर्णाली

krishna rokaya

मतदाता शुभचिन्तकहरुलाई धन्यवाद र बधाई तथा शुभकामना लिने काम भयो । अहिलेसम्म पाँचसात ठाउँमा आफैँ पुगेर शुभकामना आदानप्रदान भयो । अब राष्ट्रियसभामा गइसकेपछि त्यसको गरिमा कसरी बचाउने र भूमिका निर्वाह गर्ने भन्ने मेरो दायित्व छ । त्यसपछि कर्णालीको विकास निर्माणमा पनि के कति गर्न सकिन्छ भनेर सोचिरहेको छु । पछिल्लो समय मैले खेतीपाती गर्न छाडेको छु । जिल्लामा कार्यक्रम सकेर फागुन २/३ तिर काठमाडौँ जान्छु । काठमाडौँ गएपछि त्यहाँ कसरी बस्ने, कसरी डेरा व्यवस्थापन गर्ने भनेर पनि सोच्नुपर्ने छ । त्यो काम काठमाडौँ गएरै व्यवस्थापन गर्छु ।

संसदीय प्रक्रिया सिक्न खोज्दैछु : पदम परियार, गण्डकी

padam-pariyar

अहिले त म निर्वाचनको व्यवस्थापनतर्फ नै केन्द्रित भइरहेको छु । निर्वाचन खर्चदेखि आचारसंहिता अनुसारका केही गर्नुपर्ने काम र मतदाताहरुलाई धन्यवाद पनि दिनुपर्नेछ । तत्कालका लागि यो काम मेरो प्राथमिकतामा छन् । अर्को कुरा, संसदीय प्रक्रियाबारे म नयाँ नै हुँ । अग्रज र राजनीतिज्ञहरुसँग सिक्ने, अध्ययन गर्ने र प्रशासनिक कुरा पनि सिक्दैछु । केही दिनपछि काठमाडौँ आउने तयारीमा छु ।

चिनेजानेकालाई कोठा खोजिदिन भनेकी छु : सावित्री मल्ल, कर्णाली

sabitri malla

मेरो घर दैलेख हो । तर अहिले म काठमाडौँमै छु । एकीकृत समाजवादीको कार्यकर्ताको हैसियतले माघ १४ र १५ मा काठमाडौँमा भएको केन्द्रीय परिषद बैठकमा सहभागी हुन काठमाडौँ आएको हुँ । यसैक्रममा सम्मान र बधाई कार्यक्रमका साथै बिरामी नेता भेट्ने काम पनि भइरहेको छ । बालकुमारी घटनाका पीडित परिवारहरुसँग पनि छलफल गर्दैछु । शपथ खाइसकेपछि काठमाडौँमै बस्नुपर्ने हुन्छ, त्यसका लागि काठमाडौँमा डेरा पनि खोज्नुपर्ने छ । चिनेजानेकालाई यसो कोठा खोजिदिनु भनेकी छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप