बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

राजावादीहरू गण्डकीमा सुरक्षा थ्रेट हुन् : गृहमन्त्री श्रेष्ठ

शनिबार, २० माघ २०८०, १५ : ०५
शनिबार, २० माघ २०८०

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको बताएका छन् । पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राजावादी अभियानका कारण चुनौती बढेको बताए । 

‘समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्,’ उनले भने, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् । तत्कालका लागि भन्दा खेरी संविधान नमान्नेहरूका कारण चुनौती छ । संविधान उल्लङ्घन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, धार्मिक राज्य बनाउँछु भन्नेहरूले चुनौती थपेका छन् ।’

उनले सहकारी पीडित र मिटरब्याज पीडितका अभियानहरू पनि चुनौतीको रूपमा रहेको सुनाए । श्रेष्ठले भ्रष्टाचार देशको प्रमुख शत्रु भएकाले सरकार भ्रष्टाचार अन्त्य गर्न जिम्मेवार भएर लाग्ने बताए । उनले भ्रष्टाचार माथिल्लो तहमा रहेको पनि स्वीकारे । ‘माथिल्लै तहमा भ्रष्टाचार छ । पहुँच भएका वर्ग, राजनीतिक नेता र कर्मचारी नै संलग्न छन्,’ उनी भन्छन्, ‘एकातिर सुशासनको माग गर्ने अर्कोतिर कारबाही गर्न नदिने । अब कसलाई कारबाही गर्ने त ?’

राज्यलाई लुटेको टुलुटुलु हेरेर नबस्ने श्रेष्ठको दाबी छ । सङ्क्रमणकालीन न्याय यही संसदबाट टुङ्गोमा पुर्‍याउने उनले सुनाए । ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग  गठन गर्छौँ । शान्ति प्रक्रियालाई पूर्णता दिने पक्षमा सरकार छ,’ उनले भने, ‘सबै दलसँगको समझदारीमा यो टुङ्गोमा पुग्छ ।’ 

उनले प्रहरी समायोजनको विषय प्रक्रियामा रहेको बताए । २४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समायोजनका लागि समिति गठन गर्ने गृहमन्त्री श्रेष्ठले बताए । ‘२४ गते समिति गठन हुन्छ । समितिले अध्ययन सहित समायोजन कार्य तालिका दिन्छ,’ उनले भने, ‘कार्य योजनाका आधारमा काम हुन्छ ।’ प्रहरी, सशस्त्र प्रहरी र समायोजन सम्बन्धी विधेयक आगामी संसदमा पेश गर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप