आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, चालु खाता १६१ अर्ब ६२ करोडले बचतमा

मङ्गलबार, २३ माघ २०८०, १३ : ०८
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार सो अवधिमा रेमिट्यान्स रु.७३३ अर्ब २२ करोड पुगेको बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ । 
 अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

 समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ ।  यसैबीच  समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६२ करोडले बचतमा रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई रु.३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप