‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
काठमाडौँ । साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । नेपालको वामपन्थी राजनीतिक वृत्तमा पुष्पलाल एक ऐतिहासिक पात्र मात्र होइनन्, उनी एक यस्तो दर्शन हुन्, जसले नेपाली समाजको वस्तुगत अवस्थाको विश्लेषण गर्दै क्रान्तिको मार्ग कोरेका थिए ।
यस वर्षको स्मृति दिवसको सन्दर्भमा रातोपाटी विभिन्न नेताहरुसँग कुराकानी गर्दा पुष्पलाललाई इतिहासको मार्गदर्शक र प्रेरणाका रुपमा सम्झिए । पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनका ‘भीष्म पितामह’का रुपमा अधिकांश नेताहरुले स्मरण गरे ।
एमाले नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल पुष्पलालले तत्कालीन राणा र शाह शासनको जर्जर अवस्थालाई चिर्दै जुन कम्युनिस्ट आन्दोलनको बिउ रोपेको बताउँछन् । ‘त्यो नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार हो । पुष्पलाल एउटा यस्तो स्वप्नद्रष्टा हुनुहुन्थ्यो, जसले समाजवाद हुँदै साम्यवादसम्म पुग्ने बाटो देखाउनुभयो,’ उनी भन्छन् ।
अर्का एमाले नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितका लागि पुष्पलाल ‘संकटमा नडग्मगाउने नेता’ हुन् । ‘उहाँ विचारमा स्पष्ट र व्यवहारमा दृढ हुनुहुन्थ्यो । संकटसँग सामना गर्ने उहाँको सामर्थ्यले नै हामीलाई आज पनि कठिन परिस्थितिमा बाटो देखाउँछ,’ उनी भन्छन् ।
पुष्पलालले सिद्धान्तलाई सर्वोपरी ठानेको तथ्यलाई धेरै नेताले जोड दिए । एमाले नेता ठाकुर गैरेले पुष्पलालको वैचारिक धारबारे प्रकाश पार्दै भने, ‘पुष्पलालले कम्युनिस्ट पार्टी विचार प्रधान हुनुपर्छ भन्नुभएको थियो । उहाँले संगठनलाई जनताको एजेन्डा बोक्ने औजारका रूपमा विकास गर्नुभयो ।’ आजका कम्युनिस्टहरुले आफ्नो बाटो बिराउँदा पुष्पलालका विचार नै दिशाबोध गर्ने कम्पास भएको उनको बुझाइ छ । राजतन्त्रको अन्त्य र जनवादी क्रान्ति सम्पन्न गर्न बोल्ड, साहसी योद्धाको रुपमा उनले पुष्पलाललाई स्मरण गरे । ‘पुष्पलाल जत्तिको दूरदर्शी, स्वप्नद्रष्टा र नेपाली क्रान्तिको हितको लागि खट्ने मार्क्सवादी बिरलै हुनुहुन्छ भन्ने लाग्छ,’ गैरे भन्छन्, ‘उहाँको उत्तराधिकारीको रुपमा जननेता मदन भण्डारी स्थापित हुनुभयो ।’
पुष्पलालले उठाएको संयुक्त आन्दोलनको नीति नै आजको विभाजित वामपन्थी एकताका लागि एकमात्र विकल्प रहेको भएका नेताहरुले टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसमा कम्युनिस्ट एकताको चर्चा चल्यो । अहिले कम्युनिस्टहरुबीच देखिएको मतभेद र विभाजन पुष्पलालको विचारविपरीत भएको नेता ठाकुर गैरे, शर्मिला कार्की र दीपक निरौला सहमत देखिए । ‘हामीले उहाँका रचना र सिद्धान्त पढेका छौँ । तर उहाँको त्याग र बलिदानको भावनालाई हामीले कत्तिको व्यवहारमा उतार्न सकेका छौँ ?’ एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रहेकी शर्मिला कार्की भन्छिन्, ‘यो नै आजको ठुलो प्रश्न हो ।’ जनताको सेवामा समर्पित हुन र व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न उनले सबैलाई अपिल गरिन् ।
अखिल नेपाल महिला संघको स्थायी कमिटीको सदस्य तथा महिला नेतृ लक्ष्मी कार्कीले पुष्पलाललाई नि:स्वार्थ र त्यागपूर्ण व्यक्तित्वको रूपमा स्मरण गरिन् । ‘पुष्पलालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको न्याय र समानताको लागि लड्न सिकाउनुभयो । उहाँका लेख र रचनाहरू पढ्दा जहिले पनि नयाँ ऊर्जा मिल्छ,’ उनी भन्छिन् ।
पुष्पलाल जस्तो नेताको अभाव आज नेपाली राजनीतिमा खड्किएको धेरै नेता तथा कार्यकर्ताले महसुस गरेका छन् । आजको राजनीतिमा नेताहरु ‘पद र सत्ता’तर्फ केन्द्रित हुँदा पुष्पलालले देखेको समतामूलक समाजको सपना ओझेलमा परेको मीनबहादुर शाहीले टिप्पणी गरे ।
पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन् उनी नेपाली राजनीतिमा ‘चेतनाको दियो’ बनेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले बताए । विभाजित कम्युनिस्ट पार्टीहरुले आफ्नो वैचारिक धरातल पहिचान गरी जनताको चाहना र भावनालाई सम्बोधन गर्न एकताबद्ध’ हुन उनले अपिल गरे । नेकपा एमाले काठमाडौँको अध्यक्ष दीपक निरौलाले कम्युनिस्ट एकताको सम्भावना अझै पनि जीवित रहेको तर नेताहरुले विगतमा गरेका कमजोरी स्वीकार्नुपर्ने बताए ।
नेपालमा कम्युनिस्ट पार्टीहरु फरक–फरक हुनुको कारण विचारमा थोरै, तर व्यवहारमा नेताहरुको झगडा बढी भएको कारण धेरै पार्टी बनेको पूर्व मन्त्री लालबाबु पण्डित बताउँछन् । एकता, सहकार्य र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन निरन्तर प्रयास भएको उनले बताए । पुनः एकता गरेर कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन सकिने उनी बताउँछन् । ‘केही नेतृत्वको कारण तुरुन्तै आफूले सोचेकै बेलामा, चाहेकै बेलामा पार्टी एक हुन सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘अहिले सहकार्य गरेर जानु सबैभन्दा उपयुक्त बाटो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण