सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘कुसुमको धोकाले रियलमै आँसु झर्‍यो’

यो वर्ष त विवाह गर्नुपर्छ जस्तो लागेको छ : युवराज चौलागाई
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक हुन् युवराज चौलागाई । पार्श्व गायनमा धेरैको रोजाइमा पर्ने यी गायक रोमान्टिकदेखि सेन्टिमेन्टल गीतमा उत्तिकै चर्चित छन् ।

फिल्म ‘नोभेम्बर रेन’को ‘तिमीलाई के भनौँ’, ‘हवल्दार सुन्तली’को ‘तिम्रा डोला डोला हातमा’, ‘छ एकान छ’को ‘छ एकान छ’, ‘क्लासिक’को ‘हारे हो’ र ‘कान्छी’को ‘यो मन रमाउँदै’ लगायत उनको स्वरमा थुप्रै फिल्मी गीत हिट छन् । उनी आफैँले निकालेको हिट गीत ‘लैजा चरी’, ‘साँझ पख’, ‘हरेक शब्द’ ‘तिम्रो माया पाउनलाई धेरै कुरा गुमाएँ’ लगायत छन् ।

फिल्म र आधुनिक गरेर ५ सयभन्दा बढी गीतमा स्वर भरेका चौलागाईको भर्खर नयाँ गीत ‘नझुक्याउ’ आएको छ । सुगम सङ्गीतमा आधारित आधुनिक शैलीको यो गीतको भिडियोमा पनि उनी आफैँले अभिनय गरेका छन् । भिडियोमा मोडल कुसुम शर्मासँग उनको जोडी देख्न सकिन्छ ।

कुसुम शर्मा प्रकाश सपुतको गीत ‘साकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् । गीत ‘नझुक्याउ’ र साङ्गीतिक क्षेत्रमा केन्द्रित रहेर गायक युवराजसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • अहिले तपाईंंको व्यस्तता केमा छ ?

– गीत सङ्गीतमै व्यस्त छु । भर्खर नयाँ गीत ‘नझुक्याउ’ पनि ल्याएको छु । त्यसको प्रचारप्रसार र प्रतिक्रिया समेत लिइरहेको छु । पार्श्व गायन, मेलामहोत्सव पनि नियमित छ ।

yubaraj chaulagain (2)

  • गीतको बोल नै ‘नझुक्याउ’ छ, धेरैले झुक्याए कि के हो ?

–अहिले समग्रमा भन्नुपर्दा धेरैको झुक्क्याउने, छल्ने, ढाँट्ने परिपाटी देखिएको छ । समाजमा भएको त्यो विषयमा पनि केही सन्देश दिनुपर्छ र बाहिर पनि ल्याउनुपर्छ भन्ने हेतुले यो गीत बनेको हो । यो गीतको विषयमा मभन्दा धेरै यसका गीतकार दीपिका रिमाल थापाले भन्न सक्नुहुन्छ ।

  • गीतको शब्दले समाजको प्रतिनिधित्व गरेको भन्नुभयो, भिडियोमा एउटी प्रेमिकाले प्रेमीलाई दिएको धोकामात्र छ नि ?

–भिडियोमा सबै विषय एकसाथ राख्न नसकिने रहेछ । धोकाको प्रतिनिधित्वको रूपमा भिडियोमा प्रेमी–प्रेमिकाको कथा समेटिएको छ । त्यसले पनि गीतको मर्म बुझाएको छ । गीतको विषयमा जति पनि सङ्गीतकर्मी, दर्शक र श्रोता सबैले राम्रो प्रतिक्रिया दिनु भएको छ । त्यसबाट म सन्तुष्ट छु । यो निस्कने बित्तिकै भाइरल हुने गीत होइन, तर यो लामो समयसम्म सुनिनेछ, चल्नेछ भन्नेमा म विश्वस्त छु ।

  • गीत सङ्गीतको लगानी उठ्दैन भन्ने गरिन्छ, तै पनि लगातार नयाँ गीत किन ल्याउनु हुन्छ ?

–गीत संगीतमा लामो समय बिताइयो । अबको दिन पनि यसैमा लाग्ने हो । ममा भएको भगवान्को वरदान भनेको गाउने कला हो । यो उपयोग गरेर समाजमा केही योगदान गर्नुपर्छ भन्ने लाग्छ । अहिलेको म्युजिक क्षेत्र लथालिङ्ग अवस्थामा छ । राम्रो गीत नचलेका पनि छन् । निरन्तरता दिनुपर्छ । सङ्गीतको राम्रो दिन अवश्य फर्किन्छ ।

yubaraj chaulagain (3)

  • तपाईं आफ्नो गाउने कलालाई भगवान्को वरदान भन्नुहुन्छ तर गायनले नपुगेर अभिनय पनि गर्दै आउनु भएको छ नि ?

–अहिले अभिनय गर्नुपर्ने बाध्यता छ । किनभने स्वर र गीत चिनिन्छ, मानिस चिनिँदैन । सबैले आफ्नो गीतको भिडियोमा आफैँले अभिनय गर्नु राम्रो हुन्छ र चिनिन्छ पनि भनेर सुझाव दिनुभयो । त्यसैले पनि अभिनय गर्न थालेको हो । मैले पार्श्व गायनमा धेरै गीत गाएँ, स्वर सबैले चिने । तर म चिनिइनँ । नचिनेको कारणले पनि फरक पर्दो रहेछ भनेर अभिनय थालेको हो । अहिले आफ्नो गीतमा गायक गायिका आफैँले मोडलिङ गर्ने परम्परासमेत देखिएको छ ।

  • पछिल्लो समयकी चर्चित मोडल कुसुम शर्मासँग अभिनयको अनुभव कस्तो रह्यो ?

– कुसुम शर्माले प्रकाश सपुतलगायतको गीतमा काम गरेर आफूलाई राम्रो मोडलको रूपमा प्रमाणित गरिसक्नु भएको छ । उहाँसँगको मेरो जोडी राम्रो र सुहाएको प्रतिक्रिया धेरैको छ । कुसुमको अभिनयको भविष्य पनि राम्रो देख्छु ।

  • गाउन सजिलो कि अभिनय ?

– गाउने मेरो पेसा र धेरै पहिलेदेखिको काम भएकाले अभिनय गाह्रो लाग्यो । गायन आफूले सिकेको विषय पनि भएकाले मेरोलागि सजिलो छ ।

  • भिडियोमा सुरुदेखि अन्त्यसम्म रुनु भएको छ । अभिनयमा रुन कति सजिलो रहेछ ?

– निर्देशकले पनि आँसु निकाल्नु हुन्छ कि ग्लिसिरिन राखौँ भनिरहनु भएको थियो । मैले पर्दैन, फिलिङमा डुब्छु भनेको थिएँ । सिचुएसन कुसुमले मलाई धोका दिएको थियो । म फिलिङमा डुब्दै गएँ । कुसुमको धोकाले रियलमै आँसु झर्‍यो । त्यो शब्दमा डुब्ने जो कोही पनि रुन्छ । गीत गाउँदा पनि म भावमा डुबेर रोएको थिएँ ।

yubaraj chaulagain (1)

  • फिल्मी गीतमा रोमान्टिक, आफ्नो गीतमा सेन्टिमेन्टल किन ?

– फिल्मका रोमान्टिक गीत बढी हिट भए । मैले फिल्ममा सेन्टिमेन्टल र रोमान्टिक दुवै शैलीका गीत गाएको छु । मलाई बढी फिल्म तथा आधुनिकमा लिने भनेको हाइ प्याटर्नको ट्रयाजेडी गीतमा हो । त्यसैले मेरो गीत पनि बढी सेन्टिमेन्टल हुने गरेको छ । वास्तवमा भन्नुपर्दा  सेन्टिमेन्टल गीत गायनमा जस्तो मज्जा अन्य गीतमा छैन ।

  • फिल्ममा कम सुनिन थाल्नु भएको हो ?

– म धेरै समय देश–विदेशको कार्यक्रममा व्यस्त भएँ । त्यसैले कम देखिएको हो । अब फेरि लगातार आउँछ ।

  • गायकलाई विवाहको अफर कति आउँछ ?

–आउँछ नि धेरै, घरबाट प्रेसर छ । साथीभाइले पनि हैरान पार्छन् । देश विदेशको कार्यक्रममा पनि विवाह प्रस्ताव राख्ने धेरै थिए । म व्यस्तता देखाउँदै आएको छु । यो वर्ष त विवाह गर्नुपर्छ जस्तो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया