बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग

बिहीबार, ०७ साउन २०८३, ०९ : ०३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • चलचित्र विकास बोर्डका सदस्य सन्तोष बाबु लोहनीले उपचाररत कलाकार कोपिला थापालाई नौवटा नेपाली चलचित्रको जाँचपासबाट प्राप्त सम्पूर्ण भत्ता सहयोग गरेका छन्।
  • तीन वर्षअघि भारतमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थापाको उपचारमा आर्थिक समस्या बढेपछि लोहनीले सहयोग गरेका हुन्।
  • लोहनीले चलचित्रकर्मी अप्ठ्यारोमा पर्दा सहयोग गर्नुपर्ने सोचका साथ आफ्नो भत्ता कलाकार थापाको उपचारका लागि उपलब्ध गराएका हुन्।

काठमाडौँ । चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता एवं फिल्म निर्देशक सन्तोष बाबु लोहनीले उपचाररत कलाकार कोपिला थापालाई आर्थिक सहयोग गरेका छन्। उनले नौवटा नेपाली चलचित्रको जाँचपास गरेबापत प्राप्त सम्पूर्ण भत्ता थापालाई सहयोग गरेका हुन् ।

चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले गत असार महिनामा नौवटा नेपाली चलचित्रको जाँचपासबाट प्राप्त गरेको भत्ता चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको राेबरमा थापालाई हस्तान्तरण गरेका हुन्।

करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैँची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा परी थापा गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि लामो समयदेखि उपचाररत उनको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि लोहनीले सहयोग गरेका हुन्।

लोहनीले आफूले काम गरेको क्षेत्रका मानिस अप्ठ्यारोमा पर्दा सोही क्षेत्रका व्यक्तिले सहयोग गर्नुपर्ने सोचका साथ यो अभियान सुरु गरेको बताए। उनले नेपाली चलचित्रको जाँचपास गरेबापत आफूले प्राप्त गर्ने भत्ता आर्थिक, स्वास्थ्य तथा अन्य समस्यामा परेका चलचित्रकर्मीलाई प्रदान गर्ने निर्णय गरेका छन्। उक्त निर्णयअनुसार पहिलो महिनाको भत्ता कलाकार थापाको उपचारका लागि उपलब्ध गराइएको हो।

कलाकार थापा हाल काठमाडौँको हात्तीगौंडास्थित एन्जल हेल्थ केयर सेन्टरमा उपचाररत छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप