शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आशा पारेखलाई ब्रेष्ट क्यान्सर, अस्पताल भर्ना

मङ्गलबार, ०१ फागुन २०८०, १२ : ०२
मङ्गलबार, ०१ फागुन २०८०

नयाँ दिल्ली । बलिउडकी दिग्गज अभिनेत्री आशा पारेख अस्पतालमा भर्ना भएकी छिन् । स्तन क्यान्सरको उपचारका लागि अभिनेत्री मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी हुन् । ८१ वर्षीय अभिनेत्रीलाई आइतबार बिहान ८ बजे अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँको उनको २ घण्टासम्म शल्यक्रिया गरिएको बताइएको छ ।

आशाले हाल डान्स एकेडेमी ‘कारा भवन’ चलाइरहेकी छिन् । यसबाहेक मुम्बईको सान्ता क्रुजमा उनको अस्पताल ‘बीसीजे अस्पताल र आशा पारेख रिसर्च सेन्टर’ पनि चलाइरहेकी छिन् । आशालाई फिल्म उद्योगमा ‘जुबली गर्ल’ भनेर पनि चिनिन्छ । उनका फिल्महरू हलमा २५ हप्ताभन्दा बढी चल्ने भएकोले उनलाई यो नाम दिइएको थियो ।

१० वर्षको उमेरमा अभिनय गर्न थालेकी थिइन्
आशाले १० वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। सन् १९५२ मा रिलिज भएको फिल्म ‘आस्मान’मा उनले पहिलो पटक बाल कलाकारको रुपमा काम गरेकी थिइन् । यसपछि उनले विमल रोयको फिल्म ‘बाप बेटी’’ (१९५४) मा काम गरिन् । तर यो फिल्म फ्लप भयो । यसको असफलताले आशा यति धेरै निराश भइन् कि उनले फिल्ममा कामै नगर्ने निर्णय गरिन् ।

१६ वर्षमा बलिउडमा कमब्याक

आशाले १६ वर्षको उमेरमा बलिउडमा फर्किने निर्णय गरिन् । विजय भट्टको फिल्म ‘गुञ्ज उठी शहनाई’ (१९५९) मा काम गर्न चाहेकी थिइन्, तर निर्देशकले आशा स्टार बन्न सक्ने अभिनेत्री नभएको भन्दै मौका दिएनन्  । यसको भोलिपल्ट निर्माता सुबोध मुखर्जी र निर्देशक नासिर हुसैनले ‘दिल देके देखो’ (१९५९) मा साइन गराए ।

यस फिल्ममा आशा पारेखको अपोजिटमा शम्मी कपूर थिए । यो फिल्म सुपरहिट साबित भयो र आशा रातारात बलिउड सुपरस्टार भइन् । यो फिल्मपछि हुसैनले आशालाई ६ थप फिल्म दिए । जब प्यार किसी से होता है, फिर वही दिल लाया हूँ, तीसरी मंजिल, बहारों के सपने, प्यार का मौसम र कारवां । सबै फिल्म बक्स अफिसमा सफल भए । यस बाहेक आशाले आफ्नो करियरमा कटि पतंग, उपकार, आन मिलो सजना र लभ इन टोकियो जस्ता सुपरहिट फिल्म पनि दिइन् ।

४० वर्षको करियरमा आशा पारेखले करिब ९५ बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनी पछिल्लो पटक सन् १९९९ मा आएको फिल्म ‘सर आँखो पर’ देखिएकी थिइन् । आशा ११ पटक लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन् भने सन् १९९२ मा उनलाई भारत सरकारले देशको प्रतिष्ठित सम्मान पद्मश्रीले सम्मान गरेको थियो । गएको वर्ष आशालाई दादा साहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप