बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिवेदन लेखनमा छलफल भएन, मेरो फरक प्रस्ताव आउँछ : महर

शुक्रबार, ०४ फागुन २०८०, १२ : २८
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरू लेखनका क्रममा केन्द्रीय सदस्यसँग छलफल नभएको बताए ।

‘पहिलो कुरा, पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन । महासमिति बैठकमा मेरो फरक प्रस्ताव आउँछ ।’

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक प्रतिवेदन निर्माणका लागि समिति समेत नबनाएको उनको आरोप थियो ।

यस्तै महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा  इतिहासको कुरा मात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्ने बताए । ‘नीति प्रस्तावमा इतिहास आएको छ ,’ उनले भने । पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन । त्यसमा ध्यान जाओस् । कांग्रेसले नैतिकतामा आधारित जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’

उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए ।

नेता महलले महामन्त्री थापाको साङ्गठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा विमति राखेका छन् । ‘महामन्त्रीको साङ्गठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरा मेरो विमति छ । समाजवादी र माओवादी समेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ,’ उनले भने ।

महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुपर्ने महरको भनाइ छ । पालिका पार्टी सभापतिलाई प्रदेश कमिटीको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने महरले बताए । यस्तै उनले वर्तमान संविधानको पूर्णकार्यान्वयनमा पार्टीले लाग्नुपर्ने बताए । ‘संविधान हाम्रो नेतृत्वमा बनेको हो । आफैले बनाएको संविधानको स्वामित्व नलिँदा हामी अलमलिने अवस्था आउँछ । इफ बट केही नभनीकन संविधानको पूर्ण कार्यान्वयनमा नेपाली कांग्रेस जानुपर्छ । कांग्रेसले जन्माएको संविधानको कांग्रेसले नै रक्षा गर्नुपर्छ ।’

हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रबन्ध वैधानिक रूपमा गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले विधान संशोधन नभए पनि यो व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

नेपाली कांग्रेसमा अवसरको न्यायोचित वितरण ठुलो समस्या देखिएको भन्दै तीन पटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने महरको भनाइ छ । ‘नयाँ मान्छेले पनि काम गरेर देखाउने अवसर दिनुपर्छ । यो गठबन्धन सीमित मान्छेका लागि भएको थियो । आगामी दिनमा चुनावअगाडि गठबन्धन नहुने गरी नेपाली कांग्रेस जानुपर्छ । बाँकी मेरा कुराहरू महासमिति बैठकमा लिखित रूपमा राख्ने नै छु,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप