सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस महासमिति बैठक

ओली–प्रचण्ड भेटवार्ताले कांग्रेसमा तरंग, महासमिति बैठकमा गगनलाई झट्का !

बुधबार, ०९ फागुन २०८०, १४ : १८
बुधबार, ०९ फागुन २०८०

ललितपुर (गोदावरी) । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन विपक्षमा बलियो मत देखिएको छ । महासमिति बैठकमा थापाले पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने उल्लेख छ । तर, थापाको प्रस्तावले वर्तमान गठबन्धन नै संकटमा पर्न सक्ने भन्दै अधिकांश महासमिति सदस्यहरूले विपक्षमा मत राखेका छन् ।

जसका कारण उनको प्रस्ताव संशोधनबिनै पारित हुने सम्भावना कमजोर बन्दै गएको नेताहरूले जनाएका छन् ।  भविष्यमा हुने आवधिक निर्वाचनहरूमा गठबन्धन नगर्ने भनेर अहिले नै संकल्प गरिन नहुने उनीहरूको माग छ । कांग्रेसको महासमिति बैठककै बीच मंगलबार प्रधानमन्त्री समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लिएर बैठक स्थलमा थप तरंग उत्पन्न भएको छ । प्रचण्डको चाहना विपरीत महासमिति बैठकमा गठबन्धन विरोधी प्रस्ताव आएको र यसले समस्या निम्तन सक्ने भन्दै बैठकमा तीव्र छलफल भइरहेको हो । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा थापाको सहित पाँच वटा प्रतिवेदनमाथि बुधवार बन्दसत्रमा समूहगत छलफल भइरहेको छ ।  सनराइज सम्मेलन केन्द्रमा चार समूहका लागि छुट्टाछुट्टै छलफल कक्ष बनाइएको छ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेनमाथि बहस गरेका भने विशंखु नारायण हलमा मधेस र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गरेका छन् । 

यस्तै केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको लागि छुट्याइएको छ। केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी भएका छन् ।  एक महासमिति सदस्यले  ५ प्रस्तावमाथि ५ मिनेटभित्रै सुझाव दिइसक्नुपर्नेछ। सबै प्रतिवेदनमाथि आज समूहगत छलफल गर्ने र बिहीबार प्रतिवेदन पारित गर्दै बैठक सक्ने कांग्रेसको तयारी छ ।

तर, छलफलका क्रममा गठबन्धन र हिन्दुराष्ट्रको विषय प्रमुख बनेको छ । गण्डकी र बागमती प्रदेशका महासमिति सदस्यहरुको समूहमा गगन थापाको प्रतिवेदनको विपक्षमा बलियो मत देखिएको महासमिति सदस्य कुन्दनराज काफलेले जानकारी दिए ।  ‘छलफलको विषय गठबन्धन र धर्मको एजेण्डा बनेको छ । सदस्यहरूले क्रियाशील सदस्यताको विषय र महिला सहभागिताको विषयमा पनि बोलिरहेका छन्’, उनले रातोपाटीसँग भने । 

यसैगरी लुम्बिनी र भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिसहितको अर्को समूहमा पनि लगभग यस्तै विषय आएको छ । गठबन्धनको विषयलाई रणनीतिको विषय मात्र बनाइनुपर्ने मत बलियो देखिएको महासमिति सदस्य सञ्जय गौतमले जानकारी दिए । डकुमेन्टमै उल्लेख गर्नुभन्दा पनि रणनीतिको विषय बनाइनुपर्ने भनेर आफूहरुको समूहमा आवाज उठेको उनको भनाइ छ । तर, द्वन्द्वपीडित जिल्लाका प्रतिनिधिले भने एकल चुनावमा जानुपर्ने र गठबन्धन पनि गर्न नहुने भनेर आवाज उठाएको उनको भनाइ छ । 

यस्तै कर्णाली र मधेसको समूहका साथै  कोशी र सुदूरपश्चिममा पनि यस्तै(यस्तै कुरा आएको छ । महासमिति सदस्य हरिप्रसाद दाहालका अनुसार कोशी प्रदेशको हकमा पहिचानको विषय पनि महासमितिले स्पष्ट पार्नुपर्ने धारणा आएको बताए ।  नेताहरुका अनुसार मंगलबार सिंहदरबारमा ओलीसँगको भेटपछि प्रचण्डले देउवालाई फोन समेत गरेका थिए । उक्त फोनवार्ताका क्रममा प्रचण्डले गठबन्धनको विषयमा कांग्रेसमा भइरहेको छलफलबारे चासो राखेका थिए । बैठक हलमा मात्रै होइन बाहिर समेत वर्तमान गठबन्धनको भविष्यबारे चर्चा परिचर्चा भइरहेको पाइन्छ । 

यसैबीच सभापति शेरबहादुर देउवाले आफूपक्षीय नेता र जिल्ला सभापतिहरूलाई अघोषित रूपमा गगनको प्रस्तावको विपक्षमा मत राख्न सर्कुलर गरेको एक नेताले बताए ।  कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक, अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन पेस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप