शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल

शनिबार, १२ फागुन २०८०, ०९ : ५२
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

अस्पतालले गत आर्थिक वर्ष २०७९÷८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए ।

उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण, शल्यक्रिया र  औषधि वितरण गरेको अध्यक्ष डा पोखरेलले जानकारी दिए ।

उक्त कार्यका लागि अस्पतालले रु २७ लाख २०० खर्च व्यहोर्नुपरेको थियो । अस्पतालले विद्यालय आँखा कार्यक्रमअन्तर्गत सो अवधिमा एक हजार ७२१ जना ग्रामीण समुदायका विद्यार्थीलाई पठन÷पाठनका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्करुपमा उपलब्ध गराएको थियो । त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालले गत आवमा सिमरा र गोरखा जिल्लामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गराएको थियो ।

त्यस कार्यका लागि रु ५२ लाख ५६ हजार खर्च लागेको अस्पतालले जनाएको छ । उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम प्रशिक्षणसमेत प्रदान गरेको छ । गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा रु २९ लाख ९५ हजार मूल्य बराबरको सेवामा आर्थिक सहायता छुट प्रदान गरेको छ ।

अस्पतालले जनताको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभअर्थात् रु १०० मा ओपिडी उपचार सेवा प्रदान गर्दैआएको छ ।  जिल्लाबाट रिफर भई आउने तथा जटिल खाले रोग लागेका तर आर्थिक हिसाबले विपन्नलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्दैआएको छ । त्यस्ता विभिन्न बिरामीलाई सेवा र आवश्यकताअनुरुप छुटको व्यवस्था गरिएको छ । अस्पतालमा हाल सातामा १८० देखि दुई सयसम्म शल्यक्रिया हुने गरेको छ ।

अस्पतालले मुुलुकका विभिन्न भागमा आँखा शिविर सञ्चालन गरी वार्षिकरुपमा रु ८६ लाख मूल्य बराबर सहयोग पु¥याएको छ । त्यस क्रममा अघिल्लो वर्ष शिविरमार्फत २७ हजार २०० बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । अस्पतालले पछिल्लो समय मेसिनको अभावमा चश्मा नलगाउन पर्ने शल्यक्रियाबाहेक आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध गराउँदैआएको छ ।

सेवाको  गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरणका हिसाबले फड्को मार्नेअर्थात् स्तरोन्नतिका लागि कोसिस गरिरहेको छ । उपत्यकाभित्रका कुनै अस्पतालमा नभएको ब्रेनले काम नगरेर आँखा नदेखेको हो कि आँखा रोगकै कारण नदेखेको हो भन्ने यकिन गर्ने मेसिनसमेत त्यस अस्पतालमा उपलब्ध छ ।

अध्यक्ष डा पोखरेल भन्छन्, “अरुका तुलनामा धेरै सस्तो र गुणस्तरीय सेवा तथा ठाउँका  हिसाबले सबैलाई आउन जान सजिलो भएका कारणले पनि आँखा अस्पताल सेवाग्राहीको रोजाइमा पर्दैआएको छ ।” अस्पतालको हाल दैनिक सरदर सात सयसम्म बिरामीको भार थेग्ने क्षमता छ ।

जन्मजात बच्चामा आँखाको पर्दामा हुने रोगको उपचार प्रणालीगत हिसाबले कुनै अस्पतालले नगरिरहेको अवस्थामा नेपाल आँखा अस्पतालले परोपकार प्रसूति अस्पतालमा विशेषज्ञ खटाएर परीक्षण गर्ने र अस्पतालमा ल्याएर उपचार गर्ने गर्दैआएको छ ।

अस्पताल प्राङ्गणमा आएका कुनै पनि बिरामी पैसाको अभावमा  उपचार नलिई फिर्ता नजाउन भन्नेमा अस्पतालको सामूहिक प्रतिबद्धता र विचार भएकाले त्यसप्रति सजग र सचेत रहेको डा पोखरेल बताउछन् ।

“पैसा छैन भनेर मेरो उपचार भएन भनेर कोही त्यसै फिर्ता जानुपर्दैन, त्यस्ता बिरामीलाई हामी सहुलियत र निःशुल्कै पनि सेवा उपलब्ध गराउन सक्छौँ”, डा पोखरेल भने । राज्यले विपन्न तथा आर्थिक अभाव झेल्न परेका त्यस्ता व्यक्तिलाई गरिब परिचयपत्र उपलब्ध गराएमा पहिचान गरी  सेवा दिन सहज हुने उहाँको  सुझाव र बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप