बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

सिनेमा र समाज एउटा विशेष सर्कल

शनिबार, १२ फागुन २०८०, १३ : ५३
शनिबार, १२ फागुन २०८०

सिनेमा र समाज एउटा विशेष सर्कलजस्तो हो । सिनेमा, कला–साहित्य, कथा, कविता जे भए पनि त्यसको प्रेरणाको स्रोत समाज नै हुन्छ । समाजमा देखिएका कुरा, समाजमै घटेका घटना, समाजमै अनुभव गरेका भावनाहरूबाट सर्जक प्रेरित हुन्छ । सर्जकले समाजमा जे देख्यो, त्यसलाई पहिले कथाको रूपमा बुन्छ, त्यसपछि उसले त्यसलाई कथा, कविता, उपन्यास, सिनेमा जेमा ढालोस् । त्यसो हुँदाबित्तिकै उसले सुरुमा देखेको घटनामा हल्का अर्को डाइमेन्सन हुन्छ, अर्थात् केही थपघट हुन जान्छ । 

सिनेमाको हकमा कतिपय विषय अझ आकर्षित रूपमा प्रस्तुत गरिन्छ । दर्शकले आफ्नो समाजकै कथामा बनेको सिनेमा हेर्छन्, तर त्यसलाई अरु धेरै कुराले प्रभावित गरेको हुन्छ । समाजको कथालाई राम्रा–राम्रा हिरो–हिरोइन्मार्फत भनिन्छ र त्यसबाट समाज प्रभावित हुन्छ । समाजका केही कुरा सिनेमाले लिन्छ, सिनेमाबाट केही कुरा समाजले लिन्छ, यसरी सिनेमा र समाजको एउटा सर्कल बन्छ । 

कुनै पनि सिर्जना मानिसको दिमागबाट आउने हो, मानिसको दिमागमा अनुभवहरू नै हुन्छन् । समाजकै कुरा सर्जकले देखेको, सुनेको र भोगेको होला, त्यसैलाई उसले आफ्नो दिमागमा राखेको होला । त्यसैका आधारमा उसले आफ्ना सिर्जना पस्कन्छ होला । त्यसैलाई उसले आफ्नो विशुद्ध सिर्जना भन्छ होला, तर सिर्जना विशुद्ध आफ्नो भन्ने हुन सक्दैन । 

समाज सँगसँगै हिँड्नुपर्ने हुन्छ, कुनै पनि सिर्जना । हिँडेन भने त्यो प्रत्युत्पादक हुन्छ । यहाँ हामी सिनेमाको कुरा गर्दैछौँ । प्रायः सिनेमाले तत्कालीन समाजको दृष्टिकोण, भावना, परिवेश आदिसँग मेल खाने विषयवस्तु पस्केको हुन्छ । 

हामी भन्छौँ— पहिलेको चलचित्र यस्तो, अहिलेको चलचित्र उस्तो । यसो भन्नुको अर्थ पहिलेको र अहिलेको समाज भन्ने नै हो । यो पहिले र अहिले भन्ने जुनसुकै कालखण्डमा हुन्छ । यही हो, सिनेमाले वर्तमान समाजलाई नै प्रतिविम्बित गर्नुपर्छ, गरेन भने प्रत्युत्पादक हुन्छ ।

मैले सिनेमामा काम सुरु गर्दा एक प्रकारको समाज थियो । त्यही बेलाका युवाको आकांक्षा, त्यही बेलाका आर्थिक र राजनीतिक अप्ठेरा, त्यही बेलाको जीवनशैली, त्यही बेलाका सामाजिक र सांस्कृतिक पक्ष वा चुनौतीहरू चलचित्रमा प्रतिविम्बित हुन्थ्यो । 

सुरुवातमा मैले प्रायः फिल्ममा विद्रोही युवाको भूमिका निभाएँ । समाजमा हुने थिचोमिचो, धनी–गरिबको भावना आदिका कारण युवाहरू त्यतिबेला विद्रोही र आक्रोशित नै थिए । एउटा आक्रोशित युवाले गर्न चाहेको कुरा कहीँ न कहीँ मैले निभाएको चरित्रमा आउँथ्यो । 

अहिले वागमतीमुनि धेरै पानी बगिसक्यो । अहिले युवाको आकांक्षा, जीवनशैली, उहाँहरूले खोज्ने स्वादमा धेरै परिवर्तन भएका छन् । अहिलेका चलचित्रले कहीँ न कहीँ वर्तमान समाजलाई नै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । हामी भन्छौँ— पहिलेको चलचित्र यस्तो, अहिलेको चलचित्र उस्तो । यसो भन्नुको अर्थ पहिलेको र अहिलेको समाज भन्ने नै हो । यो पहिले र अहिले भन्ने जुनसुकै कालखण्डमा हुन्छ । यही हो, सिनेमाले वर्तमान समाजलाई नै प्रतिविम्बित गर्नुपर्छ, गरेन भने प्रत्युत्पादक हुन्छ । 

सिनेमाको सशक्ततालाई नजरअन्दाज गर्न मिल्दैन, कथा भन्ने असाध्यै सशक्त माध्यम हो सिनेमा । अंग्रेजी भनाइ छ, ‘सिइङ इज् बिलिभिङ’ । सुनेको वा पढेको कुराभन्दा देखेको दृश्यलाई व्यक्तिले झट्ट पत्याउँछ । दर्शकलाई थाहा हुन्छ— सिनेमामा देखाइएका घटना नाटकीय हुन्, यसमा पस्केको सबै कलाकारिता हो । यो थाहा हुँदाहुँदै पनि सिनेमामा कथालाई प्रभावकारी हिसाबबाट पस्किएको छ भने दर्शक बहकिन्छन् । सिनेमाका दृश्यबाट दर्शक उत्तेजित हुन सक्छन्, खुसी वा दुःखी हुन सक्छन्, रुन्छन् पनि । यसकारण सिनेमा असाध्यै प्रभावकारी माध्यम हो, यसका मेकरहरूले यसलाई बुझेका हुन्छन् । 

सिनेमामा मनोरञ्जनको तत्त्व हुनैपर्छ, जसले जेसुकै भने पनि । सिनेमामार्फत तपाईं चाहे गहकिलो विषयवस्तु वा गम्भीर मुद्दा उठाउनुस्, सिनेमामार्फत जेसुकै भन्नुस्, तर मनोरञ्जनकै प्याकिजिङमा त्यसलाई प्रस्तुत गर्नुपर्छ । नत्रभने सिनेमा प्रत्युत्पादक हुन्छ । 

कुनै विशेष समूहलाई शिक्षा वा ज्ञान दिनका लागि फिल्म बनाइएको छ भने बेग्लै कुरा हो । आम दर्शकलाई मध्यनजर गरेर फिल्म बनाउनुभएको छ र गहकिलै विषयवस्तु पस्कनका लागि पनि त्यसमा मनोरञ्जनको प्याकेजिङ हुनैपर्छ । जसरी बच्चालाई तितो औषधि खुवाउँदा त्यसमा ‘सुगर कोटिङ’ (गुलियो लेप) गरिन्छ, यसरी नै फिल्ममार्फत गहकिलो विषयवस्तु दर्शकलाई हेराउन मनोरञ्जनको तत्त्व मिसाउनुपर्छ । मनोरञ्जनको तत्त्व भएन भने दर्शक अडिँदैनन् । 

समाज सँगसँगै हिँड्नुपर्ने हुन्छ, कुनै पनि सिर्जना । हिँडेन भने त्यो प्रत्युत्पादक हुन्छ । यहाँ हामी सिनेमाको कुरा गर्दैछौँ । प्रायः सिनेमाले तत्कालीन समाजको दृष्टिकोण, भावना, परिवेश आदिसँग मेल खाने विषयवस्तु पस्केको हुन्छ ।

हाम्रो परिवेशमा हामीले समाजलाई परिवर्तन गर्ने सोचले, त्यो गहिराइबाट चलचित्र बनायौँ वा बनाएनौँ त्यो आफ्नो ठाउँमा छ । विभिन्न राष्ट्रले भने सिनेमामार्फत नजाँनिदो ढङ्गले समाजको दृष्टिकोण बल्दन खोजेको देखिन्छ । यसो गर्नुमा विभिन्न तत्त्वले भूमिका खेलेको हुन सक्छ । सिनेमा मनोरञ्जनकै साधन भए पनि त्यसको प्रभावकारितालाई त्यहाँका राजनीतिज्ञले, त्यहाँका धनाढ्य व्यक्तिले बुझेका हुन्छन् । सिनेमा बनाउने व्यक्तिको पनि त्यहाँ ठूलो स्थान वा प्रभाव हुन्छ । यी व्यक्तिको सायद इन्ट्रेस्ट होला, समाजलाई यो प्रकारको कुरा बुझाउँ भन्ने । यो ढङ्गले फिल्म बनाए पनि दर्शकले मनोरञ्जन लिनकै लागि हेर्न सक्छन् तर मनोरञ्जनकै बिचमा कहीँ न कहीँ सामाजिक दृष्टिकोण, राजनीतिक दृष्टिकोण, धार्मिक दृष्टिकोण बदल्ने ढङ्गले कथा आएको हुन सक्छ । तर यस्ता विषयलाई प्रभावकारी ढङ्गले मनोरञ्जनको ‘कोटिङ’मा पस्केको देखिन्छ । जसले समाजलाई प्रभाव पनि पारेको छ । 

कति राष्ट्र वा कुनै समूहले फलानो सिनेमा ब्यान्ड गर्नुपर्छ भनेको सुनिन्छ । फिल्मका पात्र र घटना काल्पनिक भए पनि, मनोरञ्जनको हेतुले फिल्म बनाइए पनि उनीहरूलाई लाग्छ कि यो हेरिसकेपछि दर्शकको सोचाइमा केही न केही परिवर्तन हुन्छ । हामीले पनि फिल्मको सशक्ततालाई बुझ्नुपर्छ । 

हामी सच्चा सर्जक हौँ, हामीमा सिर्जना गर्ने त्यही किसिमको क्षमता र गहिराइ छ भने हामीले सिनेमाका माध्यमबाट समाजलाई केही सकारात्मक सन्देश दिन सक्छौँ, समाजको सोचमा केही परिवर्तन ल्याउन सक्छौँ ।

जति बेला मैले १६–१८ घन्टा काम गर्थें, वर्षमा १०–१२ वटा फिल्म खेल्थेँ, त्यो बेला मैले कथा हेरेर सिनेमा अस्वीकार गरिनँ । किनभने ‘मैले यो ठिकठाकै सिनेमा बनाउँदै छु, त्यति राम्रो त हुँदैन, तपाईंले खेलिदिनुपर्‍यो’ भनेर स्क्रिप्ट लिएर कोही आउँदैनथ्यो । तपाईंले अहिलेसम्म नगरेको कथा ल्याएको छु भनेरै आउँथे । बन्दै जाँदा विविध कारण कति फिल्म राम्रै बन्थे, कति ठिकै बन्थे ।

अर्को कुरा, नेपालमा सक्दो फिल्म बन्नुपर्छ भन्ने पनि मेरो मान्यता थियो । म फिल्म क्षेत्रमा आउँदा नेपाली फिल्म त्यति बनिरहेका थिएनन् । जति चलचित्र बन्यो, त्यति नै जनशक्ति त्यहाँ प्रयोग हुन्थ्यो । फिल्म क्षेत्र राम्रो हुन्थ्यो, त्यसैले मैले सुरुवाती बेला फिल्म अस्वीकार गरिनँ । अहिले आएर भने अस्वीकार गरिरहेको छु । पछिल्लो पाँच वर्षमा मैले चलचित्र गरेको छैन । यसको मतलब मलाई अफर नआएको होइन । अफर आइरहेको छ, अचेल त मैले यो मेरो लागि ठिक हुँदैन भनेर भेटेर छलफल गर्न पनि छाडेको छु । अहिले मलाई कस्तो फिल्म गर्ने भन्ने थाहा छ, भनेजस्तो फिल्म आएन भने नगरेरै बस्छु ।

(रातोपाटीसँगको अन्तर्वार्तामा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश हमाल
राजेश हमाल
लेखकबाट थप