मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण

घरमै शौचालय भएपछि महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा खुसीयाली
शनिबार, १२ फागुन २०८०, १४ : ४५
शनिबार, १२ फागुन २०८०

बारा । पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ । सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न मुसहर बस्तीका नागरिक शौचालयविहीन थिए ।

महागढीमाई वडा नं २ को मुसहर बस्तीमा शौचालय नहुँदा केही महिना अघिसम्म त्यहाँका बासिन्दा खेतबारी, खोलानाला, झाडीमा शौच गर्न जाने गर्दथे । मुसहर बस्तीकी फुनदेवी पासवानले शौचालय नभएका कारण आफूहरू खुला स्थानमा शौच गर्न जाने गरेको तर नगर प्रहरीले लखेट्ने गरेको सुनाइन् ।

toilet (2)

महागढीमाई नगरपालिकाले २०७५/०७६ मै आफ्नो मातहतका ११ वटा वडालाई खुला दिसामुक्त घोषणा गरेको हो । खुला दिसामुक्त पालिका घोषणा गर्नुअघि नगरपालिकाले अति गरिब, विपन्न र दलित बस्तीमा शौचालय निर्माणका लागि रिङ, सिट प्यान लगायतका आवश्यक सामग्री निःशुल्क वितरण गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव बताउँछन् ।

‘हामीले २०७५ सालमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु पूर्व नै गरिब, विपन्न र दलितहरूका लागि शौचालय निर्माणका लागि सम्पूर्ण सामग्री वितरण गर्‍यौँ । केहीले शौचालय बनाए, केहीले बनाएनन् । जसले बनाए, तिनीहरूले पनि पछि भत्काएर बाख्रा, पाडा बाँध्ने गोठ बनाएर पुनः खेतमै दिसा गर्न जान थाले,’ नगरप्रमुख यादवले भने ।

पछिल्लो समय नगरप्रहरी खटाएर खेतबारी, खोलानालामा शौच गर्नेलाई  समातेर ल्याउने र सम्झाएर पठाउने गरेको उनको भनाइ छ ।

toilet (11)

हालै वडा नं २ को मुसहर बस्तीमा इस्लामिक रिलिफ क्यानडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा जनजागरण युवा क्लब कलैयाले शौचालय र स्नान घर बनाएर त्यसको प्रयोगबारे सचेतना गराएपछि भने सकारात्मक परिवर्तन आएको छ । उनीहरूले पछिल्लो समय शौचालयको प्रयोग गर्ने, स्नानघरमा नुहाउने, आफू र आफ्नो वरपर सरसफाइ गर्न थालेका छन् ।

जनजागरण युवा क्लब कलैयाले सो मुसहर बस्तीका ४६ घरधुरीमा  शौचालय, पिउने पानीको धारा र ठाउँ ठाउँमा सामूहिक स्नानघर निर्माण गरिदिएको छ ।

toilet (14)

मुसहर बस्तीकी कलहीदेवी राम एक/डेढ वर्ष अघिसम्म गाउँमा जताततै फोहोर र दुर्गन्ध हुने गरेको स्मरण गर्छिन् । ‘पहिला गाउँमा धेरै फोहोर थियो, शौचालय नहुँदा खोला, नदी, खेत, बाँसघारीमा जानुपर्थ्यो । नगर प्रहरीले लौरो लगाएर खेद्थ्यो,’ उनले भनिन्, ‘अहिले घरघरमै शौचालय भएपछि बालबच्चा पनि शौचालय जान्छन्, हाम्रो पनि इज्जत पनि बढेको छ ।’

जनजागरण युवा क्लब कलैयाका अध्यक्ष भैयाराम यादवले बाराको महागढी नगरपालिका र सुवर्ण गाउँपालिकाको दलित र मुस्लिम बस्तीमा संस्थाले शौचालय र स्नानघर निर्माण र प्रयोगबारे संस्थाले काम गरिरहेको बताए । उनले दलित, मुस्लिम र गरिब वर्गको आर्थिक सशक्तिकरण कसरी समाधान हुन्छ भन्ने उद्देश्यले उनीहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिएको बताए ।

toilet (16)

करिब १४ हजार घरधुरी, ५८ हजार जनसङ्ख्या रहेको महागढीमाई नगरपालिकामा १७ देखि १८ प्रतिशत दलित बस्ती रहेको नगरप्रमुख उपेन्द्र यादवले जनाए । उनले शौचालय नभएका दलितहरू बस्तीहरूमा नगरपालिकाले पुनः सहयोग गरेर शौचालय निर्माण गरिदिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप