शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ सार्वजनिक

बिहीबार, १७ फागुन २०८०, ११ : २७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । नेपा~लयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । ‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्ले हुन् । 

गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् । 

पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा कांगडासम्म फैलाउन सफल भएको देखिन्छ ।

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो । नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् । 

‘बहादुर शाह’ले नेपा~लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपा~लयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो । 

तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ । यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ । 

‘बहादुर शाह’ लाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप