सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

तीन वर्षभित्र नेपाल बहुल राष्ट्रिय राज्य बन्छ : राजेन्द्र महतो

शनिबार, १९ फागुन २०८०

हालै लोसपा नेपाल त्यागेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेका राजेन्द्र महतो उक्त अभियानका संयोजकसमेत हुन् । उनले अहिलेको संविधानले निकास दिन नसक्ने जिकिर गर्दै आफूहरूको आन्दोलन तीन वर्षभित्र सफल भइसक्ने दाबी गरे ।

अधिकारको लडाइँका नाममा मधेसमा पटकपटक आन्दोलन भए । सबै आन्दोलन कुनै न कुनै सम्झौतामा गएर टुङ्गिएका छन् । महतोले हालै घोषणा गरेको आन्दोलन किन र केका लागि भन्नेबारे जान्न रातोपाटीका लागि रोहित दाहालले उनीसँगै कुराकानी गरेका छन् ।

प्रस्तुत छ, राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोसँग गरिएको कुराकानीको सम्पादित अंश–

rajendra mahato 2

  • तपाईं अब राजनीतिज्ञबाट अभियन्ता बन्नुभएको हो ?

म जुन राजनीति गरिरहेको थिएँ या जुन राजनीति यो देशमा भइरहेको छ, त्यो राजनीतिबाट मुलुकले निकास पाइरहेको छैन । राजनीतिबाट जनता निराश भइरहेको छ । राजनीतिले जनताको भरोसा, विश्वास गुमाइरहेको छ । युवाले आफ्नो मुलुकमा भविष्य देखिरहेको छैन भने त्यो राजनीतिबाट अब मुलुक र जनताले केही पाउनेवाला छैन । त्यसैले राजनीतिको कोर्स परिवर्तन गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।

  • लोसपा किन छाड्नुभएको ?

लोसपाको कुरै छाड्नुस्, अब एउटा पार्टीले, एउटा नेताले, एउटा समुदायले समेत समस्या समाधान गर्न नसक्ने अवस्था छ । दलीय हिसाबले सबैले विश्वास गुमाइसके । लोसपामा बसेर यो कुरा गर्दा कसैले पनि विश्वास गर्दैन त्यसकारण पार्टी छाडेँ । फेरि लोसपा संघर्षका लागि तयार पनि भएन ।

  • अब कसले चलाउने त देश ?

नेपालको शासन भनेको आयातित शासन हो । क्यापिटालिज्म र कम्युनिज्म नेपालको धर्तीबाट उत्पत्ति भएको होइन । पश्चिमी धाराबाट उत्पत्ति भएका ज्ञान हुन्, जुन नेपालका कांग्रेस र कम्युनिस्टले बोक्छन् । त्यस्तो आयातित विचार, जुन औपनिवेशिक पनि हो, त्यसबाट शासन चल्यो । शासकहरूमा औपनिवेशिक चिन्तन र विचार भयो, जुन सबै जनताको हुन सकेन । त्यो शासन एकल भइदियो ।  

rajendra mahato 5

  • तपाईंले बोक्न खोजेको विचारचाहिँ कस्तो हो त ?

पृथ्वी नारायण शाहले नेपाल निर्माण गर्दा वन नेशन, वन स्टेट थ्यौरीमा बनेको होइन । त्यसैले उनले नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भने, तर त्यो कुरा त्यसपछिका शासकले बुझ्न सकेनन् । त्यो अनुसारको शासन र संविधान बनाइएन । सबै नेपालीको नेपाल बनाइएन । भनेको मतलब नेपाललाई बहुल राष्ट्रिय राज्य नबनाई समस्या समाधान हुँदैन र नेपालको निर्माण पनि त्यसैका लागि भएको थियो ।

  • यो तपाईंको कुरा भयो तर तपाईंलाई लाग्ने आरोप के छ भने जहिले मधेसीबिच विभाजन ल्याउने काम गर्नुभयो । गजेन्द्र नारायण सिंह, उपेन्द्र यादव हुँदै महन्थ ठाकुरसम्मलाई समाउँदै छाड्दै गर्नुभयो, बिचमा त कतिलाई छाड्नुभयो भयो । तपाईं आफू कोहीसँग अटाउन नसक्ने अनि राजनीतिलाई दोष दिन मिल्छ ?

राजनीति गलत भएपछि परिणाम नै गलत हुन्छ । क्यापिटालिज्म र कम्युनिजम् विचार बोक्नेलाई मधेसमा घुसाइयो र ‘फुटाऊ र राज गर’को नीति लागु गरेपछि न मधेस एक रहन्छ, न मधेसी जनता एक भए ।

rajendra mahato 3

  • यसको मतलब तपाईं पनि प्रभावित हुनुभयो ?

यसले गर्दा राजनीति प्रभावित हुन्छ नि । अधिकार र पहिचानको राजनीति प्रभावित भयो । मधेसको राजनीतिक अधिकार र पहिचानका अड्न सकेन । राजपादेखि जसपा हुँदै लोसपासम्म मैले प्रयास त गरेकै हो ।

  • तपाईं जुन पार्टीमा गयो, त्यही पार्टी फुट्छ किन ? अहिले पनि तपाईंले कार्यकारी अध्यक्ष नपाएपछि लोसपा छाडेको भनिँदैछ ।

अधिकार र पहिचानको जुन राजनीति गजेन्द्रनारायण सिंहले सुरु गर्नुभएको थियो, त्यो मूल्य मान्यताको राजनीतिलाई उपेन्द्रजी, महन्थ ठाकुरजीहरुले के गरिरहेका छन् भन्ने जनताले मूल्याङ्कन गरिरहेका छन् । तर मेरो उदय कांग्रेस, कम्युनिस्टबाट सुरु भएको होइन, मेरो उदय अधिकार र पहिचानकै आन्दोलनबाट भएको हो ।

  • देशको जे अवस्था छ भन्दै हुनुहुन्छ, देशलाई यस्तो हालतमा पुर्‍याउन त तपाईं पनि जिम्मेवार हो नि ?

मूल नै विषाक्त भएपछि त्यसबाट निस्किने फल पनि विषाक्त हुन्छ नि । दश प्रतिशत मधेसलाई दोष दिएर उम्कन मिल्छ ?

rajendra mahato 6

  • सब खराब भनेपछि अब गर्ने कसले त ?

सबै समस्याको जड भनेको आयातित विचार, औपनिवेशिक चिन्तन र नश्लीय चिन्तन हो । यसबाट नेपाल मुक्त हुनुपर्छ । नेपालकै माटोबाट उत्पन्न हुने विचारको आधारमा शासन गर्नुपर्‍यो ।

  • त्यसको नेतृत्वचाहिँ तपाईंले गर्ने ?

यहाँ व्यक्तिको कुरा होइन, मुख्य कुरा विचारको हो । स्वदेशमै उत्पादित विचार जसले बोक्छ, त्यसैले नेतृत्व गर्छ ।

  • मधेस आन्दोलन चाहिँ कसरी असफल हुँदै गयो त ?

मधेस आन्दोलन एकल शासनको विरुद्धमा भयो तर आफैँले मधेसको पहिचान भन्यो र एकल पहिचानको मात्र कुरा ग¥यो, थारुको, आदिवासी जनजातिको, लिम्बुवानको जति पनि आन्दोलन भए, सबैले एकल पहिचानको कुरा गरे र असफल भए । यसको मतलब एकलको विरुद्ध एकलको आन्दोलन भयो, जुन गलत भयो । त्यसमा हाम्रो पनि कमजोरी भयो । एक्लाएक्लै लड्दा जित हुन्न, त्यसैले राष्ट्रिय मुक्ति क्रान्ति अभियान थाल्नुपर्छ ।

  • बहुल राष्ट्रिय राज्य भनेको देश टुक्र्याउने कुरा होइन र ?

नश्लवादीहरुले लगाउने आरोप हो यो ।

rajendra mahato

  • राजेन्द्र महतो आज सांसद भएको भए र मन्त्री, प्रधानमन्त्री बन्ने सम्भावना भएको भए तपाईंलाई देश र जनताप्रति यति धेरै चिन्ता हुन्थ्यो ? शासन सत्तामा पुग्ने कुनै सम्भावना नभएपछि तपाईं माइतीघर तिर लाग्नुभएको हो भनेर किन नभन्ने ?

अहिले जे कुरा राख्दैछु, यही कुरा म उपप्रधानमन्त्री भएको बेला राखेको थिएँ ।

  • अहिलेको व्यवस्था विरुद्धमा पनि आन्दोलन भइरहेको छ, कति गर्ने तयारीमा पनि छन्, यही बेला तपाईं पनि आन्दोलनमा भनेपछि तपाईंको राजतन्त्रवादीसँग पनि साँठगाँठ हो ?

त्यो दिवास्वप्न कसैले नदेखे हुन्छ । घडीको सुई उल्टो घुम्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र विश्वकै सर्वोत्कृष्ट ब्यानर हो । यो ब्यानरभित्रको कन्टेन्ट मात्र खराब छ । त्यो बदल्ने हो, व्यवस्था होइन ।

  • तपाईं प्रधानमन्त्री बन्नुस्, सबै समस्या समाधान गर्नुस् भन्यो भने तयार हुनुहुन्छ ?

प्रधानमन्त्री समस्याको समाधान होइन । शासन र संविधान बदल्नु भएन भने राजेन्द्र महतो प्रधानमन्त्री बने पनि केही हुँदैन ।

  • आन्दोलनबाटै शासन र संविधान परिवर्तन गर्ने ल्याकत तपाईंले राख्नुहुन्छ भनेर कसले पत्याउला त ?

हेर्दै जानु न, अस्ति माइतीघरमा हेर्नुभएन ? त्यो त ट्रेलर हो राष्ट्रिय मुक्ति क्रान्ति अभियानको, फिल्म केही समयपछि आउँछ । तयारी भइरहेको छ ।

rajendra mahato 4

  • अहिलेसम्म मधेसको मुद्दाको व्यापार गर्नुभयो, अब त्यो बन्द भयो । अब अर्कै व्यापारतिर लाग्नुभयो, होइन ?

कृपया, तपाईं यस्ता शब्द फिर्ता लिनुस् । राजनीतिको व्यापार यहाँका नश्लवादी सोच र चिन्तन राख्नेले गरे । २ सय ७० वर्षमा नेपाललाई कङ्गाल बनाए । जनतालाई अधिकारविहीन बनाए । पहिचानविहीन बनाए । जनतालाई गुलाम बनाए ।

  • आन्दोलन त गर्ने भन्नुभयो, यस अघिजस्तो अनेक बहाना बनाएर सम्झौता गर्ने र आन्दोलनलाई सत्तामा जाने भर्‍याङ बनाउने काम हुँदैन भनेर कसरी विश्वास गर्ने ?

सबै प्रयास गरेर नभएपछि म यसमा लागेको हो । यो रियलाइजेशनबाट आएको हो । तीन वर्षभित्र आन्दोलन सफल हुन्छ र बहुल राष्ट्रिय राज्य नेपाल बन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया