नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
सारांश
- जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ सरकारका केही गतिविधिमा तानाशाही प्रवृत्तिको झल्को पाएको बताएकी छन् ।
- उनले सत्ताले मान्छेलाई शक्ति दिनेमात्र नभई बन्धक पनि बनाउँदो रहेछ भन्दै बालेन शाह र रवि लामिछानेको कार्यशैलीमा प्रश्न उठाएकी छन् ।
- बमले सुदूरपश्चिम भौगोलिक विभेदको सिकार भएको र काठमाडौँले यसलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
धनगढी । जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस जन्मायो । सो आन्दोलनकी एक अभियन्ता रक्षा बम अहिले पनि सरकार र व्यवस्थामाथि निरन्तर प्रश्न उठाइरहेकी छन् । सरकार र व्यवस्थाप्रति उनका प्रश्न अझै पनि उत्तिकै धारिला छन् ।
‘जेनजी’ आन्दोलनको वर्तमान अवस्था, नयाँ सरकारप्रतिको धारणा र सुदूरपश्चिमका मुद्दामा केन्द्रित रहेर रातोपाटीले रक्षा बमसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीकाे सम्पादित अंश-
- जेनजी आन्दोलन अहिले कहाँ पुग्यो ?
कुनै पनि आन्दोलनको एउटा समय हुन्छ । हामीले उठाएका मुद्दा- भ्रष्टाचारविरुद्धको लडाइँ र सुशासन एकै दिनमा वा तीन महिनामा टुङ्गिने विषय होइनन् । यो त निरन्तर चलिरहने प्रक्रिया हो । ‘मुभमेन्ट कन्टिन्युज’ भन्छन् नि, हो त्यस्तै हो । यो आन्दोलन सेलाएको होइन । यसले उठाएका मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक छन् र हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौँ ।
- जेनजी आन्दोलनभित्रै अहिले विभाजन देखिन्छ नि, थरिथरिका माग र समूह किन बने ?
एउटा सिङ्गो पुस्तामा सबैको सोच्ने तरिका एउटै हुन्छ भन्ने छैन । फरक विचार हुनु स्वाभाविक हो । विचारलाई मारेर सँगै बस्नुको कुनै अर्थ रहँदैन । जो साथीहरूलाई यो व्यवस्था र प्रक्रियामा विश्वास छ, उहाँहरू सरकारमा जानुभयो, त्यो राम्रो कुरा हो । कम्तीमा सरकारमा पनि हाम्रो प्रतिनिधित्व भयो । हामी सडकमा हुँदा उहाँहरूलाई झकझकाउने पहुँच त छ नि । कोही सडकमा, कोही सरकारमा हुँदा एक किसिमले सन्तुलन नै मिलेको छ ।
सुरुमा हामी पनि यो सरकारप्रति आशावादी थियौँ, तर सत्ताले मान्छेलाई शक्ति दिनेमात्र होइन, बन्धक पनि बनाउँदो रहेछ ।
- तपाईंलाई पनि सरकारमा जाने वा नेतृत्व गर्ने अवसर थियो, किन डराउनुभयो ?
डराएको होइन, राजनीतिक परिपक्वताको खोजी हो । यत्तिकै सदनमा गएर जनताको करको पैसाबाट तलब खाने, तर डेलिभरी दिन नसक्ने हो भने त्यसको के अर्थ ? म अपरिपक्व अवस्थामा त्यहाँ जान चाहिनँ । मेरो प्राथमिकता राजनीतिमा जाने वा पद पाउनेमात्र थिएन । तत्कालीन सङ्क्रमणकालीन अवस्थामा देशलाई निर्वाचनसम्म पुर्याउने र एउटा निकास दिने मुख्य जिम्मेवारी थियो । त्यसैले पदभन्दा बढी जिम्मेवारीमा केन्द्रित भएँ ।
- नयाँ सरकारप्रति, खासगरी प्रधानमन्त्री बालेन शाहप्रति तपाईंहरूको असन्तुष्टि देखिन्छ, किन ?
सुरुमा हामी पनि यो सरकारप्रति आशावादी थियौँ, तर सत्ताले मान्छेलाई शक्ति दिनेमात्र होइन, बन्धक पनि बनाउँदो रहेछ । सुकुमबासीको मुद्दा होस् वा बाढी व्यवस्थापन, सरकारका केही गतिविधिमा तानाशाही प्रवृत्तिको झल्को देखियो । हामी जुन प्रवृत्तिविरुद्ध सडकमा गएका थियौँ, आज त्यही प्रवृत्ति दोहोरिँदा खबरदारी गर्नु हाम्रो कर्तव्य हो ।
बालेन शाह वा रवि लामिछाने व्यक्तिप्रति मेरो कुनै रिस होइन, तर उहाँहरूको कार्यशैली र डेलिभरीमा प्रश्न छ । जनतालाई झुटा आश्वासन दिने तर व्यवस्थापन गर्न नसक्ने हो भने त्यो सफल नेतृत्व हुन सक्दैन ।
- तपाईंलाई त ‘विदेशी एजेन्ट’ को आरोप पनि लाग्ने गरेको छ नि, यसलाई कसरी लिनुहुन्छ ?
सुरु–सुरुमा यस्ता कुरा सुन्दा दुःख लाग्थ्यो । मान्छेलाई लाग्छ, कसैले निःस्वार्थ रूपमा आवाज उठाउनै सक्दैन । यदि म विदेशी एजेन्ट वा परिचालित हुन्थेँ भने त म अहिले सत्तामै हुन्थेँ होला नि, सडकमा किन बस्थेँ ? मसँग अहिले नागरिक शक्तिबाहेक केही छैन । म परिचालित भएकी भए पद र शक्ति पाउनुभन्दा सजिलो के हुन्थ्यो र ? तर म कुनै स्वार्थमा छैन, त्यसैले यस्ता आरोप पूर्ण रूपमा निराधार हुन् ।
सुदूरपश्चिम भौगोलिक विभेदको सिकार छ । हामीले पढ्ने बेला विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्दैनथे ।
- देश किन बनेन जस्तो लाग्छ ? यसमा कसको दोष बढी छ ?
मुख्य कुरा त हामीसँग स्रोत र साधनको कमी छ । भएका स्रोतको पनि समान वितरण छैन । अर्को कारण भ्रष्टाचार र कुशासन नै हो । बनाउँछु भनेर नेतृत्वमा पुग्नेहरू नै दोषी छन्, तर नागरिकको पनि जिम्मेवारी हुन्छ । देश नेताले मात्र बनाउने होइन, श्रमिकले श्रम गरेर, शिक्षकले पढाएर र व्यापारीले कर नछली देश बनाउने हो । नेतृत्वले त केवल सहजीकरण गरिदिने हो, जुन हाम्रोमा हुन सकेन ।
- सुदूरपश्चिमका मुख्य समस्या के हुन् ? काठमाडौँले यसलाई कसरी हेरिरहेको छ ?
सुदूरपश्चिम भौगोलिक विभेदको सिकार छ । हामीले पढ्ने बेला विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्दैनथे । पार्टीका पर्चा किताबभन्दा छिटो पुग्थे, तर पाठ्यपुस्तक पुग्दैनथे । शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक छ । सुदूरपश्चिम भन्नेबित्तिकै मान्छेहरूले ‘छाउपडी’ मात्र देख्छन्, तर काठमाडौँमा पनि ‘छाउरुम’ छ भन्ने बिर्सन्छन् । हाम्रो प्रदेशको विकास र यहाँका मुद्दामा केन्द्रित हुनुभन्दा पनि दलहरू सत्ता समीकरणमै व्यस्त छन् । सुदूरपश्चिमको अझै ओझेलमा रहेको प्राकृतिक सौन्दर्यलाई बाहिर ल्याउन र यहाँका मानिसको जीवनस्तर सुधार्न स्रोतको उचित बाँडफाँट जरुरी छ ।
नयाँ आउनुभएका साथीहरूलाई मेरो सुझाव छ- पहिले देश बुझ्नुहोस्, त्यसपछि मात्र देश बनाउने प्रयास गर्नुहोस् ।
- अबको तपाईंको बाटो के हो ? नयाँ पार्टी खोल्ने कि पुरानामै जाने ?
म त अहिले पनि राजनीतिमै छु नि । राजनीति गर्न पार्टी नै खोल्नुपर्छ भन्ने छैन । हामीले के खान्छौँ, कति कर तिर्छौँ र कुन विद्यालयमा पढ्छौँ- यी सबै राजनीति हुन् । म कुनै दलमा आबद्ध नभए पनि राजनीतिक रूपमा सचेत र सक्रिय हुन सक्छु । अहिलेलाई नागरिकका तर्फबाट खबरदारी गर्ने र मुद्दा उठाउने नै मेरो बाटो हो ।
- सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?
नयाँ आउनुभएका साथीहरूलाई मेरो सुझाव छ- पहिले देश बुझ्नुहोस्, त्यसपछि मात्र देश बनाउने प्रयास गर्नुहोस् । नेतृत्वमा बस्नेहरूमा संवेदनशीलता, करुणा र सहानुभूति हुनु अत्यन्त आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण