बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा बनेका कारहरूबाट पनि हुन सक्ला जासुसी ?

मङ्गलबार, २२ फागुन २०८०, ११ : ५२
मङ्गलबार, २२ फागुन २०८०

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चीनमा बनेका गाडीहरू आफ्नो देशको जासुसीका लागि प्रयोग गर्न हुन सक्छन् कि भन्नेबारे अनुसन्धान सुरु गरेका छन् । अमेरिकी सडकमा चीनमा बनेका गाडी निकै कम छन् । तर यो छानबिन त्यस्ता सवारी साधनमा प्रयोग भएका प्रविधि जासुसीका लागि पनि प्रयोग हुने सम्भावनामा केन्द्रित भएको बताइएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा बाइडेनको उम्मेदवारी बलियो देखिन्छ । यस्तोमा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए भने उनको मुख्य लक्ष्य विश्वका प्रमुख बजारमा आफ्नो उपस्थिति बढाउन खोजिरहेका चिनियाँ कार निर्माताहरूको विस्तार विरुद्ध कदम चाल्ने हुनेछ । अमेरिकाले भर्खरै चिनियाँ कार निर्माताहरूमाथि छानबिन सुरु गरेको ह्वाइट हाउसले बताएको छ । यसमा कनेक्टेड कारहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्छन् त भनेर छानबिन हुने बताइएको छ ।

चिनियाँ कार निर्माताहरूको ठुलो सङ्ख्यामा कार बनाउन सक्ने क्षमता छ । यिनीहरूको कार अन्य कम्पनीहरूको भन्दा सस्तो पनि छ । चीन विश्वको सबैभन्दा ठुलो कार र इलेक्ट्रिक कार बजार हो । बीवाईडी, एक्सपेन्ङ र नियो जस्ता केही कम्पनीहरूले पछिल्लो समयमा विदेशमा आफ्नो बजार विस्तार तीव्र पारिरहेका छन् ।

अमेरिकी बजारमा प्रवेश गरिरहेका चिनियाँ अटो ब्रान्डहरूको निकै विरोध भइरहेको छ । चिनियाँ ब्रान्डहरुको प्रवेशपछि अमेरिकी कम्पनीहरू त्रस्त बनेका छन् । केही मिडिया रिपोर्टका अनुसार एक अटो लबिङ समूहले चिनियाँ कार ब्रान्डहरूको सम्भावित प्रवेशले आफूहरू लोप हुन सक्ने बताइरहेका छन् ।

बाइडेन प्रशासनले अमेरिकामै कारको उत्पादनलाई बढवा दिने विचार गरिरहेको छ । प्रशासनले उत्तर अमेरिकामा एसेम्बल गरिएका इलेक्ट्रिक बाहनहरूमा मात्रै सहुलियत दिइरहेको छ । यो नीति मुख्यतः चीनबाट गाडी आयात गर्ने कम्पनीहरुविरुद्ध निर्देशित भएको विश्वास गरिएको छ । अमेरिकाको यस नीतिलाई चीनले पहिला नै संरक्षणवादको स्पष्ट उदाहरण भनेको थियो ।

तर बाइडेन चिनियाँ ब्रान्डहरूलाई विफल पार्न प्रतिबद्ध छन् । अहिलेसम्म उनको कुनै पनि कदम स्पष्ट भइसकेको छैन । तर अटो उद्योगको भविष्य अमेरिकामा अमेरिकी श्रमिकहरूको साथमा मिलेर बनाइने उनले बताएका थिए । रोचक कुरा चाहिँ के छ भने, अमेरिकी ब्रान्डहरू समेतका धेरै बहुराष्ट्रिय ब्रान्डहरू आफ्नो व्यापार बढाउन चिनियाँ बजारमा निर्भर छन् । चिनियाँ अटो बजारमा हिस्सा आफ्नो पोल्टामा पार्न स्थानीय र बहुराष्ट्रिय ब्रान्डहरू बिच तीव्र प्रतिस्पर्धा देखिन्छ । टेस्ला, फोर्ड र जनरल मोटर्स जस्ता कम्पनीहरू साझेदारी वा आफ्नै दममा चीनको बजारमा उभिएका छन् ।

नयाँ पुस्ताका कारहरूमार्फत जासुसी गतिविधिहरू गर्ने खतरा अमेरिकामा मात्रै छैन । सन् २०२१ मा, चिनियाँ अधिकारीहरूले टेस्ला ईभी मालिकहरूलाई सरकारी, सेना र अन्य सम्भावित संवेदनशील साइट नजिक आफ्नो कार पार्क नगर्न निर्देशन जारी गरेका थिए । टेस्लाले चीन बाहिरका स्थानहरूमा चिनियाँ ग्राहकहरूको डाटा सङ्कलन गरिरहेको शंका पनि बेइजिङले गरेको थियो । त्यसपछि टेस्लाका सीईओ एलन मस्कले यस्तो नगरिएको सार्वजनिक रूपमा घोषणा गर्नु परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप