शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस सरकारमा रहेका कांग्रेस मन्त्री भन्छन्–हामी सरकार छाड्दैनौँ

'नयाँ गठबन्धनले के गर्छ उसैलाई सोध्नुस्'
मङ्गलबार, २२ फागुन २०८०, १५ : १७
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । मधेस प्रदेश सरकारमा रहेका नेपाली  कांग्रेसका मन्त्रीहरू सत्ता गठबन्धनको निर्णयको पर्खाइमा रहेका छन् ।

केन्द्रमा कांग्रेस–माओवादीको सत्ता गठबन्धन भत्किए पनि मधेस प्रदेशमा गठबन्धन कायमै रहेको भन्दै कांग्रेसका मन्त्रीहरू सरकारमा रहेका हुन् ।  

मधेस सरकारमा भौतिक मन्त्री रहेका कांग्रेस नेता कृष्ण यादवले आफ्नो पार्टी सरकारमा रहेको र सरकारमा राख्ने नराख्ने निर्णय गर्ने अधिकार नयाँ गठबन्धनसँग रहेको बताए । उनले भने, ‘अहिलेसम्म कांग्रेस मधेस प्रदेश सरकारमा छ, कांग्रेसको बारेमा के निर्णय गर्छ त्यो नयाँ गठबन्धनलाई सोध्नुस् ।’

कांग्रेसका नेता एवं गृह, सञ्चार एवं कानुन मन्त्री मोहम्मद समिमले केन्द्रमा जेजस्तो निर्णय भएपनि मधेस प्रदेशमा कुनै निर्णय नभएको बताए । आफूहरू सरकारबाट तत्काल राजीनामा दिने पक्षमा नरहेको भन्दै उनले नयाँ गठबन्धन सरकारले के गर्छ भन्ने आफूहरूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘यो सरकारको बारेमा पार्टीमा निर्णय हुन बाँकी छ । पार्टीमा छलफल गरेर अगामी रणनीतिको बारेमा निर्णय लिन्छौँ, अहिले कुनै हडबड छैन ।’

यता, सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी पनि कांग्रेसलाई सरकारबाट हटाउने पक्षमा छैन । सरकार अल्पमतमा जाने डरले जसपाले कांग्रेसलाई सरकारबाट हटाउन चाहेको छैन । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले अहिले कांग्रेसलाई सरकारबाट हटाउने कुनै निर्णय नभएको बताए । मुख्यमन्त्री अहिले कुनै पार्टीलाई सरकारबाट हटाउने पक्षमा नरहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप