आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

वैदेशिक शिक्षाको नाममा ७ महिनामा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरियो

८५ हजारभन्दा बढीले मागे एनओसी
सोमबार, २८ फागुन २०८०, १६ : ५२
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । ‘अब्रोड स्टडी’ अर्थात् वैदेशिक शिक्षाका नाममा देश छाड्नेको जमात बढ्दो छ । वैदेशिक रोजगार तथा श्रमका लागि बिदेसिने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला पछिल्लो समय शिक्षाका लागि बाहिरिनेहरू पनि बढेका हुन् । 

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाको नाममा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष, २०७९/८० मा यही शीर्षकमा एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । 

पछिल्लो १७ महिनाको तथ्याङ्कलाई हेर्दा वैदेशिक शिक्षाकै नाममा १ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ बाहिरिँदा बौद्धिक जनशक्ति पलायनको बाटोमा रहेको प्रस्ट हुन्छ । 

  • ७ महिनामा ८५ हजार बढीले मागे एनओसी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ८५ हजार भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) माग गरेका छन् । 

तर, पछिल्लो महिनाको तथ्याङ्क अद्यावधिक भइनसकेकोमा पुस मसान्तसम्म कूल ५१ हजार ५६७ जनालाई एनओसी प्रदान गरिएको शिक्षा मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले रातोपाटीलाई जानकारी दिए । जसमध्ये सबैभन्दा बढी क्यानडाका लागि १२ हजार ४९ जनाले एनओसी लिएका छन् । 

यस्तै, समीक्षा अवधिमा अस्ट्रेलियाका लागि ९ हजार ७७७ जनाले एनओसी लिएकोमा जापानका लागि ८ हजार ५६७ जनाले, बेलायतका लागि ६ हजार ६८८ जनाले, अमेरिकाका लागि ५ हजार ३१४ जनाले र रिपब्लिक अफ कोरियाका लागि २ हजार ३५९ जनाले एनओसी लिएको मन्त्रालयले जनाएको छ । 

कूल ५८ देशका लागि ८५ हजार बढी शैक्षिक अनुमति माग भएकोमा २ हजार ५८१ एनओसी रिजेक्ट भएको समेत मन्त्रालयले जनाएको छ । ६ महिनाको छोटो समयमा नै ८५ हजार बढीले आवेदन दिनुले ठुलो बौद्धिक जमान देश छाड्न तयार रहेको प्रस्ट हुन्छ । 

  • बढ्दो विदेश पलायन रोक्न सरकारको के छ योजना ?

शैक्षिक यात्राको नाममा दैनिक जसो हजारौँ बौद्धिक युवाहरू विदेशी रहेको र यसले ठुलो आर्थिक पलायन समेत गराइरहेको प्रति पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चिन्ता व्यक्त गरेका छन् ।  

‘६-७ महिनामा नै शैक्षिक यात्राको नाममा ६०-७० अर्ब रुपैयाँ बाहिरिनु सानो कुरा होइन । यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भनेका छन् ।

केही समय अघि अर्थ समितिमा मुलुकको अर्थतन्त्रको अवस्था र सुधारका विषयमा छलफल बैठकमा भाग लिएका पाण्डेले सरकारले बौद्धिक पलायन रोक्न र मुलुक भित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न सरकार लाग्नुपर्ने बताएका थिए । नत्र, बौद्धिक पलायनलाई रोक्न नसकिने उनको तर्क थियो । 

वृहत् योजना बनाउँदै छु ः मन्त्री श्रेष्ठ

नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रको सुधारसँगै युवा लक्षित कार्यक्रमका लागि आफूले वृहत् योजना बनाउँदै गरेको बताएकी छन् । 

६-७ महिनाको अवधिमा नै ८५ हजारभन्दा बढीले वैदेशिक शिक्षाका लागि एनओसी लिएको र ६६ अर्ब बढी बाहिरिएको सन्दर्भमा यस्तो स्थितिको समाधानका लागि तपाईंले योजना के बनाउनुभएको छ ?’ भन्ने रातोपाटीको प्रश्नमा मन्त्री श्रेष्ठले यस बारे आफूले अध्ययन गरिरहेको र छिट्टै वृहत् योजना ल्याउने बताइन् । 

‘अहिले म तथ्याङ्क अध्ययनकै क्रममा छु । मुलुकको समग्र शैक्षिक क्षेत्र सुधारका लागि त्यसको नीतिगत र व्यवहारिक पक्षको ग्रास रुटदेखि नै सुधारको खाँचो छ । यसैको एक अंश वैदेशिक शिक्षामा बढ्दो आकर्षण हो । यसलाई रोक्न र देशमा नै सुधारिएको शैक्षिक प्रणालीको विकास गर्न वृहत् योजना बनाउँदैछु,’ मन्त्री श्रेष्ठले रातोपाटीसँग भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप