सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ जारी

आइतबार, १६ वैशाख २०८१, १५ : ३२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो । 

मन्त्रालयले गत वैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो । यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहरुसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरू एकद्धार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो । 

श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, हट्सयावप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् । 

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूमा सिफारिस गरिनेछ । गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ । 

गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ । श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका माहाशाखाहरु, वैदेशिक रोजगार विभागका र मातहतका कार्यालयहरू, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरू,  राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ । 

श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्ताबेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रूप तयार गरी गुनासोहरु अभिलेखीकरण गरिनेछ । 

दस्ताबेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरूको दस्ताबेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिक रूपमा प्रिन्ट गरेर राख्नुपर्नेछ । मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्नेछ । मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्नेछ ।

आफ्नो निकाय अन्तर्गतका कार्यालयहरूसँग सम्बन्धित साईट, लेटर प्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यसका साथै श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरूको कि परफरमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वयन गर्नुपर्नेछ । हरेक महिना प्राप्त गुनासो त्यसको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्नेछ । 

कसरी गर्ने समस्या, गुनासो, जिज्ञासा र सुझाव दर्ता ?

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन् । 

कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर ।

श्रमाधानको एपको प्रयोग गरेर । 

टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।

+९७७ –९८०१८०००१३, +९७७ – ०१–५९७०००८ वा +९७७ –९८५१३४७२२२ मा कल वा एसएमएस गरेर ।

विभिन्न Voice Over Internet Protocol (VO IP) नम्बरमा सम्पर्क गरेर ।

इमेल ठेगाना [email protected] मा इमेल गरेर । 

श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2 मा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज x.com/shramadhan2 मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानल youtube.com/@shramadhan मा कमेन्ट गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम ID Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।  

+९७७–९८०१८०००१३, +९७७ –९८०१३०००३३, +९७७–९८५१३४७२२२ मा इमो, भाइबर, हट््सएप, सिग्नल मार्फत म्यासेज पठाएर ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप