कांग्रेस संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा छैन : रामहरि खतिवडा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
ढुवानी व्यवसायी महासङ्घ, नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानुन निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए ।
उनले भने, ‘अहिले संसद्मा अलिकति खच्याकखुचुक भएको तपाइहरुले देख्नुभएको छ । संसदीय व्यवस्था हो । कहिले माननीय मन्त्रीजीहरूले हिजो, अस्तिसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौँ । तर हामी यति प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ– हामी संसद्लाई बन्धक बनाएर जनताको कानुन निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन । एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजानुपर्छ भन्ने छ ।’
उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रियसभामा गरेर प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
कांग्रेस सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढ्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत