मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्ज नर्सिङ कलेजमा स्ववियुले लगायो ताला

सोमबार, ०५ चैत २०८०, १९ : १५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठान गरेका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो ।

विगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए । लामो समयदेखि क्याम्पस, डीनसँग वार्तामा बस्ने तर, सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ ।

सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप–सभापति आकृति ढकालले बताइन् ।

डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तिनै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उनको भनाइ छ ।

संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदा भित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप–सभापति ढकालले बताइन् ।

क्याम्पसले एउटा फ्याकल्टी भन्ने तर, डीन कार्यालयले अर्कै फ्याकल्टीको हो भन्ने गरेको उनको भनाइ छ । क्याम्पसमा आएको १० महिना बितिसक्दा पनि हातमा पाठ्यक्रम समेत नगरेको उनले बताइन् ।

पाठ्यक्रम नदिएर कहिले बीएस्सी मिडवाइफको पाठ्यक्रम दिएर पठाउने गरेको उनको भनाइ छ । कहिले बीएमएसको पाठ्यक्रम पहिले नै बनेको छ भन्दै रातारात किर्ते पाठ्यक्रम बनाएर देखाउने गरेको उनको भनाइ छ ।

यस्तो खालको गैरजिम्मेवारीपनले विद्यार्थीको भविष्यमाथि नै खेलबाड हुने गरेको उनको भनाइ छ । त्यस्तै क्याम्पस, होस्टेल, क्यान्टिन व्यवस्थापनको माग राखेर विभिन्न समयमा मागपत्र बुझाएको तर, सुनुवाइ नभएको बताइन् । यी मागहरू सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप