सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय समिति गठन गरी नैतिक प्रश्न उठेका सबैमाथि छानबिन गरौँ : नैनसिंह महर

मङ्गलबार, ०६ चैत २०८०, १६ : २८
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको बताएका छन्। प्राज्ञिक विमर्श समूहले काठमाडौँको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढेको बताए।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ। कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ,’ उनले भने ।

संसदमा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेपनि सांसदहरूको गैर जिम्मेवार व्यवहारका कारण समिति गठन हुन नसकेको महरको भनाइ छ । ‘देशप्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक छ । सांसद साच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकबाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ। यसका लागि विधेयक आवश्यक परे त्यो पनि ल्याउनुपर्छ,’ उनले भने।

त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ।

‘कानुन र नैतिकता अलि फरक हुन्। कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ। नैतिकता भनेको उसले पालना गर्ने आचरण हो। तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ,’ उनले भने।

यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ। नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृत गतिमा अगाडि बढाउन नसकिएको उनले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप