आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कूटनीति

‘बोआओ’ सम्मेलन किन आउँछ बारम्बार विवादमा ?

यस पटक कसले प्रतिनिधित्व गर्ने भन्ने अझै लागेन टुङ्गो
बुधबार, ०७ चैत २०८०, १४ : ५३
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । चीनमा हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’मा नेपालबाट कसले प्रतिनिधित्व गर्ने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । चैत १३ र १४ गते हुने सम्मेलनमा सहभागी हुन चीनले नेपाललाई निम्ता पठाइसकेको छ ।

चीनले सो सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिताको अपेक्षा गरेको छ । त्यसका लागि चीनले आवश्यक प्रयाससमेत गरिरहेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमध्ये कोही एक जना सहभागी भइदिए राम्रो हुन्थ्यो भन्ने चीनको अपेक्षा रहे पनि यीमध्ये कोही जाने सम्भावना नदेखिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेको कारण उनी जाने सम्भावना छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोजमा चीनको भ्रमण गरेकाले अहिले फेरि जाने सम्भावना नरहेको स्रोत बताउँछ ।

त्यस्तै, उपराष्ट्रपति रामसहाय यादवले पनि गत साउनमा चीनको भ्रमण गरिसकेका छन् । त्यसैले उनी पनि अहिले जाने अवस्थामा नरहेको बताइएको छ । सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिताका लागि चीनले अनौपचारिक च्यानलबाट प्रयास गरे पनि औपचारिक निमन्त्रणा कसैलाई नआएको बताइएको छ ।

बोआओ सम्मेलनमा कसलाई पठाउने भन्नेबारे परराष्ट्र मन्त्रालय अझै छलफलमै छ । उपप्रधान तथा परराष्ट्रमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले चीन भ्रमणका लागि एउटा निम्तो आएको तर त्यो बोआओका लागि नभएर अर्कै कार्यक्रमका लागि रहेको बताए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बोआओ सम्मेलनका लागि चीनबाट कुनै निम्ता आएको छैन र कुनै कुराकानी पनि भएको छैन । त्यही भएर प्रधानमन्त्री प्रचण्ड चीन जाने सम्भावना नै नरहेको स्रोतले बतायो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री नजाने भएपछि सो सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री जाने सम्भावना देखिए पनि अझै टुङ्गो लागिसकेको छैन ।

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बोआओ सम्मेलनमा को सहभागी हुने भन्नबारे कूटनीतिक च्यानलमा कुराकानी चलिरहेको बताए । उनले यसबारे चाँडै टुङ्गो लाग्ने जानकारी दिए ।

बोआओ सम्मेलनमा कसलाई पठाउने भन्नेबारे परराष्ट्र मन्त्रालय अझै छलफलमै छ । उपप्रधान तथा परराष्ट्रमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले चीन भ्रमणका लागि एउटा निम्तो आएको तर त्यो बोआओका लागि नभएर अर्कै कार्यक्रमका लागि रहेको बताए ।

‘मन्त्रालयसँग सम्बन्धित निम्तो आएको हो, त्यसमा जाने कि नजाने भन्नेबारे टुङ्गो लागेको छैन । यसबारे अझै छलफल चलिरहेको छ,’ श्रेष्ठले भने । तर परराष्ट्र मन्त्रालयको अर्को स्रोत भन्छ, ‘सम्भवतः परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नै जाने सम्भावना देखिएको छ तर अझै टुङ्गो लागेको छैन ।’

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले बोआओ सम्मेलन नजिक आइसके पनि नेपालबाट को सहभागी हुने भन्नेबारे आफूलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘सम्मेलन हुन ६–७ दिनमात्र बाँकी छ । नेपालबाट को सहभागी हुने भन्नेबारे मलाई कुनै जानकारी आएको छैन । चीन सरकारले सिधै उतै निम्तो दिएको होला र सायद यसको बारेमा तयारी भइरहेको होला ।’

उनले आफू प्रि–इन्भेस्टमेन्ट समिटको तयारीमा लागेको बताए । बैठक १६ देखि १७ गतेसम्म हुने नेपालमा हुने लगानी सम्मेलनको तयारीमा लागि चीनमा नेपाली दूतावास मार्च २३ देखि चीनका विभिन्न सहरमा प्रि–इन्भेस्टमेन्ट समिटको तयारीमा जुटेको छ ।

  • बोआओ सम्मेलन किन आउँछ विवादमा ?

चीनमा हुने बोआओ सम्मेलन नेपालको सन्दर्भमा पटकपटक विवादमा आउने गरेको छ । गत वर्ष पनि चीनले प्रधानमन्त्री प्रचण्डलाई सो सम्मेलनमा सहभागी हुन निम्तो दिएको थियो । तर प्रधानमन्त्री प्रचण्ड चीन नगएर भारत भ्रमणमा गएका थिए ।

गत वर्ष चैत १४ देखि १७ गतेसम्म भएको सो सम्मेलनमा सहभागी हुन नेपालका लागि चिनियाँ राजदूत चेन सोङले २०७९ फागुन १० गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर निम्तो दिएका थिए । तर प्रधानमन्त्री प्रचण्ड उक्त सम्मेलनमा गएनन् ।

नेपाल बोआओ फोरम फर एसियाको संस्थापक सदस्य हो तर त्यसमा कहिले सहभागी हुने, कहिले नहुने, कहिले चीनबाट निम्तो आउने, कहिले नआउने देखिएको छ ।

सन् २००१ मा स्थापना भएको बोआओ फोरमको पहिलो सम्मेलन २००२ मा भएको थियो । त्यसमा नेपालबाट  तत्कालीन राजा वीरेन्द्र शाह सहभागी भएका थिए । त्यसपछिको अर्को सम्मेलनमा तत्कालीन राजा ज्ञानेन्द्र शाह सहभागी भएका थिए ।

3147d7a8-a99b-44c0-bf3c-ce5f2ac65c07

देशमा गणतन्त्र स्थापना भएपछि चिनियाँ राष्ट्रपतिको निम्तो पाएर सन् २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादव सहभागी भएका थिए भने सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

pm-goa-1-1

सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी सो सम्मेलनमा सहभागी भए । तर, सन् २०१८ को बोआओ सम्मेलनका लागि चीनबाट निम्ता पाए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन नगएर भारत भ्रमणमा गएका थिए ।

सन् २०१९ मा बोआओ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् । सन् २०२० मा कोभिड–१९ को कारण सो सम्मेलन स्थगित भएको थियो ।

सन् २०२१ मा भएको बोआओ सम्मेलनका लागि उच्च तहको निम्तो नआएपछि चीनका लागि नेपालका तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डे सहभागी भएका थिए । सन् २०२२ को सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भर्चुअल सम्बोधन गरेकी थिइन् ।

सन् २०२३ मा प्रधानमन्त्री प्रचण्डलाई सो सम्मेलनका लागि निम्तो आएको थियो । तर उनले भारत भ्रमणलाई प्राथमिकतामा राखे । प्रधानमन्त्री प्रचण्ड नगएपछि चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ सहभागी भएका थिए ।

सन् २०२४ मा हुने सम्मेलनका लागि उच्चस्तरीय निम्तो नआएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । गत वर्ष प्रधानमन्त्री प्रचण्ड नगएपछि यसपटक चीनले पनि उच्चस्तरीय निम्तो दिएको छैन । यद्यपि अनौपचारिक तहबाट उच्चस्तरीय भ्रमण गराउने दाउमा चीन रहेको तर नेपालले कसलाई सहभागी गराउने भन्ने टुङ्गो लगाउन बाँकी रहेको जनाइएको छ ।

  • के हो बोआओ सम्मेलन ?

बोआओ सम्मेलन एसियाली देशहरूको बिचमा क्षेत्रीय आर्थिक सहयोग बढाउनका लागि सन् २००१ मा गठन गरिएको थियो । सुरुमा गठन हुँदा २६ देश सदस्य थिए, जसमध्ये नेपाल पनि एक हो । यसको केन्द्रीय कार्यालय चीनको हेनान प्रान्तको बोआओमा छ । त्यसैले यसलाई बोआओ सम्मेलनको नामबाट पनि चिन्ने गरिन्छ ।

यसको अगुवाइ चीनले गरे पनि यसको सुरुवात फिलिपिन्सको पूर्व राष्ट्रपति फिदेल वी रैमोस, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बांब हांक र जापानका पूर्व प्रधानमन्त्री मोरीहिरो होसोकावाले गरेका थिए । राष्ट्र–राष्ट्रबिच सहयोग र एकता प्रवर्द्धन गर्दै  क्षेत्रीय आर्थिक एकीकरण, खुलापन एवम् समावेशी विकासलाई केन्द्रमा राखेर प्रत्येक वर्ष हुँदै आएको सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख, उद्योगपति, विभिन्न क्षेत्रका विज्ञ, सञ्चारकर्मीको सहभागिता हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप