आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १६ वैशाख २०८१, २१ : ४४
आइतबार, १६ वैशाख २०८१

आज २०८१ वैशाख १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा उपनिर्वाचन : इलाम–२ र बझाङ १ (१) मा एमालेको अग्रता, तेस्रो लगानी सम्मेलन सुरु, लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय, नागरिक उन्मुक्ति पार्टीमा रेशम–रञ्जिता विवाद सुल्झियो ?, सन्दीपको मुद्दामा भएन सुनुवाइ, दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग पराजित भयो नेपाल, सेयर बजारमा लगानी सम्मेलनको प्रभाव लगायत छन् ।

१. उपनिर्वाचन : इलाम–२ र बझाङ १ (१) मा एमालेको अग्रता
उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १(१) मा एमालेले अग्रता बनाएको छ । दुवै निर्वाचन क्षेत्रमा आइतबार मतगणना सुरु भएको हो ।

२. तेस्रो लगानी सम्मेलन सुरु
नेपालमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । आइतबार काठमाडौँमा लगानी सम्मेलन उद्घाटन भएको हो ।

३. लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय
चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष अदालतले उनलाई तीन वर्ष कैद निर्धारण गरेको हो ।

४. नागरिक उन्मुक्ति पार्टीमा रेशम–रञ्जिता विवाद सुल्झियो ?
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पछिल्लो दुई महिनादेखि मच्चिएको रडाको रोकिएको छैन । संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले मिलाप गरेको तस्बिर सार्वजनिक गर्दै मन माझामाझको सन्देश दिन खोजे पनि पार्टीभित्रको विवाद भने कायम रहेको हो ।

५. सन्दीपको मुद्दामा भएन सुनुवाइ
क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । 

६. दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भयो नेपाल
दोस्रो टी–२० क्रिकेटमा आइतबार घरेलु टोली नेपाल पराजित भएको छ । वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हराएको हो । वेस्ट इन्डिजको जितसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

७. सेयर बजारमा लगानी सम्मेलनको प्रभाव
आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैगर्दा यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको लगानी सम्मेलनको पहिलो दिन नेप्से सूचक १४.३३ अङ्कले बढ्दै १९८०.२७ अङ्कमा उक्लिएको हो ।

८. मधेस सरकार विस्तार
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

९. विश्वकै प्रदुषित सहर बनेको काठमाडौँ तुवाँलोमय
देशभर डढेलोको प्रकोप फैलिँदा काठमाडौँ सहित देशभरिको वायुको गुणस्तर अस्वस्थकर रहेको छ । गर्मी सुरु भएसँगै डढेलोको प्रकोप बढिरहँदा कचौरा आकारको काठमाडौँ उपत्यकालाई तुवाँलोले ढाकेको छ ।  

१०. इलाममा अपेक्षित मत नआएको रास्वपाको स्वीकारोक्ति
इलाम–२ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई अपेक्षित मत नआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । रास्वपा इलामका नेता सन्तोष श्रेष्ठले आफ्नो पार्टीले अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याए पनि अपेक्षित मत भने आउन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप