बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नेसपा विवाद

माओवादीसँग पार्टी एकताको भ्रमपूर्ण प्रचार भयो : बाबुराम भट्टराई

बुधबार, ०७ चैत २०८०, १६ : ०५
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता गर्न लागिएको भ्रमपूर्ण प्रचार भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार पत्रकार सम्मेलन गर्दै माओवादीसँग पार्टी एकता नभई केही व्यक्ति प्रवेश गर्न लागेको बताए । 

‘केही समययता हाम्रा केही साथीहरू आन्दोलनमा थाकेजस्तो छ । त्यसले गर्दा यात्रामा हिँड्नु भन्दा चौतारामा बसौँ, छिमेकीको घरमा गएर मिठो खाना खाऔँ भन्ने जस्तो यात्रीलाई अनुभूत हुन्छ,’उनले भने,‘साथीहरूलाई पनि त्यस्तै भएर साथीहरूले (माओवादीमा प्रवेश) गर्न खोज्नु भयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा भएन । त्यो त निरन्तर चल्छ ।’

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केही मान्छे पार्टी प्रवेश भएको कुरालाई पार्टी मर्ज भएको ढंगले वक्तव्य आउनुले आफूहरू आश्चर्यचकित भएको भट्टराईले बताए । ‘हाम्रो ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेका छौँ । पार्टी एकता भनेर भ्रमपूर्ण र जालसाक्षी प्रचार गरियो,’ उनले भने, ‘कोही साथी कुनै पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर पठाउने नयाँ संस्कार बसाउन चाहन्छौँ । यसलाई हामीले ठुलो विषय मानेको होइन ।’

१० वर्ष अगाडि देशमा नयाँ शक्तिको खाँचो भनेर आफूले सुरु गरेको अभियान अगाडि बढिरहेको उनले बताए । ‘संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा नयाँ शक्तिको अभियान सुरु गर्‍यौँ । त्यो सँग-सँगै विवेकशील साझा आदि हुँदै स्वतन्त्र अभियान हुँदै पुराना शक्तिहरूको विकल्पमा नयाँ शक्ति निर्माण गर्ने क्रम अगाडि बढिराखेको छ । यसमा सुरुवातकर्ता हामी हो । हाम्रो अभियान कता हराएजस्तो भयो । के भयो नयाँ होकि पुरानो हो भनेजस्ता पर्न गयो,’ उनले भने । 

यस्तै उनले राजनीतिक स्थिरता विना देशमा सुशासन हुन नसक्ने बताए । ‘त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित संसद्को व्यवस्था हुनै पर्छ । त्यसो नभएसम्म यो देशमा स्थायित्व हुँदैन । भ्रष्टाचार निवारणका लागि अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर जानुपर्छ ,’ भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप