सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान

बिहीबार, ०८ चैत २०८०, १० : ०५
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो । 

प्रतियोगिताको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ । 

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । यहाँ सन् २००८ मा आईपीएल सुरु भएदेखि हालसम्म सर्वाधिक सफल कप्तानको विषयमा चर्चा गरिएको छ ।

आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान रोहित शर्मा र महेन्द्रसिंह धोनी हुन् । महेन्द्रसिंह धोनी भारतीय टोलीका पूर्वकप्तान हुन् भने रोहित शर्मा वर्तमान कप्तान । यी दुवैले आईपीएलमा हालसम्म आफ्नो टोलीलाई पाँच–पाँच पटक उपाधि चुमाइसकेका छन् । 

त्यसमध्ये पनि रोहित शर्मा आफ्नो टोलीलाई पाँचपटक आईपीएलको उपाधि चुमाउने पहिलो कप्तान हुन् । उनकै कप्तानीमा मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि उनले कप्तानको भूमिकामा मुम्बईलाई सन् २०१५, सन् २०१७, सन् २०१९ र सन् २०२० मा पनि उपाधि चुमाएका थिए ।

यसैगरी महेन्द्रसिंह धोनीले कप्तानका रूपमा आफ्नो टोली चेन्नई सुपर किङ्सलाई सन् २०१० मा पहिलो पटक आईपीएलको उपाधि दिलाएका थिए । त्यसपछि उनले सन् २०११,  सन् २०१८, सन् २०२१ र सन् २०२३ मा पनि कप्तानको भूमिकामा चेन्नईलाई उपाधि चुमाएका थिए ।

यसैगरी गौतम गम्भीरले पनि कप्तानको भूमिकामा हालसम्म दुईपटक आईपीएलको उपाधि जितिसकेका छन् । कोलकाता नाइट राइडर्सले सन् २०१२ र सन् २०१४ मा आईपीएलको उपाधि जित्दा गौतम गम्भीर टोलीका कप्तान थिए ।

यसैगरी अस्ट्रेलियाका शेन वार्न, एडम गिलक्रिस्ट र डेभिड वार्नरले पनि कप्तानको भूमिकामा एक–एक पटक आईपीएलको उपाधि जितेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा पहिलो संस्करणको उपाधि जित्दा शेन वार्न टोलीका कप्तान थिए ।

यसैगरी सन् २००९ मा डेक्कन चार्जसले आईपीएलको दोस्रो संस्करणको उपाधि जित्दा एडम गिलक्रिस्ट टोलीका कप्तान थिए । सन् २०१६ मा सनराइजर्स हैदराबादले आईपीएलको उपाधि चुम्दा भने अस्ट्रेलियाका डेभिड वार्नर टोलीका कप्तान थिए । 

यसका अतिरिक्त भारतका हार्दिक पाण्ड्याले पनि कप्तानको रूपमा एकपटक आईपीएलको उपाधि जितेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा हार्दिक पाण्ड्या टोलीको कप्तान रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप