आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

यस्तो छ विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट आईपीएलको इतिहास

बुधबार, ०७ चैत २०८०, १० : ४२
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७औँ संस्करण हो । 

प्रतियोगिताको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । पहिलो खेल मार्च २२ मा हुनेछ भने २१औँ खेल अप्रिल ७ तारिखमा खेलिने छ । 

हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेलिने छ । पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । यहाँ आईपीएलको पहिलोदेखि १६औँ संस्करणसम्म उपाधि जित्ने टोलीको बारेमा चर्चा गरिएको छ । 

  • पहिलो संस्करण

आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । पहिलो संस्करण आठवटा टोलीले सहभागिता जनाएका थिए । पहिलो संस्करणमा कुल ५९ खेल भएको थियो । प्रतियोगिताको पहिलो संस्करणको उपाधि राजस्थान रोयल्सले जितेको थियो ।

2008 ipl

मुम्बईमा खेलिएको फाइनल खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । राजस्थान रोयल्सको कप्तानको भूमिकामा अस्ट्रेलियाका शेन वार्न थिए । 

राजस्थान रोयल्सका शेन वाट्सन सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । वाट्सन अस्ट्रेलियन खेलाडी हुन् । पहिलो संस्करणमा किङ्स–११ पञ्जाबका सान मार्सले सर्वाधिक ६ सय १६ रन बनाएका थिए । उनी पनि अस्ट्रेलियन खेलाडी हुन् । राजस्थान रोयल्सका सोहेल तनवीरले सर्वाधिक २२ विकेट लिएका थिए । 

  • दोस्रो संस्करण

आईपीएलको दोस्रो संस्करण सन् २००९ मा आयोजना भएको थियो । दोस्रो संस्करणमा पनि आठवटा टोलीले नै भाग लिएका थिए । प्रतियोगिताका क्रममा कुल ५९ खेल खेलिएको थियो । दोस्रो संस्करणको उपाधि डेक्कन चाजर्सले जितेको थियो । 

2009

दोस्रो संस्करण दक्षिण अफ्रिकामा खेलाइएको थियो । वन्डरर्स स्टेडियममा खेलाइएको फाइनल खेलमा डेक्कन चाजर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले हराएको थियो । दोस्रो संस्करणमा डेक्कन चाजर्सका एडम गिलक्रिस्ट (अस्ट्रेलिया) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

गिलक्रिस्ट डेक्कन चाजर्सका कप्तान पनि थिए । चेन्नई सुपर किङ्सका म्याथ्यु ह्याडेन (अस्ट्रेलिया) सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले कुल पाँच सय ७२ रन बनाएका थिए । डेक्कन चाजर्सका रुद्रप्रताप सिंह सर्वाधिक विकेट लिने खेलाडी बने । उनले कुल २३ विकेट लिएका थिए ।

  • तेस्रो संस्करण

आईपीएलको तेस्रो संस्करण सन् २०१० मा भारतमै आयोजना भएको थियो । तेस्रो संस्करणमा पनि आठवटा टोलीले नै सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ६० खेल खेलाइएको थियो । तेस्रो संस्करणको उपाधि चेन्नई सुपर किङ्सले जितेको थियो ।

2010

फाइनलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गरेको थियो । फाइनल खेल मुम्बईमा खेलिएको थियो । मुम्बई इन्डियन्सका सचिन तेन्दुल्कर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । प्रतियोगितामा उनले कुल ६ सय १८ रन बनाएका थिए । सचिन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए । 

यसैगरी डेक्कन चाजर्सका प्रज्ञान ओझा सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले प्रतियोगितामा कुल २१ विकेट लिएका थिए । उपाधि विजेता टोली चेन्नई सुपर किङ्का कप्तान महेन्द्रसिंह धोनी थिए । चेन्नई सुपर किङ्सले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो ।

  • चौथो संस्करण

आईपीएलको चौथो संस्करण सन् २०११ मा आयोजना भएको थियो । चौथो संस्करणमा सहभागी टोलीको सङ्ख्या बढाएर १० पुर्‍याइएको थियो । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइएको थियो । प्रतियोगिताको सबै खेल भारतमै खेलाइएको थियो ।

133523

प्रतियोगिताको उपाधि महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको थियो । चेन्नईमै खेलाइएको फाइनलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५८ रनले हराएको थियो । चेन्नई लगातार दुईपटक आईपीएलको उपाधि चुम्ने पहिलो टोली पनि बनेको थियो । 

चौथो संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरका क्रिस गेल (वेस्ट इन्डिज) सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल ६ सय आठ रन बनाएका थिए । उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए । मुम्बई इन्डियन्सका लासिथ मालिंगा (श्रीलंका) सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल २८ विकेट लिए । 

  • पाँचौँ संस्करण

आईपीएलको पाँचौँ संस्करण सन् २०१२ मा आयोजना भएको थियो । पाँचौँ संस्करणमा टोलीको सङ्ख्या घटाएर नौवटा बनाइएको थियो । प्रतियोगिताका क्रममा कुल ७६ खेल खेलाइएको थियो । पाँचौँ संस्करणको उपाधि भने गौतम गम्भीरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सले जितेको थियो ।

DAWCedrVoAIu8Zr

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेलाइएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । कोलकाता नाइट राइडर्सले जितेको यो पहिलो आईपीएल उपाधि थियो । चेन्नई भने उपाधिमा ह्याट्रिक गर्नबाट चुकेको थियो । 

पाँचौँ संस्करणमा सुनिल नारिन (वेस्ट इन्डिज) सर्वोत्कृष्ट खेलाडी बनेका थिए । रोयल च्यालेन्जर्स बैंगलोरका क्रिस गेल (वेस्ट इन्डिज) सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले प्रतियोगितामा कुल सात सय ३३ रन बनाएका थिए । दिल्ली डेयरडेभिल्सका मोर्ने मोर्केल (दक्षिण अफ्रिका) सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका थिए । उनले २५ विकेट लिएका थिए ।

  • छैटौँ संस्करण

आईपीएलको छैटौँ संस्करण सन् २०१३ मा आयोजना भएको थियो । छैटौँ संस्करणमा नौवटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ७६ खेल खेलिएको थियो । छैटौँ संस्करणको उपाधि रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले जितेको थियो ।

60863132_10157140980545429_8191861909016805376_n

कोलकातास्थित ईडेन गार्डेन स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई २३ रनले हराएको थियो । मुम्बईले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो । छैटौँ संस्करणमा राजस्थान रोयल्सका शेन वाट्सन (अस्ट्रेलिया) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

छैटौँ संस्करणमा चेन्नई सुपर किङ्सका माइकल हसी (अस्ट्रेलिया) सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल सात सय ३३ रन बनाएका थिए । चेन्नई सुपर किङ्सकै ड्वेन ब्राभो (वेस्ट इन्डिज) सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले ३२ विकेट लिएका थिए ।

  • सातौँ संस्करण

आईपीएलको सातौँ संस्करण सन् २०१४ मा आयोजना भएको थियो । सातौँ संस्करणमा सहभागी टोलीको सङ्ख्या घटाएर आठमा झारिएको थियो । प्रतियोगिता अवधिभरमा क्रममा कुल ६० खेल खेलाइएको थियो ।

ezgif.com-gif-maker_2120220601074118

सातौँ संस्करणको उपाधि गौतम गम्भीरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सले जितेको थियो । बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा खेलाइएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले जितेको यो दोस्रो आईपीएल उपाधि थियो । 

सातौँ संस्करणमा पञ्जाब किङ्सका ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । कोलकाता नाइट राइडर्सका रोविन उथप्पा सर्वाधिक रन बनाउने खेलाडी भए । उनले कुल ६ सय ६० रन बनाए । चेन्नई सुपर किङ्सका मोहित शर्मा सर्वाधिक विकेट लिने बलर बने । उनले कुल २३ विकेट लिए । 

  • आठौँ संस्करण

आईपीएलको आठौँ संस्करण सन् २०१५ मा आयोजना भएको थियो । आठौँ संस्करणमा आठवटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता अवधिभरमा कुल ६० खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि मुम्बई इन्डियन्सले जितेको थियो । 

2015

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो । कोलकातास्थित ईडेन गार्डेन रंगशालामा खेलाइएको फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले पराजित गरेको थियो ।

आठौँ संस्करणमा कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल (वेस्ट इन्डिज) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । सनराइजर्स हैदराबादका डेभिड वार्नर (अस्ट्रेलिया) सर्वाधिक रन बनाउने खेलाडी बने । उनले कुल पाँच सय ६२ रन बनाए । चेन्नई सुपर किङ्का ड्वेन ब्राभो (वेस्ट इन्डिज) सर्वाधिक विकेट लिने बलर बने । उनले कुल २६ विकेट लिएका थिए । 

  • नवौँ संस्करण

आईपीएलको नवौँ संस्करण सन् २०१६ मा आयोजना भएको थियो । नवौँ संस्करणमा पनि आठवटा टोलीले मात्र सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ६० खेल खेलाइएको थियो । नवौँ संस्करणमा आईपीएलले नयाँ विजेता पाएको थियो । 

13320957_10154261007019490_1598034125785763714_o

नवौँ संस्करणको उपाधि सनराइजर्स हैदराबादले जितेको थियो । एम चिन्नास्वामी स्टेडियममा खेलिएको फाइनल खेलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई आठ रनले हराएको थियो । त्यतिबेला सनराइजर्सका कप्तान डेभिड वार्नर (अस्ट्रेलिया) थिए । 

नवौँ संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि कोहली नै थिए । उनले प्रतियोगिता अवधिभरमा कुल नौ सय ७३ रन बनाएका थिए । सनराइजर्स हैदराबादका भुवनेश्वर कुमार सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल २३ विकेट लिएका थिए ।

  • १०औँ संस्करण

आईपीएलको १०औँ संस्करण सन् २०१७ मा आयोजना भएको थियो । १०औँ संस्करणमा पनि आठ टोलीले नै सहभागिता जनाएका थिए । प्रतियोगिता अवधिभरमा कुन ६० खेल खेलाइएको थियो । १०औँ संस्करणको उपाधि भने मुम्बई इन्डियन्सले जितेको थियो । 

pjimage-2020-05-21t221828-1590079713

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बई इन्डियन्सले राइजिङ पुणे सुपरजाइन्टमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । त्यतिबेला पनि मुम्बईका कप्तान रोहित शर्मा नै थिए । 

प्रतियोगिताको १०औँ संस्करणमा राइजिङ पुणे सुपरजाइन्टका बेन स्टोक्स (इङ्ल्यान्ड) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उक्त संस्करणमा सनराइजर्स हैदराबादका डेभिड वार्नर (अस्ट्रेलिया) सर्वाधिक रन बनाउने खेलाडी बने । उनले कुल ६ सय ४१ रन बनाए । सनराइजर्स हैदराबाटका भुवनेश्वर कुमार सर्वाधिक विकेट लिने बलर बने । उनले कुल २६ विकेट लिएका थिए ।

  • ११औँ संस्करण

आईपीएलको ११औँ संस्करण सन् २०१८ मा आयोजना भएको थियो । ११औँ संस्करणमा पनि आठ टोलीले सहभागिता जनाएका थिए र कुल ६० खेल खेलाइएको थियो । उक्त संस्करणको उपाधि भने चेन्नई सुपर किङ्सले जितेको थियो । 

csk

मुम्बईस्थित वानखेड स्टेडियममा खेलाइएको फाइनल खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । चेन्नई सुपर किङ्सको कप्तानको भूमिकामा महेन्द्रसिंह धोनी रहेका थिए । 

११औँ संस्करणमा कोलकाता नाइट राइडर्सका सुनिल नारिन (वेस्ट इन्डिज) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । सनराइजर्स हैदराबादका केन विलियम्सन (न्युजिल्यान्ड) सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बने । उनले कुल सात सय ३५ रन बनाए । किङ्स–११ पञ्जाबका एन्ड्र्यु टाई (अस्ट्रेलिया) सर्वाधिक विकेट लिने बलर बने । उनले कुल २४ विकेट लिएका थिए । 

  • १२औँ संस्करण

आईपीएलको १२औँ संस्करण सन् २०१९ मा आयोजना भएको थियो । १२औँ संस्करणमा पनि आठवटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा कुल ६० खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि भने रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले जितेको थियो । 

209

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइएको फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । यसअघि सन् २०१७ मा पनि मुम्बईले फाइनलमा राइजिङ पुणे सुपरजाइन्टलाई एक रनले नै हराएको थियो ।

आईपीएलको इतिहासमा मुम्बई इन्डियन्ससँग जोडिएको यो रमाइलो संयोग हो । १२औँ संस्करणमा कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल (वेस्ट इन्डिज) सर्वोत्कृष्ट खेलाडी घोषित भए । सनराइजर्स हैदराबादका डेभिड वार्नर (अस्ट्रेलिया) ले सर्वाधिक रन बनाए । उनले कुल ६ सय ९२ रन बनाएका थिए । चेन्नई सुपर किङ्सका इमरान ताहिर (दक्षिण अफ्रिका) सर्वाधिक विकेट लिने बलर बने । उनले प्रतियोगितामा कुल २६ विकेट लिएका थिए । 

  • १३औँ संस्करण

आईपीएलको १३औँ संस्करण सन् २०२० मा आयोजना भएको थियो । १३औँ संस्करणका खेलहरु संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइएको थियो । प्रतियोगितामा आठवटा टोलीले भाग लिएका थिए र कुल ६० खेल खेलाइएको थियो ।

mumbai

प्रतियोगिताको उपाधि फेरि पनि रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले नै जितेको थियो । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाइएको फाइनल खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

प्रतियोगितामा राजस्थान रोयल्सका जोफ्रा आर्चर (इङ्ल्यान्ड) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । १३औँ संस्करणमा किङ्स–११ पञ्जाबका केएल राहुलले सर्वाधिक रन बनाएका थिए । उनले कुल ६ सय ७० रन बनाएका थिए । दिल्ली क्यापिटल्सका कागिसो राबडा (दक्षिण अफ्रिका) सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल ३० विकेट लिएका थिए ।

  • १४औँ संस्करण

आईपीएलको १४औँ संस्करण सन् २०२१ मा आयोजना भएको थियो । यो संस्करण पनि संयुक्त अरब इमिरेट्स (यूएई) मै खेलाइएको थियो । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए भने कुल ६० खेल खेलाइएको थियो ।

328778.6

प्रतियोगिताको उपाधि भने महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको थियो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइएको फाइनल खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । 

आईपीएलको उक्त संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । चेन्नई सुपर किङ्सका रुतुराज गायकवाडले सबैभन्दा बढी रन बनाएका थिए । उनले प्रतियोगितामा कुल ६ सय ३५ रन बनाएका थिए । रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल ३२ विकेट लिएका थिए । 

  • १५औँ संस्करण

आईपीएलको १५औँ संस्करण सन् २०२२ मा आयोजना भएको थियो । १५औँ संस्करणको सबै खेल भारतमै खेलाइएको थियो । प्रतियोगितामा सहभागी टोलीको सँख्या बढाएर आठबाट १० पुर्‍याइएको थियो । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइएको थियो । 

gujrat

प्रतियोगिताको उपाधि भने गुजरात टाइटन्सले जितेको थियो । गुजरातले आईपीएलको उपाधि चुमेको यो पहिलो पटक थियो । त्यतिबेला गुजरात टाइटन्सको कप्तान हार्दिक पाण्ड्या रहेका थिए । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइएको फाइनल खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।

प्रतियोगिताको १५औँ संस्करणमा राजस्थान रोयल्सका जस बट्लर (इङ्ल्यान्ड) सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिता अवधिभरमा सर्वाधिक रन पनि उनले नै बनाएका थिए । उनले कुल आठ सय ६३ रन बनाएका थिए । राजस्थान रोयल्सकै युजवेन्दर चाहल सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल २७ विकेट लिएका थिए । 

  • १६औँ संस्करण

आईपीएलको १६औँ संस्करण सन् २०२३ मा आयोजना भएको थियो । प्रतियोगिताका सबै खेल भारतमै खेलाइएको थियो । प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइएको थियो । 

2023

प्रतियोगिताको उपाधि भने मेहन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको थियो । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइएको फाइनल खेलमा चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

प्रतियोगिताको १६औँ संस्करणमा गुजरात टाइटन्सका सुभमन गिल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका थिए । उनले कुल आठ सय ९० रन बनाएका थिए । गुजरात टाइटन्सकै मोहम्मद सामी सर्वाधिक विकेट लिने बलर बनेका थिए । उनले कुल २८ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप